विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक काफ्ले काँग्रेसको महाधिवेशनको प्रचारमा

Posted on: May 03, 2016 | views: 292

काठमाडौं,फागुन ७ । नेपाल विद्युत् प्राधिकरणको चरम लापरवाहीका कारण जनता दिन–दिनै अँध्यारोमा बस्न वाध्य हुनु परेको छ । सञ्चालनमा रहेको आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । निर्माणाधीन आयोजनासमेत समस्यामा परिरहेका छन् । समय र लागत बढ्दै आयोजनाको लागत पाँच गुणाभन्दा बढी परिरहेको बेला नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले यतिबेला नेपाली काँग्रेसको महाधिवेशनका सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई जिताउन लागिपरेका छन् । 


प्राधिकरण भाडमा गए जाओस्, जनता अँध्यारोमा बस्नुपरे परुन्, मलाई केही हुँदैन भन्दै काफ्ले काँग्रेस महाधिवेशनको प्रचार–प्रसारमा लागेका छन् । सरकारका निकायमा कार्यरत व्यक्ति कुनै पनि अमुक दलको सदस्य बन्न पाइँदैन । कानुनतः दलको सदस्य भएको व्यक्ति कुनै पनि सरकारी संस्थाको प्रमुख बन्न पाउँदैन । देखिने गरी कुनै पनि दललाई समर्थनसमेत गर्न पाइँदैन । नेपाल विद्युत् प्राधिकरण ऐन, २०४८ ले पनि राजनीतिक दलको सहभागिता र सदस्यलाई पूर्णतः अस्वीकार गरेको छ । तर, काफ्ले प्राधिकरणको ऐन तथा कानुनलाई लत्याएर काँग्रेसको महाधिवेशनको प्रचार–प्रसारमा जोड तोडका साथ लागेका छन् । नेपाली काँग्रेस केन्द्रीय महाधिवेशनका लागि सार्वजनिक गरेको क्रियाशील सदस्यता सूचीमा काफ्लेको नाम बकाइदा सानका साथ उल्लेख गरिएको छ । काफ्लेको महोत्तरी खैरमारा गाविसमा क्रियाशील सदस्यता रहेको देखिएको छ । रुद्रप्रसाद काफ्लेको छोरा उनको क्रियाशील सदस्य २१०६१००६००७ रहेको छ । कुनै पनि राजनीतिक दलको सदस्य बन्न नपाउने र कुनै अमुक दलको पक्षमा लागेर संस्थाको प्रतिष्ठालाई समस्यामा पार्न नहुने मान्यताविपरीत काफ्ले यतिखेर काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवालाई सभापतिमा जिताउन लविङ गर्दै हिँडेका छन् ।

‘जता शक्ति र प्रतिष्ठा, उतै काफ्ले’ भन्ने सिद्धान्तलाई अंगीकार गरेका काफ्लेले यतिखेर भने देउवा सभापति हुने भन्दै प्राधिकरणमा समेत गफ दिने गरेको बताइन्छ । भारतीय दूतावास लैनचौरको योजनाका काम गर्ने गरेको भन्ने आरोप लाग्ने गरेका काफ्लेले प्राधिकरणलाई जसरी भए पनि डुबाएर आफ्नो स्वार्थसिद्ध गर्न लागिपरेको भन्दै प्राधिकरण भित्रै उनको विरोध हुन थालेको छ । त्रिशुली–काठमाडौँ प्रसारण लाइन, कोसी कोरिडोर, सोलु कोरिडोरमा समेत अनियमितता गरेका काफ्लेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किन कारवाही नगरेको भन्दै आलोचना भएको छ । 

अख्तियारले काफ्लेको अनियमितताको संलग्नताको बारेमा मिहीन तवरले अध्ययन गरिरहेको जनाइएको छ । सोलु कोरिडोर प्रसारण लाइन निर्माणमा भएको अनियमितताका सम्बन्धमा अख्तियारले तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीलाई कारवाही गरे पनि काफ्लेले उन्मुक्ति पाएका थिए । यतिबेला पनि काँग्रेस महाधिवेशनमा देउवालाई नै जिताउन सके आफ्नो सबै गलत धन्दामा माफ पाइने र अख्तियारले समेत छुट दिने भन्दै काफ्ले योजनाबद्ध रुपमा लागेको बताइन्छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।