भट्टराईको विज्ञप्ति-'नियमविपरित कुनै पनि सेवासुविधा आफूलाई चाहिदैन,भए फिर्ता लैजानुहोस्'

Posted on: May 25, 2016 | views: 536

काठमाडौं,जेठ १२ । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालको संयोजक डा. बाबुराम भट्टराईले नियमविपरित कुनै पनि सेवासुविधा आफूलाई नचाहिने बताएका छन् । पूर्वपदाधिकारीलाई सरकारले उपलब्ध गराएको सुरक्षाकर्मीका विषयमा समाचार बाहिर आइरहेको बेला बुधबार उनका स्वकीय सचिव विश्वदीप पाण्डेले एक विज्ञप्ति जारी गर्दै यस्तो कुरा बताएका हुन् । समाचारहरुमा अनावश्यक सुरक्षाकर्मी लिएर दुरुपयोग गरेको भन्ने आशयसहित भट्टराईको पनि नाम उल्लेख भएकोप्रति ध्यानाकर्षण भएको जनाउदै 

आफ्नो सुरक्षाका लागि सरकारले नियमविपरित सुरक्षाकर्मी खटाए भए फिर्ता लैजान भनेका छन्।


विज्ञप्तिमा भनिएको छ- 'प्रथमत:, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु उहाँले माग गरेर नभई सरकारले नै उपलब्ध गराएको हो । मलाई यति नै संख्यामा सुरक्षाकर्मी चाहिन्छ भनेर उहाँले कहिल्यै पनि सरकारसँग माग गर्नुभएको छैन । सरकारले जे जति सुरक्षाकर्मीहरु पठाएको हो त्यही टोली नै उहाँको सुरक्षामा खटिएको छ ।


दोस्रो कुरा, केही दिन अघि मात्रै नेपाल सरकारका मुख्य सचिवलाई डा. भट्टराईले नियमअनुसार मात्रै आफूलाई सुरक्षा प्रदान गर्न आग्रह गर्नुभएको थियो । उहाँले नियमविपरित कुनै पनि सेवासुविधा आफूलाई नचाहिने स्पष्ट गर्दै उहाँले नियमविपरित सरकारले सुरक्षाकर्मी पठाएको भए फिर्ता गर्न पनि आग्रह गर्नुभएको थियो । तेस्रो कुरा, गत असोजदेखि (नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएपछि) हालसम्म डा. बाबुराम भट्टराईले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अगुवा र पछुवा गाडी समेत प्रयोग गर्नुभएको छैन । उहाँले प्रयोग गर्ने गाडीमा नै एक जना नेपाल प्रहरीबाट र एक जना सशस्त्र प्रहरी बलबाट गरी दुई जना सुरक्षा अधिकृत लिएर हिँड्ने गर्नुभएको छ ।


अत: उहाँको सुरक्षाका निम्ति सरकारको निर्णय र नियम विपरित सुरक्षाकर्मी खटाइएको भए तत्काल नियमविपरित खटिएका सुरक्षाकर्मीहरु फिर्ता गरी नियम र निर्णयअनुसार मात्रै सुरक्षा प्रदान गर्ने बन्दोबस्त मिलाउन नेपाल सरकारसँग आग्रह गर्दछौं । साथै सञ्चारकर्मी मित्रहरुमा पनि कुनै किसिमको अस्पष्टता भएमा यसैअनुसार स्पष्ट हुन आग्रह गर्दछौं ।'