नुवाकोटलाई अब तीन नगरपालिका र ६ गाँउपालिका बनाउने तयारी

Posted on: August 05, 2016 | views: 17902

२१ साउन, नुवाकोट । राज्यको पुनःसंरचनामा नुवाकोटलाई नौ स्थानीयतह भित्र समेट्न प्रस्तावित खाका तयार गरिएको छ ।
    “स्थानीय निकायको पुनःसंरचना प्राविधिक सहयोग समिति” नुवाकोटले तयार गरेको विभिन्न तीन वटा प्रस्तावमा नुवाकोटलाई बढीमा तीन नगरपालिका र ६ गाँउपालिका निर्माण गर्ने प्रस्ताव गरिएको छ । समितिले तयार गरेको विभिन्न तीन वटा प्रतावहरु मध्ये एकमा गाविसहरुको मात्र विभाजन गरि एक नगरपालिका र ८ गाँउपालिकाको प्रस्ताव गरिएको छ भने बाँकी दुई वटामा प्रस्तावमा अहिले कायम रहेको गाविसको वडाहरु समेत विभाजन गर्दै तीन नगरपालिका र ६ गाँउपालिका बनाउने सकिने प्रस्ताव गरिएको छ ।
प्रस्तावित नुवाकोटको गाँउ तथा नागरपालिकाको नामहरुमा दुप्चेश्वर गाँउपालिका, लिखु अथवा चिसापानी गाँउपालिका, तादी गाँउपालिका, कालिका अथवा सूर्यगढी गाँउपालिका, ककनी गाउपालिका अथवा नगरपालिका, बेलकोट वा झिल्टुङ्ग गाँउपालिका अथवा नगरपालिका त्रिशूली नगरपालिका, भैरमकोट अथवा मेघाङ गाँउपालिका र तारकेश्वर गाउपालिका गरी नौ  स्थानीयतहका  नामाङ्कन र सिमाङ्कन निर्धारण गरिएको छ ।
पुनःसंरचना प्रस्तावित तीन वटा प्रस्तावहरुलाई जिल्लाका सरोकारवालाहरु समक्ष प्रस्तुत गर्दै प्राविधिक सहयोग समितिका संयोजक समेत रहनुभएका स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले श्रोत र सामथ्र्यको आधरमा नुवाकोटलाई स्थानीयतहको पुनःसंरचना गर्न गठित आयोगले दिएको मापदण्डको आधारमा विभिन्न सूचकहरुको आधारमा नौ स्थानीयतह रहेको प्रस्तावित खाका तयार बनाएको बताउनुभएको छ ।
उहाँले आयोगले तोकेको मापदण्ड र सूचकहरुलाई समेटेर भूगोल, जनसङ्ख्या विकासको पूर्वाधार, सडकको पहुँच, भाषा–धर्म–सस्कृतिलाई समेत संरक्षण गर्दै प्रस्तावको रुपमा नुवाकोटको स्थानीय निकायको पुनःसंरचना गर्न प्रयास गरेको बताउनुभएको छ ।  
प्राविधिक सहयोग समितिले तयार गरेको प्रस्तावहरुमा नुवाकोटका नौ स्थनीय तहहरुमा पहिलो स्थानीयतहमा दुप्चेश्वर गाँउपालिका अन्तरगत घ्याङफेदी, राउतवेशी, समुन्द्रटार, शिखरबेशी, बालकुमारी, बेतिनी र गाँउखर्कलाई समावेश गरिएको छ । सात गाविस समावेश गरेको दुप्चेश्वर गाँउपालिकामा सुन्दारदेवीलाई पनि त्यहाको जनताको माग अथवा आवश्यकताको आधारमा समावेश गर्न सकिने उल्लेख गरिएको छ ।
यस्तै, दोश्रो स्थानीयतहमा लिखु अथवा चिसापानी गाँउपालिकाको रुपमा लिखु, तलाखु, छाप, महाकाली, सिक्रे, समुन्द्रादेवी, भदु्रटार, सुनखानी र थानापती गरी ९ गाविसलाई समेट्ने प्रस्ताव गरिएको छ । भदु्रटारलाई आवश्यक नठहरिएमा अथवा त्याहाँको नागरिकहरुलाई अन्यत्र पायक परेमा अर्कै निर्णय गर्न सक्ने उल्लेख गरिएको छ । यस्तै, तेश्रो स्थानीयतहमा तादी गाँउ पालिका अन्तरगत सात गाविसहरु खरानीटार, कविलास, चौघडा, रालुकादेवी, थप्रेक, सुन्दरादेवी र पञ्चकन्यालाई समावेश गर्न सक्ने प्रस्ताव गरिएको छ । तादी गाँउ पालिकामा तानसिंह र सूर्यमतीको केही भूभागलाई समावेश गर्न सक्ने तथा खरानीटारलाई  हटाउन पनि सकिने प्रस्ताव उल्लेख गरिएको छ ।
यस्तै चौथोमा स्थानीयतहमा कालिका अथवा सूर्यगढी गाँउपालिका अन्तरगत विभिन्न ६ गाविसहरु लच्याङ, उर्लेनी, हल्देकालिका, गणेशस्थान बागेश्वरी र नर्जामण्डप गाविसहरु समावेश गर्न सकिने उल्लेख गरिएको छ । कालिका अथवा सूर्यगढी गाँउपालिकामा पायक पर्ने गेर्खु र रालुकादेवीको केही भूभागलाई पनि समावशे गर्न सकिने उल्लेख गरिएको छ ।
यस्तै, पाचौ स्थानीयतहमा ककनी गाउपालिका अथवा नगरपालिकाको रुपमा विभिन्न ६ गाविसहरु ककनी, ओखरपौवा, थानसिंह, सूर्यमती, चतुराले र चाउथे गाविसलाई समावेश गर्ने प्रस्ताव गरिएको छ । त्यहाँको नागरिकहरुले चाहेमा तथा पायक पर्ने देखिएमा ककनी गाँउ अथवा नगरपालिकामा मदानपुर र बेलकोटको केही भूभागलाई समावेश गर्न सकिने प्राविधिक सहयोग समितिले तयार गरेको नुवाकोटको प्रस्तावित स्थानीयतहको पुनःसंरचनामा उल्लेख गरिएको छ ।
यस्तै, छैटौ स्थानीयतहमा अहिले कायम रहेको विदुर नगरपालिकालाई अब त्रिशूली नगरपालिकाको नामाकरण गरी अहिले कायम रहेको नगरपालिका सहित गेर्खु, खानीगाँउ र चारघरे गाविसलाई समावेश गर्ने प्रस्ताव गरिएको छ । थप तीन गाविस समावेश गर्दा जनसङ्ख्या अझै अपुग हुने भएकाले कल्याणपुर, तुप्चे, खङ्गभञ्याङ्ग गाविसका केही वडालाई पायक पर्ने र त्याहाँको स्थानीयवासीको चाहना अनुसार समावेश गर्न सकिने बताइएको छ ।
यस्तै, सातौ स्थानीयतहमा गाँउपालिका अन्तरगत तारकेश्वर गाउपालिकाको रुपमा तारुका, गोस्र्याङ, दाङसिंह, सामरी, कल्याणपुर, खङ्गभञ्याङ र बुधसिंह गाविसलाई समावेश गरी सात गाविस मिलाएर गाँउ पालिका निर्माण गर्ने तयार गरिएको छ । आवश्यक ठहरिएमा र नागरिकहरुको चाहना भएमा चारघरेको केही भागलाई पनि प्रस्तावित तारकेश्वर गाउ पालिकामा समावेश गर्न सकिने उल्लेख गरिएको छ ।
यस्तै, आठौ स्थानीयतहमा स्थानीह तह अन्तरगत विभिन्न ६ गाविसहरु समावेश गरी बेलकोट वा झिल्टुङ्ग गाँउपालिका अथवा नगरपालिका बनाउने प्रस्ताव गरिएको छ । बेलकोट वा झिल्टुङ्ग गाँउपालिका अथवा नगरपालिकामा बेलकोट, मदानपुर, कुमरी, दुईपिपल, जिलिङ र रातमाटेलाई समावेश गर्ने प्रस्ताव गरिएको छ ।
आवश्यक परेमा अथाव पायक पर्ने देखिएमा चाउथे गाविसको केही वडाहरुलाइ बेलकोट वा झिल्टुङ्ग गाँउपालिका अथवा नगरपालिका समावेश गर्ने उल्लेख गरिएको छ ।  यस्तै, अन्तिम अर्थात नवौ स्थानीयतहको रुपमा भैरमकोट अथवा मेघाङ गाँउपालिकाको रुपमा सबैभन्दा धेरै गाविस १० वटालाई समावेश गरिएको छ । प्रस्तावित भैरमकोट अथवा मेघाङ गाँउपालिकामा तुप्चे, मनकामना, फिकुरी, काउले, साल्मे, भाल्चे, किम्ताङ, देउराली, बुङताङ र बसुन्चेत गाविसलाई समावेश गर्ने योजना बनाइएको छ । भूगोल र पूर्वाधार विकासको आधारमा पहुच पर्ने देखिएमा सामरी र कल्याणपुर गाविसको केही भूभागलाई समेत भैरमकोट अथवा मेघाङ गाँउपालिकामा समावेश गर्ने प्रस्ताव गरिएको छ ।
स्थानीय विकास अधिकारी संयोजक रहेको प्राविधिक सहयोग समितिले पेश गरेको नसङ्कनमा नुवाकोटका सरोकारवालाहरुले सकारात्मक भएपनि अझै छलफल गरी र जनताहरुको समेत राय लिएर निर्णय गर्नुपर्ने बताउनुभएको छ ।
प्रस्तावित स्थानीयतहको अहिलेको सङ्ख्या धोरै भएकाले बृद्धि गर्न आयोगम माग गदैै तोकिएको मादण्डको आधारमा रहेर निर्धारण गर्नुपर्ने काँग्रेस नुवाकोट सचिव सुरेन्द्रराज अधिकारीले बताउनुभएको छ । उहाँले प्रस्तावहरुलाई जिल्लामा रहेका सरोकारवालाहरुसंग छलफल गरेर अन्तिम टुङ्गो लगाउनुपर्ने बताउनुभएको छ ।
यस्तै, नेकपा एमाले नुवाकोट सदस्य बिन्दा ढुङ्गानाले प्रस्तावहरुमा केही संशोधनको आवश्यकता रहेकाले दल तथा नागरिकहरुबीचको छलफल र जनमतको आधारमा अन्तिम निर्णय गर्नुपर्ने बताउनुभएको छ ।  
नुवाकोटमा स्थानीय निकायको पुनःसंरचनाको क्रममा प्रस्ताव गरिएको नौ स्थानीयतहरुमा गम्भीर भएर निर्णय गर्नुपर्ने नेकपा माओवादी केन्द्र नुवाकोट अध्यक्ष हिरानाथ खतिवडाले बताउनुभएको छ । उहाँले पानीढलो, भौगोलिक दुरी नमिलेकाले त्यसमा केही संशोधन गरी अन्तिम निर्णय गर्नुपर्ने बताउनुभएको छ ।  
नुवाकोट जिल्लाको प्रस्तावित स्थानीयतहको संरचनाको खाका निमार्ण गरेकाले यसमा सुधार तथा संशोधन गरी जनमतहरुको समेत कदर गर्दै अन्तिम निर्णय गर्नुपर्ने राप्रपा नेपालका उपाध्यक्ष विष्णुप्रसाद सापकोटा, राप्रपा नुवाकोट अध्यक्ष झनक प्याकुरेल लगायतका दलीय प्रतिनिधिहरुले सुझाव दिएका छन् । प्रस्तावित पुनःसंरचनामा जनसङ्ख्या, भुगोल, जातजाती,  भाषाधर्म, भौतिक पूवार्धार सरकारी सेवा प्रवाह गर्ने केन्द्र, शैक्षिक सस्था, नदी, जंगल लगायतका प्राकृतिक श्रोत र विकास निर्माणलाई समेत आधार बनाइएको छ ।
अब निर्माण गर्न लागिएको स्थानीयतहको एक कार्यालयमा ७२ जनाको हाराहारीमा कर्मचारीहरु कार्यरत रहने र राज्यले प्रवाह गर्ने सेवालाई स्थानीयतहसम्म पु¥याउने लक्ष्य रहेकाले सिमाङ्कनमा गम्भीर भएर निर्णय गर्नुपर्ने नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको सुझाव रहेको छ । उहाँले आयोगले दिएको मापदण्डको आधारमा प्रस्तावको रुपमा पेश गरेकाले अब नुवाकोटका सरोकारवालाहरुले नै अन्तिम निर्णय गर्नुपर्ने बताउनुभएको छ ।
प्रस्तावित तीन वटा प्रस्तावहरुमाथि अब एक सातासम्म राजनीतिक दल, सञ्चारमाध्यम, नागरिकहरुबीच छलफल तथा सुझाव पेश गर्ने अवशर दिएर मात्र अन्तिम निर्णय गर्ने तयारी गरिएको छ । स्थानीय निकायको पुनःसंरचना गर्न गठित आयोगले साउन महिनाभरको समयसीमा दिएकाले त्यसभित्र पूरा गरिसक्ने सरोकारवाहरुले प्रतिबद्धता जनाएका छन् ।