भूकम्पपीडितलाई घरधुरी कर भनेर राहतबाट २ सय कटाइयो

Posted on: May 02, 2016 | views: 174

दोलखा – भूकम्पपीडितका लागि सरकारले दिएको १० हजार राहतमा दोलखाको खारे गाविसका सचिव खड्गबहादुर आलेले घरधुरी कर भन्दै दुई सय काटेर नौ हजार आठ सय मात्र वितरण गरेको स्थानीयले बताएका छन् । खारे–६ का ६५ वर्षीय सहदेव कार्की भन्छन्, ‘यो घरधुरी कर भन्ने कहिले पनि सुनेको थिइनँ, गाह्रो परेको बेला तिर्नुपर्यो । अहिलेका सचिव नै भ्रष्टाचारी छन् । अस्ति नै आकस्मिक राहत भन्दै सरकारले दिएको दुई हजार पनि हामीलाई नदिई उनैले खाइदिए ।’

तर, खारेका गाविससचिव खड्गबहादुर आलेले यसमा नियमानुसार गरेको बताएका छन् । उनले रातोपाटीलाई टेलिफोनमा भने, ‘स्थानीय स्वायत्त शासन नियमावली अनुसार वार्षिक घरधुरी कर लिन पाउने नियम छ । हाम्रो गाविस स्तरीय सर्वदलीयसहितको बोर्डले घर धुरी कर भनेर वार्षिक दुई सय रुपैयाँ लिने निर्णय गरेको छ । यो कर गाविसमै आएर तिनुपर्ने हुन्छ । राहत लिन आएका बेला कतिपयले कर तिर्नुभएको छ । हामीले कर लिएको रसिद दिएका छाँै । यसमा हामी पारदर्शी छौँ । यो रकम हाम्रो गाविसकै कोष खातामा जम्मा हुन्छ । यसको एक–एक हिसाब हामीसँग छ । यो १० हजार राहतबाट कर काटेर नौ हजार आठ सय दिइयो भन्ने आरोप गलत हो ।’

घर नै गुमाएकाहरुलाई घरधुरी कर ? रातोपाटीको जिज्ञासामा उनले भने, ‘भूकम्पपछि राहत प्रतिपरिवार दिने भन्ने थियो । तर, कतिपयले हामी छुट्टै परिवार हौँ भन्नुभएको छ । घरधुरी कर भनेको प्रतिपरिवार कर नै हो । हामीले छिटै पारिवारिक लगतको कार्ड दिँदै छौँ । यसमा परिवारको नामवली हुन्छ ।’

बोल्नेले भने कर तिर्नुपरेन
यद्यपि यसरी राहतमा कर तिर्नुनपर्ने भन्दै गाविससचिवको प्रतिवाद गर्न सक्नेले भने कर तिर्नुपरेन । दोलखाका गोंगरमा भेटिएका एक स्थानीय भन्छन्, ‘मैले त गाविससचिवको प्रतिवाद गरें । ‘घर नै छैन केको कर ?’ भनेर प्रतिवाद गरेपछि मैले पूरै रकम पाएँ । तर, सचिवका अगाडि बोल्न नसक्ने बुढाबुढी वा महिला घरमूली भएका स्थानीयले भने दुई सय काटेर मात्र राहत रकम पाएको उनले बताए ।

अन्यत्र गाविसमा यस्तो गरिएको छैन
भूकम्पपीडितलाई सरकारले न्यानो कपडाका लागि दिएको राहत रकमबाट खारेका गाविस–सचिवले घरधुरी कर काटे पनि अन्य गाविसमा भने यस्तो गरिएको छैन । सरकारले दिएको १५ हजार रुपैयाँमा भने यस्तो गुनासो पहिला पनि आएको थियो । दोलखाका अन्य गाविसका स्थानीयले भने सरकारले न्यानो कपडाबापत दिएको १० हजार रुपैयाँ पूरै पाएका छन् ।

पूरै १० हजार लिएको भनेर सही गराइयो
घरधुरी कर भन्दै नौ हजार आठ सय रुपैयाँ दिए पनि १० हजार रुपैयाँ नै बुझेको सही गराइएको स्थानीयवासीले रातोपाटीलाई बताएका छन् । ‘सही वा ल्याप्चे १० हजार नै बुझिलिएको भनेर गराइएको छ । तर, पैसा भने घरधुरी कर भन्दै दुई सय काटेर मात्र दिइएको छ । दुई सय रुपैयाँ कर उठाएको भनी रसिद भने दिइएको छैन,’ एक स्थानीयले भने ।

राहतमा कर लाग्दैन : कर विज्ञ
सरकारले दिएको राहतमा कुनै पनि खालको कर नलाग्ने कानुनी प्रावधान छ । कर विज्ञ मुकुन्ददेव अधिकारी भन्छन्, ‘सरकारले दिएको राहतमा कुनै पनि खालको कर लाग्दैन ।’ अझ भूकम्पको कुरामा त सरकारले दिने कुनै पनि खालको राहतमा कर लाग्दैन । नेपाली करसम्बन्धी ज्ञाताका रूपमा नाम कहलिएका चार्टड एकाउन्टेन्ट अधिकारीले रातोपाटीसँग कुराकानी गर्दै राहतमा कुनै पनि खालको कर नलाग्ने स्पष्ट पारेका हुन् ।

तुरुन्त कारबाही गर्छु : सिडिओ
दोलखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले यस्तो गुनासो पहिला पनि आएको र कारबाही भइसकेको र खारे गाविससचिवलाई पनि तुरुन्त कारबाही गर्ने बताएका छन् । ‘पहिला पनि पबटी, बोच, लाँकुरीडाँडाजस्ता गाविसमा १५ हजार रुपैयाँमा विभिन्न खाले करको नाममा पैसा असुलेको र पछि जनगुनासो आएपछि रकम फिर्ता गराइएको थियो । अब खारे गाविसका सचिवलाई पनि आवश्यक कारबाही अगाडि बढाउँछु,’ उनले भने । राहतमा कुनै पनि खालको कर नलाग्ने स्पष्ट पार्दै उनले राहत रकममा कुनै पनि खालेको हिनामिना हुन नदिने बताएका छन् ।

-रातोपाटी