पहिरोमा फसेका बृद्ध दम्पत्तिको नेपाली सेनाबाट उद्धार

Posted on: September 13, 2018 | views: 248

२८ भदौ, नुवाकोट । दुप्चेश्वर गाँउपालिका वडा नं. १ साविक घ्याङफेदी गाविसको वडा नं. ९ चेताङमा पहिरो गएपछि त्यहाँ फसेका बृद्ध दम्पत्तिलाई नेपाली सेनाको आफ्नै हेलिकप्टर मार्फत त्याहाँबाट उद्धार गरिएको छ ।  


युद्धभैरव गण काठमाडौका सहसेनानी महेन्द्रचन्द ठकुरीको नेतृत्वमा रहेको विशेष टोलीमा रहेको नेपाली सेनाले हिजो साँझ ६ बजेदेखि उद्धार सुरु गरी ४० मिनेटको प्रयासमा पहिरोमा फसेका ७३ वर्षका दोर्जे शेर्पा र उहाँको श्रीमति ४२ वर्षीया याङ्चेन शेर्पालाई उद्धार गरी विदुर ल्याएको हो । उहाँहरुको अहिले सैन्य तालीम केन्द्र मैथली ब्यारेकमा नेपाली सेनाको चिकित्सकहरु बाट उपचार गरी अबस्था सामान्य भएको छ । स्वास्थ्य अबस्था सामान्य भएपछि उहाँहरुलाई आज बिहान आफन्तको जिम्मा लगाइएको छ ।


हिजो बिहान पहिरोले घर लडाएपछि खुल्ला स्थानमा वर्षाको पानीले भिजेर बसेको,  चारैतिरबाट पहिरोले घेरेपछि अत्तालिएर कमजोर भएको शरीरमा उपचार पश्चात दुवै जनाको अबस्था सामान्य भएकाले आफन्त बोलाएर जिम्मा लागाएको सैन्य तालीम केन्द्रका प्रमुख रबिन्द्र केसीले जानकारी दिनुभएको छ ।


अबिरल वर्षा सगै बगेको पहिरोले त्यहाँ रहेका पाँच घरमा क्षति पु¥याएको र ती घरका अरु मानिसहरु भागेर सुरक्षित स्थानतर्फ लागेपनि दोर्जे र उहाँको श्रीमति याङ्चेन भाग्न नसकि पहिरोमा फसेको खबर पाएपछि नेपाली सेनाको मुख्यालयसंगको समन्वयनमा उहाँहरुको उद्धार गरिएको श्रीनाथ गणका गणपति अञ्जन रुपाखेतीले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार पहिरोमा फसेकालाई उद्धार गर्न हेलिकोप्टर लिएर जान घ्याङफेदीको भूगोलको चुनौती, निरन्तर परिरहेको वर्षा, कुहिरो र हुस्सु सहित साँझ ६ बजेको समय भइसकेकाले अध्यारो वातावरणमा पनि सेनाले जोखिम मोलेर बृद्ध दम्पतीलाई उद्धार गर्न सफल भएको हो ।
हिजो बिहान आएको पहिरोमा दुई जना फसेको जानकारी स्थानीयबासीले दिएपछि त्यसलगत्तै उद्धारको लागी भएको प्रयास स्वरुप युद्धभैरव गण काठमाडौबाट आएको सहसेनानी महेन्द्रचन्द ठकुरीको नेतृत्वको विशेष टोलीका सैनिकहरु श्याम विष्ट, मोहन दाहाल, दिलबहादुर श्रेष्ठ, नवराज पाण्डे सहितले उहाँहरुलाई उद्धार गरी उपचारको लागी विदुर ल्याएको हो ।


विशेष तालीम लिएका सैनिकहरुले डोरी मार्फत तल झरेर उडिरहेको हेलिकोप्टरमा झुण्डिएर उहाँहरुलाई उद्धार गरी आफू सहित झुण्डाएर नै घ्याङफेदीदेखि सैन्य तालीम केन्द्र विदुरसम्म ल्याएका थिए । नेपाली सेनाले विपद्को समयमा गर्ने उद्धारको लागी विशेष तालीम प्राप्त पश्चात घ्याङफेदीमा भएको परिचालनलाई सूचना पाएको छोटो समय, भौगोलिक कठिनाई, अध्यारो वातावरण, उद्धार गर्नुपर्ने व्यक्तिहरु ओढारमा बसिरहेकाले खोज्नको लागी लागेको समय लगायतका कारण ठूलो उपलब्धीको रुपमा लिएको जनाएको छ ।
पहिरोले चेताङमा रहेका कामी शेर्पा, सोनम शेर्पा, आङबाबु शेर्पा, सनम शेर्पा र पुतली शेपाको घर पूर्ण रुपमा क्षति पु-याएको छ भने ती घरमा रहेका अन्नपात, भाडावर्तन, धनसम्पत्ति, पशु–चौपाय समेत त्यही छोडेर मानिसहरु सुरक्षित स्थानतर्फ लागेकाले क्षतिको विवरण एकीन नभएको गाँउपालिका अध्यक्ष योबिन्द्रसिंह तामाङले जानकारी दिनुभएको छ ।


उहाँको अनुसार पहिरोले चेताङ भन्दा तल्लोगाँउ घ्यावर बस्तीलाई समेत जोखिम बनाएको छ । त्यहाँ ४० भन्दा बढी घरपरिवार बसोबास गर्दै आएकाले अन्यत्र जाने स्थान नहुदाँ उनीहरु अहिलेपनि जोखिम बस्तीमा नै बस्न बाध्य भएका छन् ।
पछिल्लो समय जारी रहेको निरन्तरको वर्षाको कारण हिजो मध्यान्ह माङ्गेन खोला थुनिएपछि ठूलो क्षतिको त्रास उत्पन्न भएपनि चार घण्टापछि आफै खोलिएकाले राहत मिलेको हो । पहिरोले आवास क्षति बनाएको तथा घर बस्ती जोखिममा परेको स्थानमा आज गाँउपालिकाको अध्यक्ष योबिन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्य सहितको टोली घटनास्थलमा पुगेर राहत वितरण गरी सुरक्षित स्थानमा बासोबासको व्यवस्थापन मिलाउने तयारी गरेको छ ।


विनासकारी भूकम्प पश्चात चेताङ गाँउ पहिरोले जोखिममा रहेको त्यस स्थान मानव बसोबासको लागी योग्य नभएकाले अब सुरक्षित स्थानमा स्थान्तरणको समेत गाँउपालिकाले व्यबस्था मिलाउने तयारी अघि बढाएको जनाएको छ ।


घटनास्थलमा आज बिहान हेलिकोप्टर मार्फत प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, प्रदेससभा सदस्य एवम् तीन नं. प्रदेस उपसभामुख राधिका तामाङ सहितको टोलीले अवलोकन तथा त्यहाँको बस्तुस्थित बुझ्न घटनास्थलमा पुग्नुभएको छ । उहाँहरुले पहिरोबाट पीडित भएका  मध्ये केही घाइते भएकाले उनीहरुलाई उपचारको लागी हेलिकोप्टर मार्फत काठमाडौ पठाउन लागिएको र जोखिम बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थान्तरण गराउनको लागी स्थानीय सरोकारवालाहरुसंग छलफल भइरहेको बताउनुभएको छ ।
यसैगरी, घटनास्थलमा जिल्ला प्रहरी कार्यालय नुवाकोट, जिल्ला प्रशासन कार्यालय नुवाकोट लगायतका सरकारी कार्यालयका प्रतिनिधिहरु पनि घटनास्थल तर्फ गएका छन् ।