ट्रेड युनियन चुनावका लागि राज्यकोषबाट ५ करोड

Posted on: May 01, 2016 | views: 157

काठमाडौं,बैशाख ६ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन चुनावका लागि राज्यकोषबाट ५ करोड रुपैयाँ खर्च हुने भएको छ । राज्यबाट तलब लिएर जनताको सेवा गर्न खटिएका कर्मचारीको नेता छान्न राज्यकोषबाटै थप खर्च हुन लागेको आजको नागरिक दैनिकमा समाचार छ ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन बनाउने भन्दै सरकारले वैशाख १० गते चुनाव गर्दैछ ।  देशभर हुने चुनाव प्रयोजनका लागि करिब ५ करोड रुपैयाँ खर्च हुने निर्वाचन अधिकृत कार्यालयका प्रवक्ता सन्तोषकुमार गिरीले बताए ।

निर्वाचन कार्यका लागि खटिएका कर्मचारीलाई ५० प्रतिशत भत्ता, निर्वाचन सामग्री खरिद, सञ्चार महसुल, छपाइ, ढुवानी, मतदानका दिन र मतगणना कार्यमा खटिने कर्मचारीलाई भत्तालगायत शीर्षकमा उक्त रकम खर्च हुने उनले जानकारी दिए ।

सरकारले ७५ जिल्लामा निर्वाचन अधिकृत नियुक्त गरेको छ । ३१ मन्त्रालय, संवैधानिक अंग लगायत ४२ वटा विभागीयसमेत देशभर १ सय १७ निर्वाचन कार्यालय छन् । देशभर करिव ८० हजार निजामती कर्मचारी छन् ।

आधिकारिक ट्रेड युनियन निर्वाचनमा भाग लिने कर्मचारी करिब ५४ हजार मात्र छन् । शाखा अधिकृत वा सोसरहसम्मका कर्मचारीले मात्र मतदानमा भाग लिन पाउनेछन् ।

उपसचिवभन्दा माथिल्लो पदमा रहेका निजामती कर्मचारी ट्रेड युनियनमा आबद्ध हुन पाउँदैनन् ।