जापान एनआरएन क्षेत्रिय भेला-'सुरुङ मार्ग बनाउने जिम्मेवारी एनआरएनमा'-भवन भट्ट

Posted on: May 01, 2016 | views: 258

मदन पाठक-९ फागुन, टोक्यो ।
एनआरएन आइसिसीका उपाध्यक्ष भवन भट्टले नेपालको महत्वाकांक्षी योजना काठमाडौं हेटौंडा सुरुङ मार्ग निर्माणको जिम्मा एनआरएनमा आएको बताउनुभएको छ ।

एनआरएन जापानको क्षेत्रिय भेलामा बोल्दै नवनियुक्त नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष भट्टले ५० अर्ब लगानिमा निर्माण हुने सुरुङ मार्ग निर्माणको जिम्मा सम्पन्न गरेर उदाहरणीय काम देखाउने काम एनआरएनको काँधमा आएको भन्दै सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै एनआरएन उपाध्यक्ष भट्टले नेपाल जापान सिधा हवाई सेवा सञ्चालनको लागि पहल भइरहेको जानकारी दिनुभयो । यसका लागि १ सय ४५ सिट क्षमताको हवाईजहाँज खरिद प्रक्रिया अघि बढाउन प्राविधिक पक्ष हेर्न आफु क्यानडा जान लागेको बताउनुभयो । सन् २०१७ को सुरुवातबाटै नेपाल जापान हवाई सेवा सञ्चालनको लागि अन्तिम प्रयास अघि बढिरहेको एनआरएन उपाध्यक्ष भट्टको भनाई छ ।

भेलामा नयाँ कार्यभार सम्हालेको हालको कार्यसमितिको पहिलो ६ महिनाको कार्यसमिक्षा प्रस्तुत गरिएको थियो ।

अर्धवार्षिक कार्यप्रगति प्रतिवेदन एनआरएन जापानका सचिव बुद्धिराज घिमिरेले प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा ६ महिने कार्य समिक्षा, भावी कार्ययोजना, राष्टिय समन्वय परिषद, एनआरएन केन्द्रसँगको सम्बन्ध, एनआरएन अभियान र एनआरएन जापानको भूमिकाको बारेमा भेलामा गम्भिर छलफल भएको भएको थियो ।

एनआरएन जापानका अध्यक्ष सुदन थापाको सभापतित्वमा भएको भेलामा एनआरएन जापानका सल्लाहकारहरुले आ आफ्ना सुझाव राख्नुभएको थियो ।
प्रस्तुत गरिएका प्रतिवेदनहरुमाथि टिप्पणी गर्दै शालिकराम भण्डारी, दिलाराम खरेल, केशर गिरी, लोकनाथ वस्ती, तिलक मल्ल, महेश श्रेष्ठ, दिपक सुवेदी, डिपी कँडेल, शरदकुमार गौचन लगायतले सुझाव दिनुभएको थियो ।

भेलामा एनआरएन जापान क्षेत्रीय कमिटीका तर्फवाट नागानोका पम खत्री, गुन्माका महेश्वर रिसाल, कान्तो टोक्योबाट प्रकाश थापा, नागोयाका रामु खरेलले प्रतिवेदन पेश गर्नुभएको थियो ।

एशिया प्याशिफिकका संयोजक किरण विक्रम थापा, आइसीसी सदस्यहरु ओम गुरुगं, कपिलदेव थापा र भूषण घिमिरेले एनआरएन जापानले आगामी दिनमा खेल्नुपर्ने भूमिकाका विषयमा धारणा राख्नु भएको थियो भने कार्यक्रमको अन्त्यमा एनआरएन जापानका अध्यक्ष सुदन थापाले भेलामा उठेका विषयमाथि प्रकाश पार्दै एनआरएन जापानको कार्यदिशा बारेमा प्रष्ट्याउनुभएको थियो ।