माओवादी केन्द्रको विवाद मिलाउन यस्ता छन् प्रचण्डको दुई विकल्प

Posted on: May 23, 2016 | views: 171

काठमाडौं,जेठ १० । नेकपा माओवादी केन्द्रको कार्यविभाजनमा विवाद देखिएपछि प्रचण्डले दुई विकल्प सहितको प्रस्ताव पेश गरेका छन् । विवाद बढेसँगै पार्टीलाई बहुपदीय प्रणालीमा लैजाने वा एकपदीय प्रणालीमा लैजाने भन्नेमा बहस सुरु भएको छ ।
प्रचण्ड राखेका दुई प्रस्ताव यस्ता छन् :
विकल्प १: बहुपदीय प्रणाली 
पार्टीलाई बहुपदीय प्रणालीमा लैजाने विषयमा माओवादी केन्द्रका शीर्ष नेताहरु सहमत भएका छन् । तर, बहुपदमा जाँदा कुन पदको संख्या कति बनाउने र त्यसअनुसार कुन नेतालाई के जिम्मेवारी दिने भन्नेमा नेताहरुबीच विवाद मिल्न सकेको छैन । जसका कारण आइतबारको महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष प्रचण्डले कार्यविभाजनको ठोस प्रस्ताव नराखी विकल्प प्रस्तुत गरेका थिए ।

बहुपदीय प्रणालीमा अध्यक्ष वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष लगायत राखेर जाने माओवादी केन्द्रको तयारी रहेको छ ।

विकल्प नम्बर २ : एकपदीय प्रणाली 
बहुपदीय प्रणालीमा नेताहरुको पोर्टफोलियो विवाद मिलाउन अप्ठेरो देखिएमा दोस्रो विकल्पको रुपमा एकपदीय प्रणाली अवलम्बन गर्न सकिने प्रस्ताव पनि प्रचण्डले बैठकमा प्रस्ताव गरेका छन् । पूर्ववत् क्रान्तिकारी माओवादी नेताहरुले एकलपदीय प्रणालीमा भन्दा अध्यक्ष वा सहअध्यक्ष बनाएर अन्यलाई सदस्य बनाएर जान प्रस्ताव राखेका छन् ।

एकपदीय प्रणालीमा जाँदा सचिवालय, पोलिटब्युरो बनाउँदै जान सकिने प्रचण्डको प्रस्ताव रहेको छ । सहअध्यक्ष राख्नेमा पूर्ववत् एमाओवादीका नेताहरु तयार छैनन् । उनीहरुको जोड सकेसम्म बहुपदीय प्रणालीमा जाने रहेको बताइएको छ । आजको नयाँ पत्रिकाले समाचार लेखेको छ ।