सेना दिवसमा टुँडिखेलमा विशेष समारोह

Posted on: May 02, 2016 | views: 230

२४ फागुन, काठमाडौं ।
विश्वमा नै बहादुरी र विरताको ईतिहाँस बनेको नेपाली सेनाको आज आफ्नो स्थापना दिवस । नेपालको प्रमुख सुरक्षा अङ्गको रुपमा रहेको नेपाली सेनाले आज सेना दिवस मनाउँदैछ ।

काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विहान ११ बजे नेपाली सेनाले विशेष समारोहको आयोजना गरेको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डाले आयोजना गरेको कार्यक्रममा नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी सहित, उपराष्टपती, प्रधानमन्त्री, प्रधानसेनापती सहित सरकारका मुख्य अंगका प्रमूख सहित विशिष्ट व्यक्ति उपस्थित हुने भएका छन् ।

शिवरात्रीको दिनमा स्थापना दिवस मनाउँदै आएको सेनाले आज सैनिक मञ्चमा सेनाको विशेष प्रदर्शनी तथा परेड, तोप, बढाइँ, कवाज, आतसबाजी लगायत कार्यक्रम गर्नेछ ।

काठमाडौं सहित नेपाली सेनाले देशभरका पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा समेत सेना दिवस मनाउँदैछ ।

वर्तमान नेपाली सेनाको साङ्गठनिक स्वरूपको सुरुवात १८१९ सालदेखि भएको र अहिले नेपाली सेनाको जनशक्ति करिब ९५ हजार छ । उक्त सुरक्षा सङ्गठनको प्रमुखमा अहिले प्रधानसेनापति राजेन्द्र क्षत्री रहेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यमा नेपाली सेनाको सहभागिता सन् १९५८ बाट सुरु भएकोमा हालसम्म एक लाख १० हजार ७७६ जनशक्तिबाट योगदान भइसकेको छ । विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्ति कायम गर्ने क्रममा नेपाली सेनाका ६३ जनाले वीरगति पाउनुका साथै ५९ जना गम्भीर घाइते भएका छन् ।

नेपाली सेनाका चार हजार २०० फौज विश्वभरका १५ वटा संयुक्त राष्ट्रसङ्घीय मिसनमा शान्ति स्थापनार्थ हाल परिचालित छन् । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकहरूको कोटीमा नेपाल अग्रणी स्थानमा रहेको छ ।

पछिल्लो समय छिमेकी राष्ट्रका सेनाको साथसाथै अमेरिका, बेलायत लगायत मुलुकका लागिसमेत पेसागत क्षमता र दक्षता अभिवृद्धिको केन्द्रसमेत नेपाल बन्दै गएको छ ।

राष्ट्रिय सुरक्षा, महत्वपूर्ण संरचना र भौतिक पूर्वाधार र प्राकृतिक सम्पदाको सुरक्षा, विकास निर्माणको जिम्मेवारीसँगै नागरिकसँगको सम्बन्धलाई बलियो बनाउने तथा मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात गर्ने कार्यलाई नेपाली सेनाले प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।
राससको सहयोगमा