मोर्चाको मनस्थिति फेरियो,लिखित सहमति गर्ने प्रयास असफल

Posted on: August 02, 2016 | views: 586

१८ साउन,काठमाडौं ।

प्रधानमन्त्री निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस, माओवादी र मधेसी मोर्चाबीच लिखित सहमति गर्ने प्रयास असफल भएको छ ।  तीनै पक्षबीच आज दिनभरि संसद् भवनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच भएको छलफल मा कुने सहमति जुट्न सकेन् । त्रिपक्षीय कार्यदलले दुई दिनको प्रयासपछि सात बुँदे ड्राफ्ट तयार पारेको थियो । विहान तीन बुँदामा सहमति जनाएपनि लिखित सहमति भने भएन् । 

सहमतिको प्रयास असफल भएपछि बुधबार हुने प्रधानमन्त्री निर्वाचनमा मोर्चाले माओवादी अध्यक्ष प्रचण्डलाई मत दिने कि नदिने भन्ने अन्यौल बढेको छ । वैठकबाट बाहिरिदै गठबन्धनका संयोजक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भोलि विहानसम्म सहमतिमा हस्ताक्षर नभए आफूहरुले प्रचण्डको पक्षमा मतदान नगर्ने जानकारी दिनुभयो । प्रधानमन्त्रीका लागि प्रतिद्वन्द्वी नभएपछि काँग्रेस र माओवादीले आफूहरुका मागमा चासो नदिएको गठबन्धनको बुझाइ छ ।

प्रधानमन्त्रीका लागि भोलि हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गराउनु भएका प्रचण्डको लागि गठबन्धनका तर्फबाट उपेन्द्र यादव, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णले समर्थन गर्नु भएको थियो । प्रचण्डलाई समर्थन गर्नुअघि गठबन्धनका नेता लक्ष्मणलाल कर्णले त्रिपक्षीय कार्यदलले तयार पारेको तीनबुँदे सहमतिको खाकामा प्रारम्भिक सहमति भएको बताउनु भएको थियो ।