टोकियो ।
तस्विरमा देखिएको कार हेरेपछि जो कोहिले ठान्नेछन् कि यसमा सवार व्यक्तिहरु कम्तिमा पनि गम्भिर घाइते भए होलान् ।
तर भगवान भरोसा भन्ने नेपाली भनाई जस्तै भगवान भरोसाले जोगिएका छन् दुई नेपालीहरु ठूलो सडक दुर्घटनाबाट ।
यसरी सवारी दुर्घटनामा परि सकुशल रहन सफल भएका हुन् जापानका युवा व्यवसायी तथा समाजसेवी दिलु खत्री र चन्द्र बहादुर खत्री ।
'नियममा रहेर सवारी चलाए दुर्घटनामा परेपनि जोगिदो रहेछ भन्ने गतिलो पाठ पनि सिकायो यो घटनाले' टपनेपालन्युजडटकमसँगको कुराकानीका क्रममा दिलु खत्रीले भन्नुभयो-'सिटबेल्ट लगाउनाले हामीलाई केही भएन । यदि सिटबेल्ट नलगाएको भए जे पनि हुनसक्थ्यो, धन्न हामीलाई चाहिँ केही भएन ।'
यसरी भयो दुर्घटना-'दिलु खत्री'
घटना बिहान साँडे ६ बजेको समय थियो । हामी किन्स्चो बाट कासिवा फर्कंदै थियौं । गाडी चन्द्र भाईले चलाइरहनुभएको थियो । हामी योचुगिमा आइपुगेका थियौं ।
ओरालो ओरालो सडक थियो । हामी अगाडी एउटा गाडी थियो, सडक बत्ती रातो बलेपछि गाडी रोकियो ।
हाम्रो गाडीपनि सामान्य तरिकाले रोकिंदै थियो ।
५४ बर्षपछि जापानमा परेको हिउँ सडकमा जमेको थियो । गाडी रोकिएला भनेको त हिउँमा चिप्लिएर अगाडीको गाडीलाई जोगाउन खोज्दा सडक किनारको ग्राभेलमा ठोक्किन पुग्यो । त्यसपछि दाहिनेपट्टि ठोक्कियो ।
चन्द्रभाईले गाडी रोक्न खोजेको खोज्यै थिए तर हिउँमा चिप्लिएर फेरी अर्को गाडीमा ठोक्कियो र गाडी त फनक्कै उल्टो पो घुम्यो । एकछिन त हामीनै अलमलमा पर्यौं कसरी गाडी दुर्घटना भयो भनेर ।
गाडी रोकिएपछि हतपत बाहिर निक्लियौं, हेरेको त गाडीको अघिल्लो भाग पुरै कुच्चिएछ । अनि पो कति ठूलो दुर्घटना भएछ तै पनि हामीलाई केहि भएन भनेर खुसी लाग्यो । चन्द्र भाई र मलाई गाडीमा ठोक्किएर हल्का चोट बाहेक केही भएन ।
हामीबाट भन्दापनि हिउँका कारण अकस्मात आफैं चिप्लिएर दुर्घटना भएकाले प्रहरीले केही गरेन । हामीलाई अस्पताल चेकअप गराएर केही नभएको पाएपछि तत्काल छाडिदियो ।
कसरी जोगिए त यत्रो घटनामा
म सँधै गाडीमा चढ्दा सिटबेल्ट लगाउने गर्छु । जापानमा यो नियम कडा पनि छ र प्राय सबैले लगाउँछन् पनि ।
चन्द्र भाईले पनि लगाउनुभएको रहेछ । हामीले गाडी दुर्घटनाभएर रोकिएपछि मात्र जिउमा बानेको सिटबेल्ट हेर्यौं, अनि पो हामी सिटबेल्ट बाँधेका कारण जोगियौं भन्ने लाग्यो ।
नियममा रहेर गाडी चलाउने र यात्रा गर्ने हो भने सबैको लागि राम्रो सन्देश पनि सिकायो यो घटनाले ।
मोटरसाईकलमा हेल्मेट जस्तै गाडी चलाउँदा र बस्दा सबैले सिट बेल्ट बाँध्ने हो भने ठूलो दूघर्टनाबाट पनि जागिन सकिंदो रहेछ ।