संविधान संशोधन विधेयक फेल

Posted on: August 21, 2017 | views: 300

काठमाडौं- सरकारले व्यवस्थापिका संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फेल भएको छ । तराई मधेस केन्द्रीत दलहरुको माग सम्बोधनका लागि भन्दै सरकारले २३ चैतमा संशोधन विधेयक दर्ता गरेको थियो । तर, दुई तिहाई बहुमत नपुग्ने भएपछि लामो समयसम्म विचाराधीन रहेको विधेयक ‘पास फेल जे भएपनि चुनावमा सहभागी हुन राजपा सहमत’ भएसँगै अघि बढाइएको थियो ।

व्यवस्थापिका संसद्मा हाल कायम सदस्य संख्याको दुई तिहाइले पारित गर्नुपर्ने भए पनि प्रस्तावको पक्षमा दुई तिहाई पुग्न सकेन । सोमबार बेलुका भएको मतविभाजनमा प्रस्तावको पक्षमा ३४७ र विपक्षमा २०६ मत प्राप्त भएको थियो ।

प्रस्ताव पारित हुन कम्तिमा पनि ३९५ मत आवश्यक पथ्र्यो । नेकपा एमाले, राप्रपा, नेमकिपा, राजमो लगायतका राजनीतिक दल प्रस्तावको विपक्षमा उभिएका थिए । प्रस्तावको पक्षमा रहेका कांग्रेस, माओवादी केन्द्र, राजपा लगायत साना दल पक्षमा थिए ।

कानुन मन्त्री यज्ञबहादुर थापाले नेपालको संविधान दोस्रो संशोधन, २०७४ पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गरेकी थिइन्।

नेकपा मालेले भने मतदान प्रक्रिया बहिष्कार गरेको थियो। संसदीय दलका नेता सिपी मैनालीले बहिष्कारको घोषणा गरेपछि सो पार्टीका सांसदहरु बाहिरिएका थिए। संविधानमा भाषा, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व र प्रदेशको सीमाङ्कन लगायतका विषयमा संशोधन प्रस्ताव पेस भएको थियो । उक्त प्रस्ताव गत साउन ३२ गते सदनमा पेस गरिएको थियो।


उक्त प्रस्तावमाथिको आजको छलफलमा भाग लिन ५१ सांसदले नाम लेखाएका थिए। यसअघि दफावार छलफलमा बोल्दै विभिन्न दलका नेताले विधेयकको पक्ष र विपक्षमा धारणा राखेका थिए। संशोधन विधेयकमाथि ५० संशोधन दर्ता गरिएका थिए। विधेयक संशोधनमा परेका प्रस्तावहरुलाई सभामुख ओन्सरी घर्तीले निर्णयार्थ प्रस्तुत गरेकी थिइन्, जो ध्वनिमतले अस्वीकृत भएको थियो।