ठगी आरोपमा पक्राउ परेका नयाँ शक्तिका नेता पार्टीबाट निलम्बित (विज्ञप्ती सहित)

Posted on: May 03, 2016 | views: 269

काठमाडौं,बैशाख १३ । नयाँ शक्ति नेपालले  ठगी आरोपमा प्रहरीको हिरासतमा रहेका केन्द्रीय परिषद सदस्य अशोककुमार थापा पार्टीबाट निलम्बित गरेको छ । नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले आज एक विज्ञप्ती जारी गर्दै उनलाई निलम्बित गरेको जनाएका छन् ।  आफ्ना नेता ठगी जस्तो गम्भीर आरोपमा पक्राउ परेकोमा ध्यानाकर्षण भएको जनाउँदै नयाँ शक्तिका प्रवक्ताले जारी गरेको बिज्ञप्तिमा पार्टीको अन्तरिम बिधान अनुसार नै आरोपी थापा स्वतः निलम्बित भएको जनाएका छन् । 

नयाँ शक्तिको बिज्ञप्तिमा भनिएको छ ‘नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद सदस्य ओखलढुंगाका अशोक थापालाई चिट्ठाको नाममा ठगी गरेको भन्दै प्रहरीले पक्राउ गरेको समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’‘नयाँ शक्ति नेपालको अन्तरिम व्यवस्थापन तथा प्रशासन निर्देशिका, २०७२ अनुसार भ्रष्टाचार एवम् ठगीजस्ता गम्भीर अपराधमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरी थुनामा राखेमा पार्टी सदस्यलगायत सम्पूर्ण जिम्मेवारीबाट स्वतः निलम्बन हुने र अदालतबाट दोषी ठहर गरी अन्तिम फैसला भएमा पार्टी सदस्यता स्वतः खारेज हुने व्यवस्था भएको स्पष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

प्रवक्ता देवकोटाले विज्ञप्तिमा पार्टीको उक्त प्रावधानअनुसार जनमुक्ति सेनाका पूर्व कमाण्डर समेत रहेका नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद सदस्य अशोक थापा स्वतः निलम्बित गरिएको स्पष्ट पार्नुभएको छ । ‘सुशासन र पारदर्शिता नयाँ शक्तिको मान्यता भएको पुनः स्पष्ट गराउँदै स्वतन्त्र र निष्पक्ष छानबीन गरी सत्यतथ्य बाहिर ल्याउन नयाँ शक्ति नेपालको तर्फबाट आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता पनि व्यक्त गर्दछौं,’ विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

ओखलढुङ्गा दियाले गाविस स्थायी घर भएका ३१ वर्षीय अशोककुमार थापालाई बेलायतमा खुलेको ५ लाख पाउण्डको चिठ्ठा परेको भन्दै पोखराकी एक महिलासँग ७ लाख २५ हजार रुपैयाँ ठगी गरी फरार रहेको उजुरीको आधारमा प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो ।