खुला २५ मा अधिकांश पुरानै अनुहार आउने पक्का, देउवाको पक्षमा बहुमत हुने संकेत

Posted on: April 30, 2016 | views: 188

काठमाडौं,चैत १ । नेपाली कांग्रेसको खुला २५ तर्फको केन्द्रीय सदस्यमा देउवा पक्षको पकड हुने संकेत देखिएको छ । मत गणना अनुसार अधिकांश पुरानै अनुहार दोहोरिने पक्का जस्तै देखिएसँगै देउवापक्षको बर्चश्व हुने संकेत देखिएको हो । ५९ जना केन्द्रीय सदस्यहरूमा आधाभन्दा बढी देउवा पक्षका उम्मेदवारलाई जिताएर सभापतिको हात बलियो बनाउने अवस्था देखिएको छ । करिव ४ सय मत गणना बाँकी रहँदा खुला २५ मा आउन सक्ने अनुहार पुरानै देखिएका हुन् । जो यसअघिको केन्द्रीय समितिमा पनि रहेर काम गरिसकेका छन् । नयाँ अनुहार थोरै मात्र देखिएका छन् । 

खुलातर्फको २५ जनाको कोटामा देउवाको टिमका १४ जना र पौडेलको टिमका ११ जना निर्वाचित हुने पक्का भएको छ । देउवाको टिमका विमलेन्द्र निधि, खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, केबी गुरुङ, पूर्णबहादुर खड्का, प्रदीप गिरि, बालकृष्ण खाँण, डा. प्रकाशशरण महत, रमेश लेखक, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की र शंकर भण्डारी निर्वाचित हुने भएका छन् । यसैगरी, पौडेल पक्षका प्रकाशमान सिंह, डा. रामशरण महत, बलबहादुर केसी, डा.नारायण खड्का, सुजाता कोइराला, डा.शेखर कोइराला, महेश आचार्य, प्रदीप पौडेल, बद्री पाण्डे, धनराज गुरुङ, मिनेन्द्र रिजाल निर्वाचित हुने भएका छन् ।
यसपटक खुलातर्फ प्रायः पुरानै अनुहार निर्वाचित हुने भएका छन् । २५ मध्ये विश्वप्रकाश शर्मा, रमेश लेखक र प्रदीप पौडेल मात्रै पहिलोपटक केन्द्रीय सदस्य निर्वाचित हुन लागेका हुन् । यसमध्ये पौडेल मनोनीत केन्द्रीय सदस्य थिए । बद्री पाण्डे र धनराज गुरुङ यसअघि अञ्चलको कोटाबाट केन्द्रीय सदस्य बनेका थिए । प्रकाशमान सिंह यसअघि महामन्त्री थिए भने विमलेन्द्र निधि महामन्त्री पदमा पराजित भएका कारण केन्द्रीय सदस्यमा मनोनीत गरिएका थिए । 

१२औं महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएकामध्ये यसपटक मनमोहन भट्टराईबाहेक सबैले चुनाव जितेका छन् । २५ जनामध्ये दीपकुमार उपाध्याय भारतका लागि राजदूत भएका कारण उम्मेदवार बनेनन् । रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सभापति पदमा चुनाव लडे भने अर्जुननरसिंह केसी र गगन थापा महामन्त्री पदमा चुनाव लडेका थिए ।
को को जिते ? 
नेपाली कांग्रेसको १३औं महाधिवेसनमा केन्द्रीय सदस्यमध्ये महिला आरक्षणतर्फ डा.डिला संग्रौला, पुष्पा भुषाल, कमला पन्त, ईश्वरी न्यौपाने, सरिता प्रसाईं र अम्बिका बस्नेत विजयी भएका छन् । आदिवासी जनजाति आरक्षणतर्फको पुरूष कोटामा चीनकाजी श्रेष्ठ, बहादुरसिंह लामा, कल्याण गुरुङ तथा महिलातर्फ सीता गुरुङ र रत्ना शेरचन विजयी भए । 

दलित आरक्षणतर्फको सिटमा पुरूषतर्फ जीवन परियार, मानबहादुर विश्वकर्मा र मीन विश्वकर्मा तथा महिलातर्फ सुजाता परियार र लक्ष्मी परियार विजयी भए । मधेसी पुरूषतर्फ अजय चौरसिया, महेन्द्र यादव र रामकृष्ण यादव तथा मधेसी महिलातर्फ किरण यादव र पार्वता डिसी चौधरी विजयी भए । मुस्लिमतर्फको एक सिटमा फरमुल्ला मन्सुर विजयी भएका छन् ।