आफूलाई अटेर गरेको भन्दै प्रचण्डले गोरखाको सिडियो हटाए 

Posted on: May 02, 2016 | views: 502

१९ फागुन, काठमाडौ ।  एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएको ४ दिनमै गोरखाका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको सरुवा भएको छ । 
फागुन १५ गते गोरखा आएका बेला प्रशासकहरुले बेवास्ता गरेको भन्दै प्रचण्डले असन्तुष्टि जनाउनुभएको थियो । सार्वजनिक कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्डले चेतावनी दिएको ४ दिनमै प्रमुख जिल्ला अधिकारी गौतमको सरुवा भएको हो । कार्यक्रममा प्रचण्डले आफूले गृहमन्त्रीलाई समेत टेलिफोन गरेर असन्तुष्टि ब्यक्त गरेको बताउनुभएको थियो ।  
‘कांग्रेसले खटाएका, एमालेले खटाएका हाकिमहरु हामीलाई स्वागत गर्न धेरै परपर सम्म पुग्ने गरेका थिए’ १५ गते गोरखामा भएको कार्यकर्ता प्रशिक्षणमा बोल्दै प्रचण्डले भन्नुभएको थियो ‘अहिले हाम्रै मन्त्रालयले खटाएका हाकिमहरुबाट के आयो के आयो भन्या जस्तो गरि जुन ब्यवहार प्रदर्शन भएको छ, त्यसबाट हामी आश्चर्यमा परेका छौं ।’  
कार्यक्रममा प्रचण्डले राष्ट्रिय रुपमा तेस्रो पार्टी भएपनि गोरखाका तीनवटै निर्वाचन क्षेत्र जितेको प्रसङ निकाल्दै भन्नुभएको थियो । ‘गोरखामा त हामी पहिलो पार्टी हो, अनि पहिलो पार्टीका नेता सँगको ब्यवहार कस्तो हुने भन्ने सवाल निकै गम्भीर सवाल हो, यसको परिणाम गम्भीर नै हुन्छ ।” 
प्रचण्ड फागुन १४ गते बेलुकी गोरखा आउनुभएको थियो ।  १५ गते एकिकृत माओवादीका अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रम थियो । तर बस सञ्चालनका विषयमा विवाद भएपछि गोरखा यातायात ब्यवसायी समितिले सडकमा बस रोकेर विरोध जनाएको थियो । बस तोडफोडको विषयमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेका ब्यवसायीलाई रिहाई गर्न बस बन्द गरेर विरोध जनाएपनि सडक भने एकतर्फी रुपमा सञ्चालनमा थियो र प्रचण्डको आवागमनमा कुनै अवरोध थिएन । 
तर त्यो घटनालाई लिएर पनि प्रचण्डले असन्तुष्टि जनाउनुभएको थियो ।  सम्बोधनका क्रममा प्रचण्डले आफू पूर्व प्रधानमन्त्री, सरकारमा सहभागी दलको अध्यक्ष र राजनीतिक संयन्त्रको संयोजक समेत रहेको भन्दै भन्नुभएको थियो ‘हाम्रो गृह मन्त्रालयबाट खटाईएका मान्छेको जे ब्यवहार देखियो, लाजमर्दो देखियो ।’ 
प्रधानमन्त्रीहरु जिल्ला आउँदा भने तनहुँबाट गोरखा प्रवेशको सिमानासम्म प्रमुख जिल्ला अधिकारी सहित कार्यालय प्रमुखहरु पुग्ने गरेका थिए । ‘उहाँ पूर्व प्रधानमन्त्री भैसकेकाले रिसिभ गर्न जानै पर्ने थिएन’ नाम नबताउने गोरखा घर भएका एक पूर्व प्रशासकले भने ‘प्रचण्ड जस्तो हाइट भएका नेताले रिसिभ गर्न आएनन्, भाउ दिएनन् भनेर पूर्वाग्रह राख्नु नपर्ने हो ।’


सरकारले तीनवटा निर्वाचन क्षेत्र भएका जिल्लामा सहसचिव स्तरका प्रमुख जिल्ला अधिकारी पठाउने निर्णय गरे अनुसार प्रमुख जिल्ला अधिकारी गौतम गोरखा आउनुभएको थियो । माघ ६ गते कार्यभार सम्हालेका गौतमलाई सप्तरीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको पत्र पठाइसकिको छ । गोरखामा भने सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायण भट्ट आउनुहुने भएको छ । 
गृहले पठाएको पत्रमा अचानक सरुवा गर्नुको कारण नखुलाएपनि प्रचण्डको निर्देशनमा सरुवा भएको गृह मन्त्रालय स्रोतले जनाएको छ । प्रमुख जिल्ला अधिकारी गौतमले भने सरुवा बारे आफ्नो सरुवाप्रति कुनै प्रतिक्रिया नरहेको जनाउनुभएको छ । सरकारी कर्मचारीको सरुवा बढुवा हुनु स्वाभाविक भएको उहाँले बताउनुभयो । 
गोरखा भ्रमणका क्रममा प्रचण्डले प्रमुख जिल्ला अधिकारी सहित सरकारी कार्यालयका प्रमुखहरुसँग भेटघाट गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी गौतम सहित सरकारी कार्यालयका प्रमुखहरुले प्रचण्ड बसेकै होटलमा पुगेर पनि भेटघाट गरेका थिए ।