भारतीय कलाकारसँग प्रधानमन्त्रीको भेट । सुटिङ गर्न नेपाल आउनु ओलीको निम्तो

Posted on: May 02, 2016 | views: 250

फोटो साभार  :रासस अनलाईनखवर

१२ फागुन, काठमाडौं ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बलिउड कलाकारहरुसँग भेटवार्ता गरेका छन् ।  आफ्नो ६ दिने भारत भ्रमणको क्रममा मुम्बई पुगेका प्रधानमन्त्री ओलीले बुधबार बलिउडका कलाकारहरुसँग हाइटी मिटिङ्ग गरेका हुन् ।

नेपाली नागरिक एवम बलिउड नायिका मनिषा कोइरालाले त्यस्तो मिटिङ्ग मुम्बईको होटल हायात ग्राण्डमा राखेकी थिइन् । सो मिटिङ्गमा बलिउड नायिका तब्बु, जितेन्द्र, शक्ति कपुर, गोविन्दा, मनिषा, नेपाली कलाकार सुनिल थापा सहितका कलाकार सहभागी थिए ।

मिटिङ्गमा प्रधानमन्त्रीसँग बलिउड कलाकारहरुले फोटो सेसन गर्नुका साथै केही समय रमाइलो कुराकानी गरे । प्रधानमन्त्री ओलीको कुरालाई ध्यानपूर्वक सुनेका बलिउड कलाकारहरु प्रधानमन्त्रीको रमाइलो अभिव्यक्तिमा मज्जैले हाँसेका देखिन्थे ।

मिटिङ्ग स्थल पुग्दा प्रधानमन्त्रीले स्वागत गर्न बसेकी मनिषालाई ‘के छ मनिषाजी ?’ भनेर हालखबर सोधेका थिए । त्यसपछि ओलीले काठमाडौ कहिले आउनुहुन्छ भनेर सोधे । मनिषाले कांग्रेसको महाधिवेशनअघि नै काठमाडौ आउने जवाफ दिइन् ।

प्रधानमन्त्री ओलीले चलचित्र छायांकनका लागि र घुम्नका लागि सुन्दर तथा सुरक्षित ठाउँ रहेको भन्दै कलाकारलार्इ नेपाल अाउन अाग्रह गरे । उनले नेपालका खास-खास क्षेत्रलाई सरकारले चलचित्र नगरीको रुपमा विकास गर्ने पनि बताएका थिए ।

६ दिने राजकीय भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली बुधबार राति सवा ८ बजे काठमाडौं आइपुग्दैछन् । प्रधानमन्त्री ओली ४६ सदस्यीय टोलीको नेतृत्व गर्दै यही फागुन ७ गते नयाँदिल्ली प्रस्थान गरेका थिए ।