देउवा दैलो चहारेर फर्कीए ! भन्छन्-'नाकको उपचार गरेर आएं' के भएछ नाकमा ?

Posted on: May 03, 2016 | views: 471

१५ बैशाख, काठमाडौं ।
केपी ओली सरकार हटाएर आफ्नो नेतृत्वमा सरकार बनाउन सहयोग गरिदिन विन्ति विसाउँदै भारतीय नेताको दैलो चहार्न गएका शेरबहादुर देउवा आज नेपाल फर्कीएका छन् ।

नेपाली काँग्रेसको सभापति बन्न नपाउँदै श्रीमतीको उपचार बहानामा भारत गएका देउवा आज निरास भइ फर्किएको बताइन्छ ।

देउवाको आशा अनुसार भारतीय नेताहरुले सहयोग गर्ने आश्वासन र बचन बद्धता नदिएको खवरहरु आइरहँदा स्वदेश फर्कन नपाउँदै देउवाले विमानस्थलमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका हुन् ।

पत्रकारसँग कुराकानी गर्दै सभापति देउवाले अहिले सरकारमा पनि नजाने र बनाउने चलखेलमा पनि नलाग्ने बताए ।
देउवाले लोकतन्त्रमा सशक्त प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने भएकाले काँग्रेसले प्रतिपक्षमै रहेर जनताका पक्षमा आवाज उठाइरहने बताए ।

वैशाख ६ गते भारत गएका देउवाले श्रीमतीसँगै आफ्नो नाकको पनि उपचार गराएको बताए । तर उनले नाकमा के भएको केही बताएनन् । साथै उनले उनको नाकको विरामी कस्तो र त्यसको उपचार नेपालमा संभव भए नभएको समेत बोलेनन् । मात्र उनले श्रीमती उपचार बहानामा आफ्नो पनि उपचार गरेको बताउन भ्याए ।

स्मरणीय छ नाकको उपचार गरेको बताएका देउवाले भारतमा रहँदा अधिकाशं समय भारतीय नेतासँगको भेट र भेटको प्रयासमै खर्चिए ।

भारतमा रहँदा देउवाले भारतीय विदेश मन्त्री सुष्मा स्वराज सहित अन्य नेताहरुसँग भेटेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत केही वरिष्ठ मन्त्रिहरुसँग भेटको प्रयास गरेपनि दर्शन नपाएपछि देउवा निराश भइ स्वदेश फर्कीएका छन् ।