साउने संक्रान्ति पर्व सुरु

Posted on: July 16, 2016 | views: 310

१ साउन, काठमाडौं ।

देशभर शनिवार साउने संक्रान्ति पर्व मनाइएको छ ।

सूर्य दक्षिणायन भइ कर्कटरेखामाथि पुग्ने हुँदा आजको दिनलाई कर्कटसंक्रान्ति पनि भनिन्छ ।

आजका दिन असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानहरुले हिलोमैलो पखाली आफ्ना इष्टमित्रहरुका साथ रमाइलो गरी खानपिन गर्ने चलन छ ।

असारे हिलोबाट आउन सक्ने रोगबाट जोगिन आजै लुतो फाल्ने प्रचलन पनि रहेको छ ।

आशापुरी र डोलेश्वर महादेव मन्दिमा एकमहिने मेला सुरु

भक्तपुरको सिपाडोल स्थित आशापुरी महादेव मन्दिर र केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा देखि एक महिने मेला सुरु भएको छ ।

डोलेश्वर महादेव मन्दिर व्यबस्थापन समितिले मेलाको सुरुमा आज सूर्यविनायक ६ स्थित चन्द्रविनायक गणेश मन्दिरबाट डोलेश्वर महादेव मन्दिरसम्म कलश यात्रा गरेर मेलाको शुभारम्भ गरिएको समितिका उपाध्यक्ष सुर्यबहादुर खाईतुले जानकारी दिनुभयो ।

भदौको ६ गतेसम्म संचालन हुने मेला अबधिभरमा १ लाख ५० हजार भन्दा बढी भक्तजन आउने अनुमान गरिएको बताउनुभयो ।

त्यसैगरि आजैदेखि सिपाडोल स्थित प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि एक महिने मेला सुरु भएको छ ।

सुदूरपश्चिममा बत्ती बाल्ने महिना सुरु

सुदूरपश्चिममा आजदेखि साउनको महिना बत्ती बाल्ने महिनाका रुपमा मनाइँदैछ ।

धार्मिक महिनाका रुपमा समेत चिनिने यस महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा कालो महिना भनिन्छ ।

साउने सङ्क्रान्तिदेखि सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम, बाजुरा लगायत जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रुपमा लिई मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको छ ।