गृहसँग सुरक्षाकर्मी दुरुपयोग विवरण माग

Posted on: May 21, 2016 | views: 142

८ जेठ, काठमाडौं ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सुरक्षाको आवरणमा भइरहेको सुरक्षाकर्मीको दुरुपयोगबारे गृह मन्त्रालयसँग विवरण मागेको छ ।

कार्यालयले सरकार, संवैधानिक निकाय र सुरक्षा संगठनका बहालवाला एवं पूर्वअधिकारीको सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्या र खटाउने आधार लिखित रूपमा मागेको हो ।
 
कार्यालयका सचिव चन्द्र घिमिरेले सुरक्षाको आवरणमा तल्लो तहका सुरक्षाकर्मीको दुरुपयोगबारे गृहसँग विवरण मागिएको बताए ।

सुरक्षाका लागि कुन निकायबाट कति सुरक्षाकर्मी खटिएका छन्, दुरुपयोग भएको छ कि छैन र कुन आधारमा खटिएका हुन् भन्ने विवरण माग गरिएको घिमिरेले जानकारी दिए ।

‘सुरक्षाकर्मी परिचालनको आधार, संख्या र अवस्थाबारे जानकारी दिन पत्र पठाएका छौं,’ घिमिरेले भने, ‘विवरण आएपछि आवश्यक प्रक्रिया अगाडि बढाउँछौं ।’ कान्तिपुर दैनिकमा समाचार छ ।