‘भारतीय निर्देशनमा संविधान संशोधन प्रस्ताव दर्ता’

Posted on: November 30, 2016 | views: 474

काठमाडौं, मंसिर १५ । नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा मसालले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक भारतीय इशारामा भएको बताएका छन् ।  नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे, जनेमार्चाको अध्यक्ष चित्रबहादुर केसी र मसालका महामन्त्री मोहनविक्रम सिंहले छुट्छुटटै कार्यक्रममा यस्तो आरोप लगाएका हुन् । 

नेमकिपाको बुधबार बसेको बैठकले भारतीय शासन वर्गको निर्देशनमा संशोधन आएको दाबी गरेको छ । ‘संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्नु पर्ने बेला भारतीय शासक वर्गको निर्देशनमा संविधान संशोधन प्रस्ताव दर्ता गर्नुले देशमा निर्वाचन हुन नदिने षड्यन्त्र हो’, निर्णयमा भनिएको छ ।

नेमकिपाले संविधान संशोधन प्रस्तावको विपक्षमा उभिन सबै दलहरुलाई आहृवान समेत गरेको छ ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले सरकारले संसदमा दर्ता गरेको संविधान संसोधनकोे विधेयक भारतीय विस्तारबादीको इसारमा दर्ता भएको बताएका छन् ।

संवाद क्लव नेपालले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै केसीले तराईलाई पहाडबाट अलग गर्ने र अन्तत सिक्मिकरण गर्ने उद्देश्य अनुरुप केपी ओली सरकार विस्तापित गरेर भारतले भनेको एजेण्डा लागू गर्ने सर्तमा देउवा र प्रचण्डको समिकरण भारतले नै मिलाएको दावी गरे । वहुराष्ट्रबादको नाममा देशलाई टुक्राएर सिकिमीकरण गर्नका लागि भारतले नयाँ लेण्डुव दोर्जेहरु खोजिरहेको भन्दै उनले संघियता नै देशको लागि क्यानसर भएको आरोप लगाए ।


मधेशी दलहरु नेपाललाई सिक्किमिकरण गर्न भारतको खेताला मात्रै भएको बताउँदै केसीले सरकारले दर्ता गराएको संविधान संसोधनको प्रस्ताव पारीत हुन नदिन सम्पूर्ण राष्ट्रबादी शक्तिहरु एकजुट हुनुपर्ने बताएका छन्् ।

नेकपा एमालेले पनि महाकाली सन्धीमा गरेको जस्तो गल्ती नदोहोर्याउने विश्वास व्यक्त गर्दै केसीले राष्ट्रिय जनमोर्चाले पनि संघियताको विपक्षमा संसोधन प्रस्ताव दर्ता गर्ने जानकारी दिए । कुनै पनि हालतमा सरकारले ल्याएको प्रस्ताव पारीत हुन दिन नहुने भन्दै उनले आमालाई पोइल पठाएर जारी लिन तयार हुने सांसदहरुले मात्रै सरकारले ल्याएको संसोधनको प्रस्तावको पक्षमा मतदान गर्ने बताए ।


त्यस्तै राष्ट्रिय जनमोर्चाको मातृपार्टी नेकपा मसालले संविधान संशोधन विधेयकलाई असफल पार्न आन्दोलनको आह्वान गरेको छ । मसालका महामन्त्री तथा प्रम प्रचण्डका राजनीतिक गुरु मोहन विक्रम सिंहले एक विज्ञप्ति जारी गर्दै देशव्यापी आन्दोलनको आह्वान गरेका हुन् ।


सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान संशोधन प्रस्तावलाई असफल पार्नु वा पराजित गर्नु राष्ट्रिय आवश्यकता भएको छ । त्यसका लागि हामीले राष्ट्रिय रुपमा नै व्यापक आन्दोलन उठाउनुपर्ने आवश्यकतामा जोड दिन्छौँ र त्यो संशोधन प्रस्तावलाई असफल पार्न संसदभित्र र बाहिर पनि व्यापक ऐक्यवद्धताको आवश्यकतामा जोड दिन्छौँ ।’


सिंहले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘अहिले जुन प्रकारले संविधानमा संशोधन गर्न थालिएको छ र त्यो क्रममा ५ नं. प्रदेशलाई टुक्राएर पहाडी भूभागहरुबाट अलग गरेर तराईका जिल्लाहरुको बेग्लै प्रदेश बनाउने प्रयत्न गरिादैछ, त्यो गम्भीर प्रकारको राष्ट्रघाती कार्य हो ।’