मौन अवधिमा ‘मत किन्ने’चलखेल

Posted on: December 06, 2017 | views: 72

काठमाडौं । मधेसका ग्रामीण बस्ती, पिछडिएका समुदाय र विपन्न वर्गका मत प्रभावित गर्न मौन अवधि बढी प्रयोग हुने गरेको छ । दल र उम्मेदवारहरूले विश्वासिलो बिचौलिया प्रयोग गरेर पैसाको चलखेलसमेत गर्ने गरेका छन्, कान्तिपुरमा खबर छ  ।  धनुषाको  नगराइनका एक दलितले भने, ‘पैसा दिन्छौं, अरूलाई भोट दिन पाउँदैनौं भन्दै दुई–तीन जना आइसके । उनीहरू त्यसका लागि कागज गराउने, घरको थाम वा बालबच्चा छोएर कसम खुवाउने कुरा पनि गर्छन् ।’ उनका अनुसार पहिला पनि खर्च गर्दा हार्नेले भोट दिएकामा विश्वास नगर्दै आएर धम्क्याउने गरेका थिए । ‘त्यही भएर होला यसपालि कसम खुवाउँदै हिँडेका छन् ।’ 


प्रदेश २ का जिल्लाहरूमा मत तलमाथि पार्ने सबैभन्दा गतिलो मौका नै मौन अवधि बन्ने गरेको छ । करोड रुपैयाँभन्दा माथि खर्च गरिरहेका उम्मेदवारहरूले गाउँमा सानातिना विकासका आश्वासन दिने, सानोतिनो काम गरिदिइहाल्ने, पैसै थमाउनेजस्ता हथकन्डा उपयोग गरिरहेका छन् । त्यसैले जनकपुरका बुद्धिजीवीहरूले यसलाई मौन अवधि होइन, ‘मनी अवधि’ भन्ने टिप्पणी गर्न थालेका छन् । मधेसमा यसलाई ‘कत्ल कि रात’ पनि भनिन्छ ।