के होला अब ? वैद्य हटाउने थापा पक्षको तयारी,थापाले आव्हान गरेको बैठकमा नजान वैद्यको आग्रह

Posted on: May 06, 2016 | views: 117

काठमाडौं,बैशाख २४ । एकिकृत नेकपा माओवादीसँग फुटेर बनेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी फेरी फुटको संघारमा पुगेको छ । एकिकृत माओवादीसँग एकताको तयारीमा रहेको थापापक्ष र वैद्यपक्ष फुटको संघारमा पुगेको हो । एकताको बिषयलाई लिएर यी दुईपक्षबीच लामो समयदेखि विवाद हुदै आएको छ ।  आफुसँग अल्पमत हुने भएका कारण वैद्यले केन्द्रिय समिति नै स्थगित गरेर बसेका छन् । उक्त बैठक महासचिव राम बहादुर थापाले बैशाख २८ गतेका लागी आव्हान गरिसकेका छन् । 


वैद्यले भने थापाले आव्हान गरेको बैठकमा नजानका लागी एक विज्ञप्ती नै जारी गर्दै सार्वजनिक अपिल गरेका छन् । थापापक्षले भने  अब बैठकमा अध्यक्ष वैद्य नआए उनलाई पार्टीबाट कारवाही गर्दै एमाओवादीसँग औपचारिक एकता प्रक्रिया अघि बढाउने तयारी गरेको स्रोतले बताएको छ । 


महासचिव बादल सहितका बहुमत तथा मुख्य नेताहरु एमाओवादीसँग एकताको पक्षमा छन् भने स्वंयम वैद्य भने तत्काल एकताको पक्षमा छैनन् । केन्द्रिय समितिमा १९१ मध्य १३० भन्दा बढी केन्द्रिय सदस्य थापाको पक्षमा रहेको र आफुसँग अल्पमत हुने भएका कारण वैद्यले केन्द्रिय समितिको स्थागित बैठक पुन बोलाएका थिएनन् ।