डा. केसी अनशन प्रकरण : आपसमा गलाउने दाउ

Posted on: July 23, 2018 | views: 330

काठमाडौं । डा. गोविन्द केसीको लम्बिँदो आमरण अनशनले सत्ता र प्रतिपक्षीबीचको सम्बन्धमा पनि तिक्तता बढाउँदै लगेको छ । चार दिनयता केसी पक्षधरसँग सत्तापक्षको औपचारिक वार्ता हुन नसकिरहेका बेला केसीको अनशनका विषयमा सत्ता–प्रतिपक्ष एकअर्कालाई कमजोर बनाउने रणनीतिक तयारीमा केन्द्रित हुन थालेका हुन् ।  अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । प्रतिपक्षी कांग्रेस केसी प्रकरणमा सत्तापक्षलाई गलाउने योजनामा देखिएको छ भने सत्तारुढ नेकपा पनि डा. केसीको अनशन राजनीति–प्रेरित रहेको निष्र्कषसहित सरकारको प्रतिरक्षामा उत्रने तयारीमा लागेको छ ।

कांग्रेसले सडक आन्दोलनको घोषणा गरेकै दिन प्रधानमन्त्री केपी ओलीले सरकारको बचाउ गर्न सत्तारुढ नेकपाका नेता–कार्यकर्तालाई अपिल गरेसँगै सत्ता र प्रतिपक्षबीच द्वन्द्वको संकेत देखिएको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवा सरकारविरुद्धको मोर्चाबन्दीमा क्रियाशील देखिन थालेपछि सत्तापक्षले पनि आफ्नो रणनीति बनाउन लागेको हो । कांग्रेस सभापति देउवाले आइतबार पार्टी कार्यालय सानेपामा आयोजित बीपी स्मृति दिवसको कार्यक्रममा आफ्ना कार्यकर्तालाई कम्युनिस्टविरुद्ध आन्दोलनमा उत्रन निर्देशन मात्रै दिएनन्, आफ्नो पूर्वनिर्धारित भारत भ्रमण समेत स्थगित गरे ।

देउवाले सरकारविरुद्ध आन्दोलन प्रभावकारी बनाउन भ्रमण स्थगित गरेको बताएका छन् । उनले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेता–कार्यकर्तालाई अपिल गर्दै भने, ‘कांग्रेसले हिजो पनि प्रजातन्त्रका लागि राणा र पञ्चायती शासकहरूसँग लडेकै थियो, अहिले पनि कम्युनिस्टहरूका विरुद्ध लडने बेला आएको छ, लड्छौं ।’