संघीय संसदका दुवै सदनको बैठक आजदेखि,यस्तो छ पहिलो दिनको कार्यसूची

Posted on: March 05, 2018 | views: 152

काठमाडौं । नेपालको संघीय संसदको पहिलो अधिवेशन आज बस्दैछ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधिसभा पहिलो अधिवेशन संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आइतबार दुवै सदनका संसदले सपथ ग्रहण गरेपछि पहिलो बैठक आज बस्न लागेको हो । पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

आज दिउसो ४ बजेका लागि दुवै सदनको बैठक बोलाइएको छ । पहिलो बैठकमा अधिवेशन आह्वान भएको जानकारीसहितको राष्ट्रपतिबाट प्राप्त पत्र भने पढेर सुनाइने छ ।

प्रतिनिधिसभाको पहिलो बैठकले संसद सचिवालयले आगामी कार्यसूची तयारीका लागि तयार पारेको अन्तरिम कार्यविधि पारित गर्ने छ । कार्य सञ्चालन नियमावली नबनुञ्जेलका लागि अन्तरिम कार्याविधि बनाएर काम चलाउनु पर्छ । सचिवालयले आइतबार नै कार्यविधिको मस्यौदा तयार पारिसकेको छ । त्यस्तै आज नै सभामुख निर्वाचनको मिति समेत घोषणा हुनेछ ।
राष्ट्रिय सभाको पहिलो बैठकले राष्ट्रिय सभा बैठक सञ्चालनको अन्तरिम कार्यविधि पारित गरेर अध्यक्षको निर्वाचन मिति तोक्नेछ ।
सचिवालयले तयार पारेको अन्तरिम कार्यविधि आइतबारको सर्वदलीय बैठकले स्वीकृत गरिसकेकाले सो कार्यविधि सोमबारको दुवै सदनको पहिलो बैठकले पारित गर्न लागेको हो ।

मुलुकका प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपांगता वा अल्पसंख्यकसहित आठ जनाका दरले राष्ट्रियसभामा प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था रहेको छ ।
राष्ट्रियसभामा नेकपा एमाले का २७, नेपाली काँग्रेसका १३, नेकपा माओवादी केन्द्रका १२, राष्ट्रिय जनता पार्टी दुई र संघीय समाजवादी पार्टी नेपालका दुई जना सदस्यको प्रतिनिधित्व रहेको छ ।

पहिलो बैठकको कार्यसूची :

पहिलो बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान भएको जानकारीसहितको पत्र पढेर सुनाइने कार्यसूचि छ । संसद्को पहिलो बैठकले सभामुख चयन, प्रधानमन्त्रीले विश्वासको मत लिने र राष्ट्रिय सभाका अध्यक्ष चयनको औपचारिक मिति तय गर्नेछ । दुवै सदनको पहिलो बैठकमा आ–आफ्नो सभाको बैठक सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधि प्रस्तुत हुनेछ ।

सभामुख र अध्यक्षको निर्वाचन मिती :

प्रतिनिधिसभाका सभामुखका लागि फागुन २६ गते चुनावको मिति तोक्ने तयारी छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा २७ गते विश्वासको मत लिने गरी मिति निर्धारण हुनेछ । संसद् सुरु भएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान रहेकाले सभामुखको चुनावको भोलिपल्ट यो कार्यसूची राखिएको हो ।

राष्ट्रिय सभाले फागुन ३० गते अध्यक्ष चयन गर्ने गरी मिति तय गर्ने तयारी छ । सभामुख र अध्यक्षको चयनपछि मात्र उपसभामुख र उपाध्यक्ष चयनको मिति तय हुने संसद सचिवालयले जनाएको छ ।