यस्तो पो प्रेम ! जसले प्रेम पाउन जमिनदारी त्यागे

Posted on: February 14, 2018 | views: 277

काठमाडौं । जर्मन तानाशाह हिटलर भन्थे, ‘प्रेम होइन, युद्ध गर्नुस्। किनभने, युद्धमा तपाईं कि मर्नुहुन्छ कि बाँच्नुहुन्छ। तर, प्रेममा तपाईं न बाँच्नुहुन्छ, न मर्नुहुन्छ।’सत्यनारायण दास यादवले प्रेम गरे। र, प्रेम गरेको ‘अपराध’ मा जीवनभर ‘मर्नु न बाँच्नु’को स्थिति झेलिरहे। धनाढ्य जमिनदारको छोरा सत्यनारायण एक मुस्लिम युवती रसुलियाको प्रेममा परे। ०३१–३२ सालतिर नेपालमा उनको प्रेम दुस्साहस थियो। तर हैसियत, जात, धर्म सबै पर्खाल नाघेर उनको प्रेमले विद्रोह गर्‍यो।

जमिनदारी प्रथाबारे सिरहातिर आज पनि अनेक कहावत छन्। जमिनदारहरू हजारौं बिघा जमिनका मालिक थिए। हात्ती पाल्थे। घरमा सयौं नोकरचाकर हुन्थे। यस्तो पनि भनिन्थ्यो कि गाउँमा नयाँ बुहारी भित्र्याउँदा पहिलो रात जमिनदारलाई सुम्पनुपर्थ्यो। सात खुन माफ थियो जमिनदारका लागि। कानुन उनीहरूकै मुठीमा थियो। सत्यनारायण दास यादवको परिवार पनि जमिनदार थियो। उनले आफ्नै घरमा काम गर्न आउने एकजना गरिब मुस्लिम युवतीलाई प्रेम गरे। र, त्यसैको सजायबापत महिनौं जन्जिरमा बाँधिए। घरबाट निकालिए। फुटपाथमा पुगे। जिन्दगीभर अभाव झेले। त्यो दुःखको सिलसिलाले आज ६३ वर्षको उमेरसम्म उनलाई पछ्याइरहेको छ।

माघ अन्तिम साता काठमाडौं, बानेश्वरको अँध्यारो डेरामा भेट्दा उनी एक्लै धुम्धुम्ती बसिरहेका थिए। भर्खरै नबाज पढेर सकाएका थिए। गोजीमा राखेका थिए सेतो टोपी। खरानी रङको खास्टो गम्लङ्ङ ओडेका थिए। सेतै फुलेको थियो कपाल। माघको मधुरो घाम मुस्किलले छिर्दै थियो कोठामा।

पटक पटक ताकेता गरियो तर सुरुमा उनले आफ्नो प्रेम इतिहास खोल्न चाहेनन्। आफ्नै छोराको अघि प्रेममय दिनहरूको खुला बयान गर्न धक थियो। सायद छोराले कुरा बुझे, बाहिरिए।

४०–४२ वर्षअघि एउटा प्रेमकथा यसरी अंकुराएको थियो

त्यो दिन असारको झरीले देहाती माटो लछप्पै भिजेको थियो। खेतमा नारिएका थिए दर्जनौं हल गोरु। कोही ब्याडमा धानका बीउ उखेलिरहेका रहे, कोही छुपुछुपु धान रोपिरहेका थिए। एउटा उत्सव चलिरहेको थियो खेतमा। त्यही उत्सवकै बीच एक जना सुकिलो अल्लारे युवा खेतको आलीमा उभिन आइपुगे। हिलाम्मे खेतमा धान रोपिरहेका रोपाहारहरूलाई एकतमासले हेरिरहेका थिए। एक जना सुन्दरीको हँसिलो मुहारमा पुगेर टक्क रोकिए उनका आँखा। ती युवा थिए, जमिनदार हृदयनारायणका कान्छा छोरा सत्यनारायण। उनलाई परिवारमा मायाले ‘भृगु’ भनेर बोलाउँथे।

विहारमा म्याट्रिक पढ्न बसेका उनी बिदामा गाउँ आउँदा टहलिन खेततिर निस्किएका थिए। सत्यनारायणले ती युवतीलाई धेरैबेर एकोहोरो हेरिरहे। उनी थिइन्, १६ वर्षीया रसुलिया खातुन। सत्यनारायणलाई अहिले पनि उनको रूप र बान्कीको ताजा स्मृति छ। भन्छन्, ‘उनी गोरी थिइन्। हँसिलो चेहरा, मिलेको जिउडाल। भुतुक्कै पार्ने मुस्कान। रसुलिया परीजस्तै थिइन्।’

प्रेमिकाका लागि धर्म बदलेर अल्लाउद्दिन बनेका सत्यनारायण भन्छन्, ‘रसुलिया के साथ सादी करके जिन्दगी गुजरदिया।’

रसुलिया गरिब मुस्लिम परिवारकी एक्ली छोरी। उनको दुई पुस्ताले सत्यनारायणको खेतमा काम गरिसकेको थियो। उनी पनि आमासँगै धान रोप्न आएकी थिइन्। उनी औरही गाउँकै सुन्दर मुस्लिम युवती थिइन्। उनको सुन्दरताबारे गाउँदेखि परपरसम्म चर्चा हुन्थ्यो। सत्यनारायण पनि हेरेको हेर्‍यै भए।


सिरहा, औरहीका सत्यनारायणका बाजे तिलकदास यादव कहलिएका जमिनदार। उनीसँग सयौँ बिघा खेत थियो। सात भाइ छोरा थिए उनका। जसमध्ये काइँला छोरा हृदयनारायण उनका बुबा थिए।

रसुलियालाई देखेपछि उनको जिन्दगी सदाका लागि बदलियो। रसुलिया खेतमा काम गर्न आएको बेला उनी खेतमै पुग्थे। नआएको दिन रसुलियाकै घर छेउछाउ जान्थे। उनलाई भेट्ने अनेक बहाना खोज्थे। बिनाकाम रसुलियाको घरको चक्कर काट्थे। ‘म त उसको दिवाना भइसकेको थिएँ,’ उनी सम्झन्छन्।

रसुलियाले सत्यनारायणको भाव बुझ्न थालिन्। गरिब परिवारमा जन्मिएकी रसुलियासँग जमिनदारको छोरालाई मनमा राख्ने हैसियत थिएन। सत्यनारायण भने उनको मायामा डुबिसकेका थिए। तर, डर थियो परिवारको र समाजको। एउटा कट्टर हिन्दू परिवार, अर्को कट्टर मुस्लिम परिवार। एउटा फुसको झुपडीबाट तारा गन्ने परिवार। अर्को भव्य बंगलाबाट जूनताराको स्वाद लिने परिवार १

स्कुल बिदामा आएका सत्यनारायण फर्केर पढ्न गएनन्। रसुलियाको मायामा डुब्न थाले। परीक्षा नै दिएनन्। ‘पढ्नै गइनँ, फेल भएँ नि,’ उनी विगत सम्झन्छन्।’ हरेक दिन लुकीलुकी रसुलियालाई भेट्नु, मनको भावना साटासाट गर्नु अब उनको दैनिकी हुन थाल्यो। भेट्न नपाएको दिन उनी पागलजस्तै हुन्थे।

उनीहरूको प्रेमबारे गाउँमा गाइँगुइँ हल्ला चल्न थाल्यो। कान्छो छोरा पढ्न नजानु, आफ्नै खेतमा काम गर्न आउने गरिब मुसलमानको छोरीसँग नाम जोडेर गाउँलेले कुरा काट्नु, बुबा हृदयनारायणको मनमा चिसो पस्न थाल्यो। सत्यनारायणसँग स्पष्टीकरण लिए, सम्झाए, फकाए। तर, भोलिपल्ट सत्यनारायण रसुलियाको घर पुगिहाल्थे। हैरान भएपछि उनका दाजु र बुबाले उनलाई पिट्न थाले। जन्जिरले बाँधेर राख्न थाले। ‘म रसुलियाका खातिर जतिसुकै यातना पनि भोग्न तयार थिएँ,’ उनी अतीतमा फर्किन्छन्, ‘उनीबिना बाँच्नै नसक्ने भइसकेको थिएँ। मैले बुबा र दाजुलाई सबथोक त्याग्न तयार छु तर रसुलियालाई छाड्न सक्दिनँ भनेँ।’

रसुलियाले सत्यनारायणको प्रेम स्वीकार गरिसकेकी थिइन्। लुकीलुकी, भागीभागी भेट्न थाले उनीहरू। परालको कुन्युपछाडि, लहरी घारी, खेतको ढिस्को उनीहरूका ‘डेटिङ स्पट’ थिए। मानिसहरूले झनै कुरा काट्न थाले। हृदयनारायणको घरमा तनावका तलाहरू थपिए। लोकलाजले पिरोल्न थाल्यो हृदयनारायणलाई। छोरालाई पटकपटक सम्झाउँथे। तर, प्रेमी सत्यनारायणको एउटै रटान थियो, एउटै धुन थियो ‘म रसुलियालाई माया गर्छु। उसैसँग जीवन बिताउँछु।’

सत्यनारायणकी आमालाई भने यो सम्बन्धमा कुनै आपत्ति थिएन। छोराका लागि उनी समाजसँग जुध्न तयार थिइन् तर श्रीमान्का अघि निरीह। कुनै पनि हालतमा मुसलमान र गरिब रसुलियालाई बुहारी बनाउन राजी भएनन् हृदयनारायण। अन्तिममा उनले जुक्ति निकाले र छोरालाई भने, ‘त्यो केटीबिना तँ बाँच्नै सक्दैनस् भने, उसलाई ‘रखैल’ बनाएर राख्। तर, बिहेचाहिँ हामीले भनेको जात मिल्ने केटीसँग गर्।’

सत्यनारायणले बाको प्रस्तावलाई ठाडै अस्वीकार गरिदिए। ‘आफ्नी मनकी रानीलाई म कसरी ‘रखैल’ बनाएर राख्न सक्थेँ ? ’ उनी भन्छन्, ‘त्यसपछि फेरि मलाई यातना दिन थालियो। तर, म गल्नेवाला थिइनँ।’

सत्यनारायणको परिवारले अन्तिम अस्त्र प्रहार गर्ने योजना बनायो। खान्दानका सबै सदस्यलाई भेला गरेर उनलाई प्रश्न गरियो  ‘ल भन् भृगु ! जमिनदारको जीवन, दौलत, बुबाआमा, दाजुभाइ, सानको जिन्दगी रोज्ने कि त्यो मुसलमान गरिब र अनपढ केटी ? ’

सत्यनारायण जुरुक्क उठे। अन्तिमपटक सबैलाई ढोगे। र, चट्टानजस्तो दृढतासहित भने, ‘म रसुलियालाई रोज्छु।’

सत्यनारायणका लागि रसुलियाको घर माटोले टालेको खरको झुपडी थिएन, प्रेमको जन्नत ९स्वर्ग० थियो। उनी सरासर त्यही जन्नत पुगे, अनि तुरुन्तै मस्जिद गए। सेतो टोपी लगाए। नवाज पढ्न थाले। गाउँभरि हल्ला फैलियो, ‘जमिनदारको छोरा रसुलियाका लागि मुसलमान बन्यो।’ अब उनलाई गाउँलेले भन्न थाले ‘हालमियाँ’ (भर्खरै मुस्लिम भएको)।

यसरी सत्यनारायणले रसुलियाको खातिर आमा त्यागे, बा त्यागे। दौलत त्यागे र धर्म त्यागे। यहाँसम्म कि आफ्नो जातै त्यागे। यसरी सत्यनारायण दास यादवबाट उनी मोहम्मद अल्लाउद्दिन बने।

अचेल भन्छन् नि, ‘लिभिङ टुगेदर’। हो, त्यसरी बस्न थाले उनीहरू। केही समयपछि मुस्लिम परम्पराअनुसार बिहे गरे। सत्यनारायणका तर्फबाट उनी एक्ला थिए। रसुलियाका आफन्तहरू जम्मा भएर निकाह (बिहे) गरिदिए। उनले जिन्दगीभर रसुलियालाई साथ दिने वचन दिए। रसुलियाले पनि भनिन्, ‘हम अहाँके जीवन भइर साथ रहब, भृगु।’ (म हमेसा तिम्रै साथमा छु, भृगु।)

अब सत्यनारायणको दैनिकी बदलियो। सयौँ जनालाई काम लगाउने जमिनदारको छोरा अब बिहानै उठी हलोजुवा बोकेर अर्काको खेतमा हलो जोत्न जान थाले।

किसान जिन्दगी सुरु भएको केही समयपछि सत्यनारायणले आफ्नो अंशको दाबी गर्न थाले। त्यसबेला उनको बुबासँग करिब ८० बिघा जमिन थियो। परिवारले अंश दिन मानेन। गाउँ समाजको दबाबपछि उनले एक कठ्ठा मात्रै पाउने भए। त्यसपछि उनी अदालत पुगे। त्यो ०३३ सालको कुरा थियो। अदालतले उनलाई अंश त दिलायो तर सवा बिघा मात्रै। किनकि, अदालतमा पुग्दा उनको बुबाले जम्मा जमिन पाँच बिघा मात्रै देखाए। उनले जमिन त पाए तर नदीले बर्सेनि दुईतिरबाट कटान गर्ने खालको। उनले त्यहाँ न घर बनाउन सके, न खेतीपाती गर्न सके। न त्यो जमिन बेच्नै सके।

अब उनका लागि ओत लाग्ने अन्तिम विकल्प बन्यो त्यही झुपडी। जुन झुपडीमा उनी दुलाहा बनेका थिए, त्यहीँ हुर्किए दुई छोरा र दुई छोरी। न घर छाड्न सके। न अर्को बनाउन। न सके जन्मभूमि छाडेर टाढा जानै। एकदिन बुबा र दाजुको मन पग्लिएर आफ्नो जिन्दगीमा खुसीको बहार आउने आशामा त्यहीँ बसिरहे।

थरथर काम्दै उनी भन्छन्, ‘त्यहाँ बस्न थालेको ४१ वर्ष पुगेछ।’

आफ्नै बुबा र दाइविरुद्ध फेरि अदालतको ढोका ढक्ढक्याउने विचार गरेनन् उनले। गाउँ समाज र भद्रभलाद्मीले आफ्नो अंश दिलाइदिने आशामा बसिरहे। अर्काको घरमा ज्यालाबनी गरेर बाँच्न थाले रसुलिया र सत्यनारायण अर्थात्, अल्लाउद्दिन।

जेठा छोरा जन्मिँदाको घटना उनको स्मृतिमा ताजा छ। रसुलिया सुत्केरी हुँदा उनले पोषिलो खानेकुरा खुवाउन सकेनन्। बनीबुतो गरेर ल्याएको खानेकुराले सुत्केरीलाई के खुराक पुगोस् । त्यसैबेला साँझपख झुपडीबाहिर एक जना छिमेकी आएर उनलाई बोलाउन थालिन्। बाहिर निस्कनेबित्तिकै ती महिलाले पोल्टामा लुकाएर ल्याएको एक पोका चामल सत्यनारायणको हातमा थमाउँदै भनिन्, ‘तपाईंको आमाले रसुलियाका लागि भनेर लुकाएर पठाउनुभएको।’

आमा कान्छो छोरालाई असाध्यै माया गर्थिन्। आमाको नाममा नौ बिघा जमिन थियो। त्यो जमिन दुवै छोरालाई बराबरी बाँड्न चाहन्थिन् उनी। तर, बाधा भइदिए बुबा र दाइ। ‘पिरैपिरले आमालाई लग्यो,’ आमा सम्झिएर सत्यनारायण भावुक हुन्छन्, ‘अन्तिम पटक मुखसमेत हेर्न पाइनँ। दाहसंस्कारमा समेत मलाई कसैले बोलाएनन्।’

दुई छोरा र दुई छोरी विस्तारै हुर्किंदै गए। त्यो जमानामा म्याट्रिक पढेका सत्यनारायणले आफ्ना छोराछोरी भने पढाउन सकेनन्। जेठा छोरालाई ५ कक्षासम्म पढाए। अन्तिममा ५५ रुपैयाँ शुल्क तिर्न नसकेर स्कुल छोडाए। अरू सबै निरक्षर छन्। ‘उता मेरा दाजु र बाउ खलकका छोराहरू कोही सीडीओ बने, कोही इन्जिनियर,’ उनी भन्छन्, ‘कोही नेता बने त कोही डाक्टर। कोही पुगे अमेरिका, कोही अस्ट्रेलिया।’ उनका छोरा भने पुगेका छन् कलकत्ता। आठ वर्षअघि एक दिन फोनमा कान्छा छोराले भनेका थिए, ‘बाबुजी म कलकत्तामा प्लम्बरको काम गर्छु। एक दिन आउँछु गाउँमा।’ तर, उनी फर्केनन्। उनी आज कहाँ छन् सत्यनारायण बेखबर छन्।

जेठा छोरा गाउँभरिको पोखरीबाट माछा मारेर हाटबजारमा बेच्न लान्छन्। डेढ÷दुई सय कमाउँछन् दिनमा। बेलुकी गम्छाको छेउमा चामल र दाल पोको पारेर घर फर्कन्छन्। छोरीहरू बिहे गरेर गइसके।

केही वर्षअघि सत्यनारायणका बुबा बिते। दाहसंस्कारमा पनि उनलाई कसैले बोलाएनन्। केही दिनपछि सारा गाउँलेलाई मृतकको नाममा भोज खुवाइयो। सारा गाउँले गाउँ नै रित्याएर जमिनदारको आँगनमा जम्मा भए। भोज खाए। तर, उनलाई कसैले बोलाएनन्। उनी अबेला पुगे। कसैबाट सोधनी भएन। ‘कसैले बस्समेत भनेनन्,’ सत्यनारायण सम्झन्छन्, ‘आफँै अन्तिम लाइनमा गएर बसेँ। कसैले खानेकुरा राखिदिए। घोसेमुन्टो लगाएर खाएँ। अनि कोहीसँग नबोली लुरुलुरु घर फर्किएँ।’

उमेर ढल्कँदै गयो। जीवनभरको आशा अब पूरा हुन्न कि लाग्न थाल्यो उनलाई। अब त उनी हजुरबासमेत भइसकेका छन्। अब उनलाई चिन्ता छ नातानातिनाको। ‘जमिनको कुरा चटक्कै बिर्सिदिऊँ, पाइन्छ कि भन्ने आस, माग्न जाऊँ, नपाएको जुग बितिसक्यो,’ उनी सुस्केरा हाल्छन्।

छोराको ढिपीले चार वर्षअघि सत्यनारायणले जिल्ला अदालतमा मुद्दा हाले। हारे। अनि, दुई वर्षअघि पुनरावेदन अदालतमा मुद्दा हाले। त्यहाँ फैसला हुन बाँकी छ। तर, हार्ने निश्चित ठाने उनले। अब कहाँ जाने ? लड्ने कसरी ? अन्तिम भरोसा देखे काठमाडौं। त्यसपछि नाइट बस चढेर हुइँकिए बाउछोरा।

रसुलिया र सत्यनारायणले अभावग्रस्त तर प्रेमले भरिपूर्ण जिन्दगी बाँचे। गरिबकी छोरी रसुलियालाई रोजेकोमा सत्यनारायणलाई कुनै पछुतो छैन। उनी हिन्दीमा भन्छन्, ‘रसुलिया के साथ सादी करके जिन्दगी गुजरदिया।’

अचेल सत्यनारायण प्रेमको जन्नतबाहिर टोलाएर बस्छन्। प्रायः बोल्दैनन्। टाढाटाढा हेरिहन्छन्। रसुलिया र सत्यनारायणले कति रात भोकै बिताए। कति रात रोएर बिताए। कति रात कचौरामा वर्षेझरी थापेर बिताए। कति रात घुर तापेर बिताए। तर, आजभोलि सत्यनारायण एक्लै घुर ताप्छन्।

आजभोलि रसुलियाको याद बोकेर बेस्सरी चल्छ चिसो सिरेटो। रसुलियाको छाया बोकेर एकलास डगरमा त्यसै घुमिरहन्छ भुमरी। किनकि, रसुलिया ९ वर्षअघि नै गइसकेकी छन्, ताराहरूको देशमा। अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।