१२ फागुन, कैलाली ।
मधेशी मोर्चाको नाममा कैलालीमा प्रदर्शनकारीले नियन्त्रणमा लिएर हत्या गरिएका एसएसपी लक्ष्मण न्यौपाने सहित ६ सुरक्षाकर्मी मारिंदा हराएको हतियार फेला परेको छ ।
६ महिना अघि अर्थात ७२ साल भदौ ७ गते टीकापुरमा प्रहरीले सम्झाई बुझाई गर्दा गर्दै मधेशी मोर्चाको नाममा भएको हिंसात्मक प्रदर्शन गर्ने प्रदर्शनकारीले प्रहरीलाई नियन्त्रणमा लिएर विभत्स हत्या गरेका थिए ।
सुरक्षाकर्मीको हत्यापछि मोर्चाका कार्यकर्ताहरुले प्रहरीको ‘मल्टीग्यास गन’ नामको हतियार लुटेर भागेका थिए ।
सो घटना भएको ६ महिना पछि प्रहरीले सो हतियार फेला परेको छ । प्रहरीले उक्त हतियार सहित कैलाली हसुलिया गाविस ८ बस्ने ३९ वर्षीय निर्दङ्ग भनिने कुकरा चौधरीलाई पक्राउ गरेको छ ।
पक्राउ परेका चौधरी मधेसी जन अधिकार फोरमका इलाका स्तरीय नेता भएको बताइएको छ । प्रहरीले उक्त हतियार दंगा नियन्त्रणका लागि प्रयोग गर्ने गरेको छ ।
कैलाली प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी हतियार र पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेको हो ।