जापानद्धारा सन् २०२० सम्म सबैभन्दा सुरक्षित बाटो बनाउने घोषणा

Posted on: May 02, 2016 | views: 397

२९ फागुन, टोक्यो ।
केही अघि मात्र सार्वजनिक बस दुर्घटनामा २० बढी नागरिकको मृत्युपछि सडक दुर्घटनाबारे बहस चलिरहँदा जापान सरकारले सन् २०२० सम्ममा संसारको सबैभन्दा सुरक्षित बाटो बनाउने योजना अघि सारेको छ ।

“हामीले हाम्रा योजनाहरुलाई कार्यन्वयन गर्दै जापानमा संसारको सबैभन्दा सुरक्षित ट्राफिक सोसाईटी बनाउनेछौं ।” जापानी प्रधानमन्त्री सिन्जु आवेले दशौँ ट्राफिक सेफ्टी कार्यक्रमका अवसरमा भनेका छन् ।

महत्वाकांक्षी परियोजनाको रुपमा जापानी सञ्चार माध्यमले समेत चर्चा गरिरहेको यो कार्यक्रम सन् २०१५ मा सडक दुर्घटनमा परेर ज्यान गुमाउनेहरुको संख्या ४ हजार ११७ पुगेको घटना पछि आएको हो ।

जापान सरकारले निकालेको विवरणहरु अनुसार पछिल्लो १५ वर्षमा सन् २०१५ सबैभन्दा बढी सडक दुर्घटना र मानवीय क्षति भएको बर्ष हो ।

सडक दुर्घटनालाई न्यूनिकरण गर्न विभिन्न नयाँ उपाय अवलम्वन गरिएपनि अनुमान गरिए भन्दा झण्डै १५ सय बढी व्यक्तिको निधन भएको यहाँको प्रहरीले बताएको छ । सन् २०१५ मा बढीमा ३ हजार व्यक्तिको मृत्यु हुनसक्ने अनुमान प्रहरीको थियो ।

प्रधानमन्त्री सिन्जु आवेले सन् २०२० सम्म सडक दुर्घटना कम गर्दै संसारकै सुरक्षित सडक मार्ग बनाउने घोषणा गरेपछि सडक सञ्जाल सुधार र नियममा व्यापक हेरफेर हुने ठानिएको छ ।

स्विडेन विश्वमै सडक दुर्घटना कम हुने देशमा पर्दछ । तर गत बर्ष भने डेनमार्क सबैभन्दा कम सडक दुर्घटना हुने देशको रुपमा रहेको छ । गत बर्ष डेनमार्कमा सडक दुर्घटनामा परि मात्र १ सय ७७ व्यक्तिको निधन भएको त्यहाँको सरकारी आँकडामा उल्लेख छ ।