राज्य पुर्नसंरचनाको विवाद: नुवाकोट प्रवेशको सबै नाका बन्द

Posted on: January 27, 2017 | views: 316

जगदिश खनाल -१४ माघ, नुवाकोट ।

राज्य पुर्नसंरचना अन्तरगत जिल्ला प्राविधिक सहयोग समिति नुवाकोट मार्फत अधिकतम सर्वसम्मत गरी प्रस्ताव गरेको बेलकोटगढी नगरपालिका कार्यान्वयनको माग गर्दै स्थानीयवासीले नुवाकोट प्रवेशको दुई मुख्य नाका देवीघाट–गल्छी सडक खण्ड र पासाङ ल्यामु मार्ग अबरोध पु¥याइहेका छन् ।

स्थानीय नागरिकहरुबाट संकलन गरिएको सुझाब, जिल्लामा रहेका राजनीतिक दल लगायत सरोकारवालाबाट सर्वसम्मत प्रस्ताव गरिएको बेलकोटगढी नगरपालिकालाई राज्य पुर्नसंरचना अयोगले सरकारलाई प्रतिवेदन बुझाउने क्रममा परिवर्तन गरेको बिरोधमा आजदेखि आन्दोलनको थप कार्यक्रम मार्फत पासाङ ल्यामु मार्ग र देवीघाट–गल्छी सडक खण्ड बन्द–बन्द बनाइएको छ ।

बन्द रहेको सडक खुलाउन ठूलो सङ्ख्यामा प्रहरी टोली परिचालन भएपनि सयौको सङ्ख्यामा रहेका स्थानीयवासीले विभिन्न स्थानमा सडक अबरोध बनाइरहेका छन् । लिखु गाँउपालिका बचाउ सङ्घर्ष समितिले पछिले १३दिनदेखि छहरे–टोखा सडक खण्ड पनि अबरोध बनाइरहेकाले नुवाकोटबाट बाहिर जानेगाडीहरु सबै बन्द भएको छ ।

नुवाकोट र रसुवाबाट बाहिरी जिल्लासंग जोड्ने तीनवटै नाका अबरुद्ध हुदाँ यात्रुहरु समस्यामा परेका छन् । बेलकोटगढी नगरपालिका पुर्नबहालीको मागको लागी दबाब दिन दुईपिपलको कोल्पुखोला पुल, जिलिङको देवीघाट पुल र बेलकोटको तादीखोला पुलमा स्वागत ब्यानर राखी नगरपालिका भित्रका चार किल्लामा अनिश्चित समयको लागी पासाङ ल्यामु मार्ग र देवीघाट–गल्छी सडक खण्ड बन्द बनाइएको छ ।

हिजो बिहान आयोजित स्वागत सभापछि बसेको सङ्घर्ष समितिको बैठकले शान्तिपूर्ण आन्दोलन मार्फत मागको सम्बोधन नहुने भएकाले पासाङ ल्यामु मार्ग र देवीघाट–गल्छी सडक खण्ड ठप्प बनाउने निर्णय अनुसार बाटो अबरुद्ध बनाइएको संमितिका संयोजक गोकुलप्रसाद दाहालले बताउनुभएको छ ।

समितिको बैठकले शान्तिपूर्ण आन्दोलन गर्दै आएका लिखु गाँउपालिका पुर्नस्थापनाको माग गर्नेहरुलाई प्रहरीले दमन गरी समाधानको वेवास्था गर्दै आएकाले बेलकोटगढीले त्यो भन्दा शसक्त आन्दोलन गर्न पहिलो चरणमा नुवाकोट प्रवेशको दुई मुख्य नाका यातायात सञ्चालन पूर्ण रुपमा बन्द गरेको छ ।

अन्तराष्ट्रिय मार्गको रुपमा जोडिएको देवीघाट–गल्छी सडक खण्ड बन्द भएपछि रसुवागढी नाकासंगको यातायात सञ्चालन पूर्ण रुपमा बन्द भएको छ । चिनिया पक्षले नाका बन्द गरेकाले अन्तराष्ट्रिय मार्गको प्रभाव भने कम परेको छ ।