पत्रकारको नेता छान्ने निर्वाचन कार्यतालिका आयो, पत्रकारका उम्मेद्धार पार्टीका समर्थक

Posted on: August 19, 2017 | views: 280

काठमाडौं ।

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको भदौ ४ देखि ६ गतेसम्म हुने महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।


प्राध्यापक चिरञ्जीवी पौडेल संयोजकत्वको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।


निर्वाचन कार्यतालिका अनुसार, भदौ ३ गते बिहान १० बजे मतदाताको नामावली प्रकाशन गरिएको छ । मतदाता नामावलीउपर दाबी विरोध आजै १२ बजेसम्म गर्न सकिनेछ भने मतदाताको अन्तिम नामावली प्रकाशन शनिबार ४ बजे गर्ने निर्वाचन समितिको तयारी छ ।


पत्रकार महासंघको नयाँ नेतृत्वका लागि उम्मेदवार बन्न चाहनेहरुले उम्मेदवारी दर्ता भदौ ४ गते दिउँसो १२ बजेदेखि अपराह्न ३ बजेसम्म गर्न सक्ने जानकारी निर्वाचन समितिले दिएको छ । निर्वाचन समितिका अनुसार उम्मेदवारको अन्तिम नामावली भदौ ४ गते पौने ४ बजे प्रकाशित हुनेछ ।


उम्मेदवार उपरको दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिन चाहनेका लागि समेत समय दिइएको छ । निर्वाचन समितिले भदौ ४ गते अपराह्न ३ः४५ देखि १ घन्टाको समय दाबी विरोध तथा उम्मेदवारी फिर्ताका लागि दिएको छ ।


निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको अन्तिम नामावली भदौ ४ गते बेलुका ५ बजे प्रकाशित हुनेछ ।


महासंघको नयाँ नेतृत्वका लागि भदौ ५ गते मतदान हुनेछ । मतदान समय बिहान ९ बजेदेखि ३ बजेसम्मका लागि तोकिएको छ । मतगणना मतदान सकिएलगत्तै गर्ने कार्यतालिकामा उल्लेख छ ।


नेपाल पत्रकार महासंघको महाधिवेशनमा यसपटक नेपाली कांग्रेसनिकट प्रेस युनियन र माओवादी केन्द्रनिकट प्रेस सेन्टरबीच तालमेल भएको छ ।


यो गठबन्धनबाट सभापतिमा गोविन्द आचार्य खडा भएका छन् भने एमालेनिकट प्रेस चौतारीले तीर्थ कोइरालालाई अघि सारेको छ ।


प्रेस चौतारीलाई नयाँ शक्तिलगायत साना संगठनको समर्थन रहेको छ । चौतारीबाट उपाध्यक्ष पदमा अनलाइनखबरकर्मी मात्रिका पौडेलको समेत उम्मेदवारी परेको छ ।


यसैगरि अध्यक्षका कोइराला आचार्य सँगै उजिर मगरले पनि पत्रकार महासंघको अध्यक्षमा उम्मेद्धारी दिएका छन् ।