प्रचण्ड नेतृत्व माओवादीको नयाँ नाम ‘नेकपा माओवादी केन्द्र’

Posted on: May 19, 2016 | views: 180

६ जेठ, काठमाडौं ।
फुट्यो फुट्यो फुटेन, जुट्यो जुट्यो जुटेन भन्ने एक कविता जस्तै बनिरहेको १० बर्षे जनयुद्धका समयमा नेकपा माओवादीको रुपमा चिनिएर खुला राजनीतिमा आएपछि टुक्रा टुक्रा भएको माओवादी पार्टी फेरी जोडिन थालेका छन् ।

केही अझै टुक्रा टुक्रा बनिरहेपनि मुख्य माओवादी पार्टी बनिरहेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एकिकृत माओवादीसँग फेरी फुटेका केही दल्न मिल्ने भएका छन् ।

विभिन्न टुक्रामा विभाजित माओवादीहरुको एकता घोषणा आज हुँदैछ । एकता घोषणा अघि बबरमहलस्थित एक पार्टी प्यालेसमा संयुक्त अधिवेशन चलिरहँदमा नयाँ पार्टीको नाम सार्वजनिक भएको छ ।

दिउँसो ३ बजे पार्टी एकताको औपचारिक घोषणा हुनेछ । एकता प्रक्रियामा एमाओवादीसँगै नेकपा क्रान्तिकारी माओवादीबाट आएका रामबहादुर थापा बादलको समूह, विप्लव माओवादीबाट आएका तिलक परियारको समूह, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट, मातृका यादवको नेकपा 'माओवादी' र जयपुरी घर्ती संलग्न छन् ।

एक शीर्ष नेताका अनुसार पार्टी एकतापछि पार्टीको नाम नेकपा 'माओवादी केन्द्र' राख्ने सहमति भएको छ ।

नयाँ पार्टीको अध्यक्ष प्रचण्ड नै रहनेछन् । नारायणकाजी श्रेष्ठ प्रकाश उपाध्यक्षमै रहनेछन् भने रामबहादुर थापा बादल महासचिव हुने र कृष्णबहादुर महरा उपमहासचिव हुने पक्का भएको छ ।

बहुपदीय प्रणालीमा जाने निष्कर्ष निकालेका माओवादी पार्टीहरुले एक वर्षभित्र महाधिवेशन गर्ने समझदारी गरेका छन् । त्यसका लागि झण्डै ६ सय सदस्यीय महाधिवेशन आयोजक समिति बनाइँदैछ । ५ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने तयारी भइरहेको बताइएको छ ।