उत्तर कोरियाली शासक किम अचानक चीन जानुको अर्थ के ?

Posted on: March 30, 2018 | views: 142

काठमाडौं  । उत्तर कोरियाली शासक किम जोङ उन अचानक चीन भ्रमणमा जानु र त्यहाँका राष्ट्रपति सी जिनपिङसित भेटघाट गर्नु संसारलाई हैरान बनाउने विषय हो । उनको यस भ्रमणबाट उत्तर कोरियाको एक मात्र सहयोगी मित्र चीनसित उसको कति गहिरो सम्बन्ध छ भन्ने प्रस्ट हुन्छ । उत्तर कोरियाको अमेरिका र दक्षिण कोरियाका साथ प्रस्तावित शिखर सम्मेलनअघि सम्पन्न यस भेटघाटलाई निकै अर्थपूर्ण मानिँदै छ । मानिसहरूको ध्यान यस भेटवार्तापछि किमको अघिल्लो कदम के हुनेछ र विश्व राजनीतिमा यसको के असर हुनेछ भन्नेमा केन्द्रित छ ।

दक्षिण कोरियास्थित बिबिसी संवाददाता लाउरा बिकरका अनुसार किम जोङ उन सही समयमा चीनसितको आफ्नो सम्बन्ध सुधार गरिरहेका छन् । बिकर भन्छिन्– उत्तर कोरियामाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धमाथि सी जिनपिङको सहमतिपछि दुवै देशको सम्बन्धमा तिक्तता आएको थियो । उनी अगाडि भन्छिन्– पछिल्लो वर्ष उत्तर कोरियाले प्योङयाङ यात्रामा आइरहेका चिनियाँ दूतलाई फिर्ता पठाइदिएको थियो । यो सबका बाबजुद चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनिरह्यो र लामो समयसम्म उसको सहयोगी पनि ।

बिबिसी संवाददाता लाउरा थप अगाडि भन्छिन्– तपाईं विश्वतर्फ अघि बढिरहनुभएको छ भने त्यतिखेर तपाईंका साथमा कोही त हुनैपर्छ । उत्तर कोरियाका युवा नेता दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसित भेटघाट गर्न गइरहेका छन् । यस्तोमा सी जिनपिङ आफूलाई तिरस्कृत महसुस गरिरहेका थिए ।

किम जोङ उनको चलाखीपूर्ण निर्णय

बिकरका अनुसार किम जोङ उनले आफ्नी पत्नीका साथमा पहिलो विदेश यात्रा गरेर त्यसको भर्पाई गर्न सफल भएका छन् । हालैमा डोनाल्ड ट्रम्पले नयाँ विदेशमन्त्रीमा माइक पम्पियो र सुरक्षा सल्लाहकारमा जोन बोल्टनको नियुक्ति गरेका थिए । यस्तोमा किम जोङ उन चीन जानु उनको एक चलाखीपूर्ण निर्णय हो । बिकरका अनुसार सायद अमेरिकासितको आफ्नो संवादको अन्त्य सुखद नहुने हो कि भन्ने चिन्ताका कारण किम जोङ उन आफूसित शक्तिशाली चीनको साथ रहेको सन्देश दिन चाहन्थे ।

उत्तर कोरियाबाट चीनलाई फाइदा

एक अनुमानका अनुसार उत्तर कोरियाको विदेशी व्यापारमा चीनको हिस्सा ९० प्रतिशतसम्म छ । चीन खानपिनका सामग्री, तेल र औद्योगिक उपकरणको सबैभन्दा ठूलो निर्यातक हो । जहिलेसुकै उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध थपिएको छ, चीनले उसलाई सहयोग गरिरहेको छ । तर, पछिल्ला केही महिनामा दुवै देशबीचको सम्बन्ध फेरिएको छ । चीनले पछिल्लो वर्ष यो घोषणा गरेको थियो कि ऊ उत्तर कोरियाबाट आयात हुने कोइलामा कमी ल्याउनेछ । निर्यातको मामिलामा उत्तर कोरिया सबैभन्दा बढी कोइला बेच्ने गर्छ ।

आणविक हतियारबारे दुवै देशको सोच

बिबिसीका चीनस्थिति संवाददाता स्टेफल म्याकडोनलका अनुसार दुवै नेताको भेटवार्ता संसारलाई आश्चर्यचकित पार्ने विषय हो । उनी भन्छन्– चिनियाँ मिडियाले दुवै नेताबारे जुन टिप्पणी गरेका छन्, त्यो साँचो हो भने यो चकित पार्ने खालकै छ । उनी अगाडि भन्छन्– मिडियाको रिपोर्टअनुसार किम जोङ उनले सी जिनपिङसित भनेका छन्, दुवै देशबीच जुन स्थिति सिर्जना भइरहेको थियो, त्यसबाट उनलाई आफू स्वयं बेइजिङ पुग्नु अत्यावश्यक भएको महसुस भएको थियो ।

बिबिसी हिन्दीलाई उदृत गर्दै नयाँ पत्रिकाले लेखेको छ - उता मिडियाका अनुसार नै सी जिनपिङले भनेका छन्– चीन आफ्नो लक्ष्यमा अडिग छ कि यस प्रायद्वीपमा आणविक हतियार नष्ट होस् । यसमा किम जोङले प्रतिक्रिया दिएका छन् कि आणविक हतियार नष्ट गर्न उनी प्रतिबद्ध छन् । सुन्नमा यो अलिक अनौठो लागे पनि यसका पछाडि कारण छन् । उनी यस विषयमा बहस गर्न सक्छन् कि यदि उत्तर कोरिया सुरक्षित महसुस गरिरहेको छ भने यस्ता हतियारको आवश्यकता किन पर्छ ?