बाढी पीडितलाई दिनको ७० रुपैयाँको दरले एकमुष्ट नगद : गृहमन्त्री

Posted on: August 18, 2017 | views: 289

काठमाडौं ।

गृहमन्त्री जनार्दन शर्माले बाढी प्रभावित जिल्लाका बासिन्दालाई प्रतिव्यक्ति दैनिक रु ७० का दरले एक महिनाका लागि एकमुष्ट नगद उपलब्ध गराइने बताउनुभएको छ । 


गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री शर्माले प्रभावित परिवारलाई नगद उपलब्ध गराउनका लागि सरकारले रु एक अर्ब निकासा गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “चामल किनेर वितरण गर्नुभन्दा एकमुष्ट रकम वितरण गर्नु उपयुक्त हुने देखिएकाले एक महिनाका लागि यस्तो निर्णय गरिएको हो । त्यसपछि यसलाई निरन्तरता दिने वा नदिने भन्ने परिस्थिति हेरेर निर्णय हुन्छ ।” 


अति प्रभावित क्षेत्रमा पसलमा खाद्यान्न नपाइने समस्या आएमा नेपाल खाद्य संस्थानमार्फत खाद्यान्न वितरणको व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।


विपद्का समयमा सहयोग गर्न चाहने विदेशी दातृ निकाय वा व्यक्तिलाई ‘प्रधानमन्त्री राहत उद्धार कोष’ मार्फत सहयोग गर्न आग्रह गर्दै मन्त्री शर्माले प्रभावित क्षेत्रमा राहत वितरणका लागि कसैलाई बन्देज नगरिएको स्पष्ट पार्नुभयो ।