चेताङबाट विस्थापित भएका पहिरो पीडितलाई राहत वितरण

Posted on: October 10, 2018 | views: 712

२४  असोज, नुवाकोट । दुप्चेश्वर गाँउपालिकाको वडा नं .१ घ्याङफेदीको चेताङमा गएको पहिरोबाट विस्थापित भएका पीडितलाई दुप्चेश्वर गाँउपालिकाको समन्वयनमा आज खाना पकाउने ग्याँस सहितको चुल्हो र चामल वितरण गरिएको छ ।


गाँउपालिकाको पहलमा आज नेपाल बुद्धिष्ट तामाङ सुधार समिति र नेपाल तामाङ समाज जापानको तर्फबाट सयुक्त रुपमा चेताङमा गएको पहिरोबाट विस्थापित भएर घ्यावरचउरमा बस्दै आएका पीडितलाई दशै पर्वलाई लक्षित गरी राहत वितरण गरिएको गाँउपालिकाको अध्यक्ष योबिन्द्रसिंह तामाङले जानकारी दिनुभएको छ । उहाँको अनुसार  चेताङबाट विस्थापित भएका ४४ घरधुरी सबैलाई बुद्धिष्ट तामाङ सुधार समिति र नेपाल तामाङ समाज जापानले सयुक्त रुपमा एक–एक सिलिण्डर ग्याँस उपलब्ध गराएको छ भने घरको पूर्ण क्षति बेहोरेका ११ परिवारलाई एक–एक बोरा चामल उपलब्ध गराइएको छ ।


ती सँस्थाले दिएको राहतबाट समावेश नभएका बाँकी ३३ परिवारको लागी एक–एक बोरा चामल र एक–एक थान ग्याँस चुल्हो गाँउपालिकाले उपलब्ध गराएको उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिनुभएको छ । पीडितलाई राहत वितरणको लागी नेपाल बुद्धिष्ट तामाङ सुधार समितिका अध्यक्ष कमानसिंह तामाङ, संरक्षकहरु नरेश तामाङ र राजेन्द्र वाइवा, महासचिव गिरीबहादुर तामाङ लगायतको टोली समेत गाँउपालिकाको प्रतिनिधि र कर्मचारीसगै विस्थापितहरु बसोबास गर्दै आएको स्थानमा पुगेका थिए ।


चेताङमा गएको पहिरोलाई लक्षित गर्दै स्थापना गरिएको  गाँउपालिका दैवी प्रकोप उद्धार राहत कोष मार्फत गाँउपालिकामा रहेका जनप्रतिनिधि र कर्मचारीहरुले सहयोग रकम जुटाएर पहिरोबाट विस्थापित भएकालाई दशै पर्वको समयमा खाद्यान्न र खाना पकाउन सहज बनाउनको लागी ग्याँस चुल्हो र चामल उपलब्ध गराएको उहाँले बताउनुभएको छ । गाँउपालिकाले स्थापना गरेको कोषमा समुन्द्रटारमा रहेको रुक्मिणी माध्यामिक विद्यालयले पनि दश हजार रुपैयाँ सहयोग पु¥याएको प्रधानध्यापक होमबहादुर डंगोलले जानकारी दिनुभएको छ ।


गएको भदौ २६ गते गएको पहिरोको कारण घ्याङफेदीको चेताङमा ११ घर पूर्ण रुपमा क्षति पुगेको थियो भने त्यहाँ रहेका अन्य ३३ घर उच्च जोखिममा पुगेपछि विस्थापित भएकालाई गाँउपालिकाले तत्कालको लागी घ्यावर चउरमा घर भाडामा लिएर सुरक्षित पुर्नवासको व्यवस्था मिलाएको छ । पहिरोबाट पीडित भएकालाई राहत स्वरुप यसअघि विस्थापितहरुलाई नै भेटेर गाँउपालिका र जिल्ला प्रशासन कार्यालयले दश–दश हजार रुपैयाँ उपलब्ध गराएको थियो भने रेडक्रस समुन्द्रटार उपशाखा र नेकपाको प्रदेस नं. ३ का सहइञ्चार्ज हितबहादुर तामाङ, प्रदेस नं. ३ का उपसभामुख राधिका तामाङ सहितले खाद्यान्न तथा लत्तकपडा राहत उपलब्ध गराएका थिए ।


विभिन्न सँस्थाले उपलब्ध गराएको राहत सकिने अबस्था भएको र लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएकाले दाउरा कटानमा समस्या भोग्दै आएका विस्थापितलाई गाँउपालिकाले विभिन्न सस्थासंग समन्वयन गरी उपलब्ध गराएको चामल र सिलिण्डर सहितको ग्याँसचुल्होले दशै पर्व मनाउनको लागी सहज भएको बताएका छन् ।