कांग्रेस १३ औं महाधिवेशन: देउवा र पौडेल को कहाँ बलियो ?

Posted on: May 02, 2016 | views: 362

काठमाडौं,फागुन १० । महाधिवेशन प्रतिनिधिहरूको अहिलेसम्म प्राप्त परिणाम र मधेसमा आएको देउवा जिताउ लहरले नेपाली कांग्रेसभित्र वरिष्ठ नेता शेरबहादुर देउवाको स्थिति निकै बलियो देखिएको छ । ६० प्रतिशतभन्दा बढी प्रतिनिधि देउवा पक्षधर निर्वाचित भएर आएको प्रारम्भिक तथ्यांकले देखाएको छ । देउवाको पल्ला निकै भारी देखिएसँगै उनको टिममा रहेर केन्द्रीय सदस्यको उम्मेदवार बन्न इच्छुकहरूको ठूलै भीड देखिएको छ । पार्टीको ८२ सदस्यीय केन्द्रीय समितिका ५० जनाभन्दा बढी देउवा पक्षमा उभिने भएका छन् ।

गत महाधिवेशनमा कमजोर रहेको तराई र गण्डकीदेखि मेचीसम्मका पहाडी जिल्लामा देउवा पक्षले उल्लेखनीय प्रगति गरेको देखिएको छ । कोइराला पक्षले ललितपुर, सोलु, संखुवासभा, कर्णालीका केही जिल्ला, कपिलवस्तु र चितवनबाहेक अघिल्लो महाधिवेशनको तुलनामा कुनै पनि जिल्लामा प्रगति गरेको छैन । प्रजातन्त्र र मानवअधिकारमा काम गरिरहेको एक गैरसरकारी संस्थाले गरेको सर्भेक्षणले पनि अघिल्लो महाधिवेशनको तुलनामा देउवा पक्षको मत कम्तीमा १५ प्रतिशतदेखि बढीमा २५ प्रतिशतसम्म वृद्धि भएको देखाएको छ । एक साताभित्रै उसले आफ्नो सर्भेक्षण प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरिरहेको स्रोतले बताएको छ ।

उक्त सर्भेक्षणअनुसार महामन्त्री कृष्णप्रसाद सिटौलाको झापामा गत महाधिवेशनमा देउवा पक्षका २८ जना प्रतिनिधि रहेकोमा यसपटक ४२ जना निर्वाचित भएका छन् । भोजपुरमा आठजना रहेकोमा १८ जना निर्वाचित भएका छन् । गत महाधिवेशनमा धनकुटामा देउवा पक्षका प्रतिनिधि १५ जना थिए, यसपटक १८ जना निर्वाचित भएका छन् । यस्तै, विगतमा मोरङमा २९ जना रहेकोमा यसपटक ६० जना पुगेका छन् । ओखलढुंगामा नौजना रहेकोमा १५ जना, सप्तरीमा २६ रहेकोमा ५७ जना, सिरहामा ३७ जना रहेकोमा ५० जना, दोलखामा ६ जना रहेकोमा १५ जना, सिन्धुलीमा २० जना रहेकोमा २९ जना र सर्लाहीमा ३० जना रहेकोमा यसपटक ५१ जना निर्वाचित भएका छन् । यसैगरी, लमजुङमा पाँचजना रहेकोमा १३ जना, कास्कीमा चारजना रहेकोमा २४ जना, स्याङ्जामा १२ जना रहेकोमा २४ जना, गुल्मीमा १२ जना रहेकोमा २९ जना, रूपन्देहीमा ४२ जना रहेकोमा ६० जना, बाग्लुङमा पाँचजना रहेकोमा यसपटक १८ जना निर्वाचित भएका  हरेकपल डटकमले समाचार लेखेको छ । सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा देउवा पक्षको विगतमा जस्तै ९० प्रतिशत होल्ड कायमै छ । त्यसबाहेक मध्यपश्चिमका बर्र्दिया, बाँके, दाङ, पश्चिमाञ्चलको नवलपरासीलगायतका जिल्लामा देउवा पक्षले ५५ देखि ८० प्रतिशत वर्चश्व हासिल गरेको छ । मधेसी आन्दोलनको प्रभाव क्षेत्र मानिएका सप्तरीदेखि पर्सासम्मका आठ जिल्ला धेरै महाधिवेशन प्रतिनिधि भएका जिल्ला हुन् । 

गत महाधिवेशनमा विभिन्न चलखेलका कारण यी जिल्लाबाट देउवाले ३५ प्रतिशतको हाराहारीमा मात्रै मत पाएका थिए । तर यसपटक देउवाको पर्सामा ८५ प्रतिशत, बारामा ९० प्रतिशत (अनुमान) रौतहटमा ५५ प्रतिशत, सर्लाहीमा ६० प्रतिशत महोत्तरीमा ४५ प्रतिशत, धनुषामा ७० प्रतिशत, सिरहामा ५५ प्रतिशत र सप्तरीमा ६० प्रतिशत होल्ड देखिएको छ । संस्थापन पक्षले आफ्नो बलियो किल्लाका रूपमा प्रचार गरेको सुनसरीमा समेत देउवा पक्षका महाधिवेशन प्रतिनिधिहरूको संख्या ३५ प्रतिशतको हाराहारीमा देखिएको छ । यसैगरी, दलित, आदिवासी जनजाति, महिला, मुस्लिमलगायतको आरक्षण क्षेत्रमा देउवा पक्षको वर्चश्व ७० प्रतिशतको हाराहारीमा देखिएको छ ।
महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउँदा नै देउवाका पक्षमा प्रतिनिधि धेरै देखिएपछि सभापति सुशील कोइरालाको स्वास्थ्य अवस्था गम्भीर देखिएको थियो । एकातिर देउवा पक्षको यस्तो पकड देखिनु र अर्कातिर संस्थापन पक्षबाटै आधा दर्जन जतिले सभापति पदमा आफैंलाई भोट माग्न थाल्नुले नेपाली कांग्रेसभित्रको शक्ति सन्तुलनमा फेरबदल आएको छ । केन्द्रीय कार्यालयमा सुशील कोइरालाले नियुक्त गरेका कर्मचारीहरू कसरी अघि बढ्ने भन्ने अन्योलमा परेका छन् । 

हालै मात्र केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले विदेशमा रहेका जनसम्पर्क समितिलाई पत्राचार गर्दै क्रियाशील सदस्यहरूलाई एकै ठाउँमा भेला पारी निर्वाचन गराएर प्रतिनिधि पठाउन निर्देशन दिएका छन् । तर उनको यो षड्यन्त्र एकदिन पनि टिक्न सकेन । जनसम्पर्क समितिहरूले प्रक्रिया पु¥याएरै महाधिवेशन प्रतिनिधिहरू छनोट गरेका छन् । भारतबाहेकका देशबाट छनोट भएका ९२ महाधिवेशन प्रतिनिधिहरूमध्ये ७० प्रतिशत देउवा पक्षधर छन् ।