चर्को घाम र हावाले तराईमा लु, जनजिवन प्रभावित

Posted on: May 03, 2016 | views: 228

१८ बैशाख, नेपालगञ्ज ।
नेपालको सबैभन्दा अधिक गर्मी हुने स्थान भनेर चिनिने नेपालगन्ज लगायत तराई मदेशका विभिन्न स्थानमा चर्को घाम र तातो हावा 'लु' को प्रभावले जनजीवन प्रभावित बनाएको छ ।

मौसम विभागको नेपालगन्ज कार्यालयका अनुसार, नेपालगन्जको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस भन्दा बढी रेकर्ड गरिएको छ । यहाँको अधिकतम तापक्रम अभैm बढने अनुमान गरिएको छ ।

गर्मी सुरु भएयता नेपालगन्जमा पानी नपर्नाले पनि आम नागरिकले चर्को घाम र तातो हावाको नियति भोग्नु परेको छ ।


प्रचण्ड गर्मीका कारण जनजीवन अस्तव्यस्त

त्यसैगरी धनुषासहित मध्य तथा पूर्वी तराईका जिल्लामा केही दिनदेखि बढेको प्रचण्ड गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।

तापक्रम बढ्नुको साथै चल्ने तातो हावा, हुरी, धुलो सँगैसँगै ग्रामीण बस्तीमा आगलागीको जोखिम बढेको छ । तातो हावा हुरीकै कारण आँप, हरियो तरकारी खेती प्रभावित भएको छ । कामदारको दैनिकी कष्टकर बनेको छ ।

तातो हावाकै कारण दिउँसो बाहिर हिँडडुल गर्न गाह्रो भएको छ । एक्कासि मौसम परिवर्तन भई तापक्रम बढ्दा बालबालिका बिरामी हुन थालेका छन् । हावा हुरी उडाएको धुलोका कारण आँखा दुख्ने समस्या बढेको अस्पतालहरुले जनाएका  छन् ।