चौरीगाईको आलो रगत पिउन सर्वसाधारणको ताँती

Posted on: May 01, 2016 | views: 117

८ बैशाख, मुस्ताङ ।
जिल्लाको कोबाङस्थित बोक्सीखोलामा सोमबार देखि सुरु भएको चौरीगाईको आलो रगत पिउने मेलामा सर्वसाधारण घुईचो लागेको छ ।

उच्च हिमाली क्षेत्रमा यार्सागुम्बा, जटामसी, पाँचऔले लगायतका बहुमुल्य जडिबुटी खाएका चौरीगाईको आलो पिएमा पेट सम्बन्धी रोगहरु निको हुनुका साथै शारिरीक स्फुर्ती बढ्ने जनविश्वास रहेको छ ।

धौलागिरि चौरीपालक किसान समितिको आयोजना भएको मेलाको दोस्रो दिन सम्म पाच सय भन्दा बढीले रगत पिएको समितिका अध्यक्ष सकेन्द्र गौचनले  जानकारी दिनुभयो ।

प्रति गिलास २०० रुपैयाँ दरले सर्वसाधारण रगत पिउने गरेका छन् । उचित प्रचारप्रसारका कारण यसबर्षपनि उपल्लो मुस्ताङ देखि काठमाडौ सम्मका सर्वसाधारण रगत पिउन आएको र आउने क्रम जारी रहेको आयोजकले जनाएको छ ।

रगत पिएपछि बर्षौ देखिको ग्याष्ट्रिक रोग निको भएको म्याग्दी दानाकी भुमा रोकाले बताउनुभयो । “म हरेक बर्ष यहाँ रगत पिउने आउने गरेकी छु, यसलाई मेरो समस्या ठिक हुनेगरेको छ” उहाँले भन्नुभयो ।

आलो रगत पिएपछि गानोगोला, ग्याष्ट्रिक, मधुमेह, मर्केको, सुन्नेको र पेट सम्बन्धी रोगहरु निको हुने सर्वसाधारणले बताएका छन् । आगामी २५ गतेसम्म सञ्चालन हुने मेलामा करिब तीन हजार जनाले रगत पिउने आयोजकले जनाएको छ ।

कोबाङका १५ जना किसानहरुले व्यवसायिक रुपमा पालेको चौरीगाईबाट आवश्यकताको आधारमा रगत निकाल्ने गरिन्छ । जिउँदै पशुबाट रगत निकालेर पिउनु मानवीय दृष्टि समेत अशोभनीय काम भएको भन्दै पशु अधिकारकर्मीहरुले त्यसको विरोध गरेका छन् ।

पशु सेवा कार्यालयका प्रमुख डा. नन्दलाल वर्माले परिक्षण नगरिएका आलो रगत पिएर रोग निको हुन्छ भन्नु गलत भएको टिप्पणी गर्नुभयो । “यो पशु अधिकारको दृष्टिकोणले पनि सहनसक्ने कुरा होईन्, परम्परालाई रोक्न हामीले आग्रह गरेका छौँ, उहाँले भन्नुभयो ।