नेपालमा भूकम्प गएको बर्षदिनमा जापानमा यस्तो विशेष र भव्य कार्यक्रम हुँदै

Posted on: May 02, 2016 | views: 244

९ चैत, टोकियो ।
बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि नेपाललाई ठूलो सहायता गरेको जापान सरकार र यहाँका नागरिकलाई जापानस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र गैर आवासीय नेपाली संघ एनआरएनको संयुक्त आयोजनामा धन्यवाद सहित नेपाल भ्रमणको निम्तो दिइने भएको छ ।

नेपालमा बैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा नेपालमा विनाशकारी भूकम्प गएको थियो । ७.६ रेक्टर स्केलको उक्त भूकम्प तद अनुसार अप्रिल २५ तारिख जापानी समय अनुसार दिउँसो ३ बजेर ११ मिनेट भएको थियो ।

नेपालमा भूकम्प गएको जापानको समय पारेर बर्षदिनपछि सोही दिन दिउँसो ३ बजेदेखि ४ बजेसम्म कार्यक्रमको आयोजना गर्न लागिएको जापानस्थित कार्यबहाक नेपाली राजदूत गेहेन्द्रराज राजभण्डारीले जानकारी दिनुभयो ।

उक्त दिन जापानमा रहेका सबै नेपालीहरुलाई आफ्नो राष्ट्रिय पोशाक र सांस्कृतिक पहिचानका पोशाक सहित विभिन्न झाँकीहरु सहित उपस्थित भएर जापान सरकार र जापानीप्रति धन्यवाद दिन नेपाली दूतावास जापानले आग्रह गरेको छ ।

प्रदर्शनमा जापान र नेपालको घनिष्ट सम्बन्ध झल्काउने व्यानर र धन्यवाद लेखिएको पोस्टकार्डहरु बोक्ने तथा जापानीहरुलाई बाँड्ने कार्यक्रम सो अवसरमा राखिएको छ ।

भूकम्पमा परि जिवन गुमाएकाहरु प्रति श्रद्धाञ्जली सहित सम्झनामा हुन लागेको कार्यक्रमले नेपाल र जापानबिच सम्वन्ध स्थापित भएको ६० औं बर्षगाँठको अवसरमा सम्वन्ध थप सुमधुर हुने ठानिएको छ ।

नेपालमा घुम्न जाने जापानी पर्यटकहरुको संख्या बढ्दो क्रममा रहेको र नेपालमा घुम्न आउने पर्यटक मध्ये महत्वपूर्ण रहेको जापानमा हुने यो कार्यक्रमले जापानमा नेपालको पर्यटन प्रवद्र्धन समेत हुने विश्वास कार्यवाहक राजदूत गेहेन्द्रराज राजभण्डारीको छ ।