बेलकोटगढीमा १३८ परिवारले राखे सामूहिक जमरा

Posted on: October 10, 2018 | views: 138

२४ असोज, नुवाकोट । दशैपर्वको अवशरमा नुवाकोटको बेलकोटगढीमा १३८ परिवारले बुधबार घटस्थापना गरी सामूहिक रुपमा जमरा राखेका छन् । बेलकोटगढी नगरपालिका वडा नंं १० स्थित निरञ्जना भगवति मन्दिरमा रहेको कोटघरमा बडादशैं पर्वको लागि ब्राम्हण र दलित समुदायले एकैसाथ सामूहिक जमरा राखेका हुन् ।


पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा विक्रम सम्वत १८०१ मा नुवाकोट माथी बिजयी हासिल गरे पश्चात सुरु भएको सामूहिक जमरा राख्ने परम्परा अन्तरगत निरञ्जना भगवति मन्दिरमा यो वर्षपनि निरन्तरता दिइएको मन्दिरका पूजारी नरनाथ पौडेलले जानकारी दिनुभएको छ । उहाँको अनुसार बेलकोटगढी आसपासका ब्राम्हण, क्षेत्री र दलित समुदायका परिवारले घटस्थापनाको दिन बुधबारको शुभ साइतको अवशरमा एकै स्थानमा जमरा राखेका छन् ।


बेलकोटगढीको आसपासमा रहेका १८ घर परिवार दलित सहित १३८ परिवारले राखेको सामूहिक जमरा आगामी कार्तिक २ गते परेको बिजया दशमीको दिनमा शीरमा लगाउनु अघिसम्म जमरामा दैनिक पूजा, आरधना र जल समेत जमरा राखेका सबै परिवारले आलोपालो रुपमा चढाउने गरेको वडा नं. १० का वडाध्यक्ष पूर्णबहादुर त्रिपाठीले जानकारी दिनुभएको छ । उहाँको अनुसार बडादशैं पर्वको अवशरमा काठमाडौं हनुमानढोकाको बैद्धिक विधि अनुसार नुवाकोटको बेलकोटगढीमा पनि पूजा गरेर जमराराख्ने परम्परालाई यो वर्षपनि यहाँका बासिन्दाले सामूहिक रुपमा निरन्तरता दिइएको छ ।  


निरञ्जना भगवती मन्दिर पौराणिक शक्तिपीठको रुपमा समेत नेपालमा प्रसिद्ध शक्तिपीठको रुपमा पुजिने गरिएको छ । बेलकोटको पाण्डेगाँउ, सुन्दरबजार, बेलकोटगढी, धमले, मिजारगाउं, मैदानटोल, गैरीगाउंका अधिकांश घरको जमरा सामूहिक रुपमा मन्दिरमा नै राख्ने गरिएको छ ।


सामूहिक जमरा राख्ने परम्पराले समाजमा छुवाछुत जस्तो अमानवीय कुप्रथा बिरुद्धको अभियानदेखि सामाजिक रुपमा समेत एकताबद्ध समेत बनाउन सहयोग पुगेको केशव नेपालीले बताउनुभएको छ ।


बेलकोटमा बसोबास गर्दै आएका स्थानीय विश्वकर्मा, मिजार, नेपाली लगायतका १८ दलित परिवार सहित ब्राम्हण र क्षेत्री समुदायले निरञ्जना भगवति मन्दिर परिसर स्थित कोटघरको एकै स्थानमा जमरा राख्ने परम्पराले समाजमा समेत जातीय विभेदको अन्त्य गर्दै सबै धर्म र जातीलाई एकै स्थानमा उभ्याएको छ ।

स्थानीय भीमबहादुर नेपालीले सबै जाती समूहले एकै स्थानमा जमरा राख्ने परम्पराले बेलकोटगढी आसपासमा जातीय विभेद अन्त्य गर्न सहयोग र पारस्पारिक एका कायम गर्न सहयोग पुगेको बताउनुभएको छ ।  
निरञ्जना भगवति मन्दिरमा सामूहिक जमरा राख्न र पूजा सञ्चालनको लागी गुठीको ब्यवस्था भएपनि मन्दिरको गुठी जग्गाबाट कुतवाली उठ्न छाडेपछि धार्मिक परम्परा निरन्तरता दिन समस्या भएपछि स्थानीय सरकारले आर्थिक सहयोग पु-याएको छ ।


नुवाकोट, रसुवा र धादिङमा पर्ने नौ वटा कोटमध्येको एक कोटको रुपमा परिचित बेलकोटगढी धार्मिक, राजनीतिक तथा सामारिक दृष्टिकोणले समेत महत्वपूर्ण मानिने गरिएको छ । सामूहिक रुपमा जमरा राख्ने परम्परालाई झण्डै तीनसय वर्षसम्म दिएको धार्मिक निरन्तरतासँगै अब सामाजिक रुपमा समेत एकताबद्ध भएर समाज विकासको नयाँ उदाहरण  समेत दिनको लागी आफूहरु तल्लिन रहेको वडाध्यक्ष पूर्णबहादुर त्रिपाठीले बताउनुभएको छ ।