विक्री भएन चिनियाँ अनुदानको इन्डक्सन,मूल्य सुनेपछि झस्कन्छन सर्वसाधारण

Posted on: May 02, 2016 | views: 230

काठमाडौं,माघ ११ । सरकारले चीनबाट अनुदानमा आएको इन्डक्सन चुल्होको मूल्य अत्यधीक बढी तोकेपछि उपभोक्ताको आकर्षण ‘शून्य’ देखिएको छ । माघ ६ गतेदेखि चिनियाँ एकमुखे इन्डक्सनको बिक्री सुरु भएपनि अझैसम्म एउटा पनि बिकेको छैन । नेशनल ट्रेडिङले पहिलो चरणमा १३ सय इन्डक्सनको टेकुस्थित बिक्री केन्दमा बिक्री खुला गरिएको छ ।
सरकारले नै अप्रत्यासित र बजारमा पर्दै नपर्ने मूल्य राखेपछि सर्वसाधारण उपभोक्ता इन्डक्सन किन्न गएका छैनन् । ‘किन्न आएका पनि मूल्य सुनेरै उल्टै सराप्दै फर्किन्छन्’ नेशनल ट्रेडिङका महाप्रवन्धक सत्यनारायण मेहेताले भने-‘यो मूल्य इन्डक्सन किन्न एउटै उपभोक्ता नआउने भए ।’
एउटै इन्डक्सन पनि नबिकेपछि अब नेशनल ट्रेडिङले नयाँ मूल्य तोक्न प्रस्ताव लैजाने तयारी गरेको छ । ‘नागरिकको सहजताका लागि आएको सहयोग हो । त्यसैले जनतालाई सकेसम्म सस्तो मूल्यमा बेच्नुपर्छ’ मेहेताले भने-‘फेरि वाणिज्यमा मूल्य घटाउन प्रस्ताव लैजान्छौं ।’
नेशनल ट्रेडिङले यसअघि पनि इन्डक्सनको मूल्य ३५ सय रुपैयाँ हुनुपर्ने भन्दै सिफारिस गरेको थियो । तर, सरकारले १२ हजार रुपैयाँ निर्धारण गरेको थियो । भारतबाट आउने एकमुखे इन्डक्सन चुल्हो भने नेपाली बजारमा ३ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म पर्छ । यस्तै गुणस्तर र ब्राण्डको चिनियाा चुल्हो पनि ५ देखि ६ हजार रुपैयासम्म पाइन्छ ।
मूल्यसूचीका आधारमा ढुवानी खर्च र भन्सार लागत अनुसार यो इन्डक्सन ३५ सय रुपैयाँमा बेच्दा सरकारलाई नाफा हुने नेशनल ट्रेडिङका अधिकारी बताउँछन् । तर, सरकारले चीनले कटौति गरेको अनुदान रकम पनि पूर्ति हुने गरी इन्डक्सन बेच्न मूल्य तोकेको हो । अनलाईन खबरले समाचार लेखेको छ । 
आपूर्ति मन्त्रालयले इन्डक्सन ९ हजार २ सय रुपैयाँमा बेच्नुपर्ने प्रस्ताव अर्थमन्त्रालयमा लगेको थियो । अर्थ मन्त्रालयले इन्डक्सनबापत चीनले कट्टा गर्ने अनुदान ‘रिकभर’ हुने गरीे मूल्य ११ हजार ९ सय ९६ रुपैयाँ बनाउन भनेको हो ।
यी इन्डक्सन चूल्होको मूल्य धेरै राखिएपछि सर्वसाधारण खासै आकषिर्त नहुने भन्दै बिना कुनै कागजात खरिद गर्नसक्ने व्यवस्था मिलाइएको छ । चीनबाट अनुदानमा आएका थप १० हजार इन्डक्सनको सरकारले अझै भन्सार छुटाएको छैन ।