माननीय भनौदाहरु धमाधम पक्राउ

Posted on: October 17, 2019 | views: 301

काठमाडौ । नेपाली समाजमा लामो समयदेखि परिचित एउटा यथार्थपरक उखान छ ‘सानालाई ऐन ठूलालाई चैन ।’ यो उखानले लोकतन्त्रलाई गिज्याइरहँदा पछिल्लो समयमा भने उच्च स्तरका व्यक्ति नै धमाधम पक्राउ पर्नुले कानुनी राजको अनुभूत हुन थालेको पाइएको छ ।

शक्तिमा रहेकाले जतिसुकै अपराध गरे पनि कारबाही नहुने प्रवृत्ति लामो समयदेखि रहँदै आयो । तर, वर्तमान सरकारले अपराध कर्म गरेका र शक्तिमा रहेकालाई समेत धमाधम पक्राउ गर्न थालेपछि भने केही आशा पलाएको छ तर कानुनी राजका यस्ता शृंखलाले निरन्तरता पाउलान् ? सर्वत्र चासोका साथ यस्तै प्रश्न सोध्न थालिएको छ ।

जनताबाट विश्वासको मत पाएर निर्वा्चित भएपछि माननीय (सांसद) बनेका वा त्यसअघि उनीहरूले गरेका गलत क्रियाकलापको धमाधम भेद खुल्न थालेपछि उनीहरू पक्राउ पर्ने शृंखला बढेको हो ।  विगतमा राजनीतिक शक्तिका आडमा विभिन्न गतिविधिमा सक्रिय रहेका सांसद तथा नेताविरुद्ध परेका उजुरीउपर प्रहरीले धमाधम एक्सन लिन थालेपछि उनीहरू पक्राउ परी कानुनी प्रक्रियामा आउन थालेका हुन् ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारको आरोपमा १९ असोजमा पक्राउ परेपछि अन्य माननीयहरू तथा शक्तिमा रहेका अन्य विरुद्ध परेका उजुरीउपर समेत प्रहरीले धमाधम पक्राउ पुर्जी जारी गर्न थालेको छ भने केही सांसद पक्राउ परिसकेका छन् ।

सांसद गुरुङविरुद्ध पक्राउ पुर्जी :

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङलाई पक्राउ गर्न दोलखा प्रहरीले ३५ दिने म्याद जारी गरेको छ ।
दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङलाई ज्यान मार्ने उद्योगको मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले २२ दिनअघि अर्थात् ८ असोजमा नै पक्राउ पुर्जी तामेल गरेको हो । उनीसहित सात जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले बताएको छ ।
गुरुङविरुद्ध दोलखाका वीरध्वज खड्काले २९ वैशाख २०७६ मा काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गराएका थिए । २०७४ वैशाखको स्थानीय निर्वाचनका समयमा खड्कामाथि राजधानीको गौशालामा आक्रमण भएको उजुरीमा उल्लेख छ ।यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।