च्याम्पियन्स लिगको उपाधिमा रियल मड्रिडको ह्याट्रिक, लिभरपुल ३-१ ले पराजित

Posted on: May 27, 2018 | views: 301

काठमाडौं ।

च्याम्पियन्स लिग फुटबलको उपाधिमा ह्याट्रिक गर्दै रियल मड्रिडले लगातार तेस्रोपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

फाइनलमा इंग्लिस क्लब लिभरपुललाई ३–१ ले हराउँदै रियल मड्रिडले उपाधि जितेको हो ।

युक्रेनको राजधानी किएभमा भएको खेलमा रियल मड्रिड च्याम्पियन्स लिगको इतिहासमा लगातार तेस्रो सिजन उपाधि जित्ने पहिलो क्लब बनेको छ ।

लिभरपुलका मुख्य हतियार मोहम्मद सलाह चोटका कारण खेलको आधा घण्टामा नै मैदानबाट बाहिरिनु लिभरपुलका लागि दूर्भाग्य बन्न पुग्यो । पहिलो हाफमा सर्जियो रामोससँग जुधेपछि काँधमा चोट बोक्दै ३० औं मिनेटमा उनले मैदान छाडेका थिए ।

विश्वकप नजिकिँदै गर्दा इन्जिप्टका स्ट्राइकर सलाहले बाहिरिने क्रममा आँसु झारेका थिए । ४२ औं मिनेटमा बेन्जेमाले गोल गरेपनि रेफ्रीले अफसाइड दिंदा लिभरपुरलाई घाटा लाग्न गयो । रोनाल्डोको हेडरलाई लिभरपुलका गोलकिपर क्यारिसले रोकेपछि रिबाउन्डमा बेन्जेमाको प्रहार अफसाइड भयो ।  खेलको ३६ औं मिनेटमा रियलका फुल ब्याक ड्यानी कार्बाहाल पनि चोट बोक्दै बाहिरीन पुगे ।


पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा चार गोल भए । जसमा लिभरपुलका गोलकिपरले दुई पटक ठूलो गल्ती गर्दा रियल च्याम्पियन बन्यो ।

क्यारियसले हातले पास दिने क्रममा बेन्जेमाले उनको पासलाई ब्लक गर्दै ५० औँ मिनेटमा उत्कृष्ट गोल गरे । जसका कारण रियलले एक गोलको अग्रता बनायो ।  ५५ औँ मिनेटमा लिभरपुलले गरेको गोलमा खेल एक–एक को बराबरीमा पुग्यो । लोभ्रेनको हेडपासमा मानेले गोल गर्दै खेल बराबरीमा लगेका थिए ।

दोस्रो हाफमा इस्कोको स्थानमा मैदान प्रवेश गरेका ग्यारेथ बेलले ६३ औं मिनेटमा उत्कृष्ट गोल गर्दै रियललाई अग्रता दिलाए । लिभरपुलका लागि मानेले ७० औं मिनेटमा गोल गर्ने प्रयास गरे पनि उनको प्रहार फार पोस्टमा लाग्दै बाहिरियो ।

लिभरपुलले फेरि क्यारियासको गल्तीमा ८३ औं मिनेटमा अर्को गोलको सामना गर्यो । बेलले करिब ३५ मिनेटमा गरेको प्रहारलाई क्यारियसले हातबाट फुत्काएपछि रियलको जित निश्चित भयो । रियलले उपाधि जित्दा उसका प्रशिक्षक जिनेदिन जिदानलाई विश्वका उत्कृष्ट प्रशिक्षकको सूचिमा राखेको छ ।


उनले लिभरपुलका बोब पेइस्ले र रियालका पूर्व म्यानेजर कार्लो एन्सेलोटिसँग बराबरी पनि गरेका छन् । च्याम्पियन्स लिगको उपाधि लगातार तीन पटक जितेपछि उनीमाथि लगाईंदै आएका आरोप फिक्का बन्न पुगेका छन् भने जिदानको प्रशिक्षणलाई विश्वका उत्कृष्ठ प्रशिक्षकहरुको रुपमा ब्याख्या गर्न थालिएको छ ।