एकै दिन डेढसय बढीले सगरमाथा चढे, लोत्से हिमालमा एकजनाको मृत्यु

Posted on: May 19, 2016 | views: 169

६ जेठ, काठमाडौं ।
सगरमाथा आरोहण प्रारम्भ भएको नवौँ दिन आज मात्रै १५० भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् ।
    
संयुक्त अरब इमिरेट 'युएई' को सैनिक टोलीसहित एक दिनमै १५० बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

ल्होत्से आरोहण क्रममा एकको मृत्यु

ल्होत्से हिमाल आरोहण गर्ने क्रममा आज एक शेर्पा पथप्रदर्शकको मृत्यु भएको छ ।

नाम्चे–४ सोलुखुम्बुका २६ वर्षीय आङ फुर्वा शेर्पाको ल्होत्सेमा डोरी अड्काउने क्रममा चिप्लिएर मृत्यु भएको सगरमाथाको आधार शिविरमा रहनुभएका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।