जापानमा सगरमाथाबारे चलचित्र प्रदर्शन हुँदै, जापानी युवराज र राजदूतले सँगै हेरे

Posted on: May 02, 2016 | views: 359

गोकर्ण अधिकारी-२७ फागुन, टोक्यो ।
नेपाली दूतावास जापानले जापानी युवराज नारिहितोसँग कार्यवाहक राजदूत गेहेन्द्रराज भण्डारीले गर्नुभएको भेटबारे प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ ।

नेपाल र सगरमाथा बारेमा बनाईएको जापानी चलचित्र ‘एभरेस्ट  दि समिट अफ दि गड्स’ अर्थात् 'सगरमाथा : देवीदेवताको शिखर' को प्रिमियर प्रदर्शनीका क्रममा राजदूत राजभण्डारीले युवराज नारिहितोसँग दर्शनभेट गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

युवराज नारुहितो सहित युवराज्ञी मासाको तथा राजकुमारी एइको समेतको समउपस्थितिमा भएको भेटका क्रममा युवराज नारुहितोले दुई दशक अघि गर्नुभएको नेपाल भ्रमणको सम्झना र स्मरण गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

टपनेपालन्युजडटकमसँगको कुराकानीका क्रममा राजदूत राजभण्डारीले भन्नुभयो-'मैले सोचेको पनि थिइन, दुई घण्टा लामो चलचित्र युवराज नारुहितोले एकदमै उत्सुकता पूर्वक हेर्नुभयो । चलचित्र प्रदर्शन पछि युवराज नारुहितोसँग भेट गर्ने समय मिल्यो ।

भेटका क्रममा झण्डै २ दशक अघि उहाँले गर्नुभएको नेपाल भ्रमणको बारे धेरै कुरा गर्नुभयो । काठमाडौं, ललितपुर, भक्तपुर देखी पोखरा घुम्दाको अनुभव साट्नुभयो ।

मैले यती मज्जाले सम्झना राखेर खुलेर नेपालबारे कुरा गर्नुहुन्छ भन्ने सोचेकै थिइन । उहाँले नेपालको सुन्दरताले आफुलाई लोभ्याएको बताउनुभयो । प्राकृतिक सौन्दर्यता, हिमाल अनि नेपालीहरुको मिलनसार बानि र व्यवहारको प्रशंसा गर्दै सम्झना सुनाउनुभयो ।'

चलचित्र प्रदर्शन पछि आयोजित समापन कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक हिरायामा तथा अभिनेता ओकादाले उपस्थित विशिष्ट दर्शकमाझ नेपाल र नेपालीको मुक्त कण्ठले प्रशंसा गर्दै नेपाललाई माया गर्न आग्रह गरेको दूतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्देशक हिरायामाले नेपाल धेरैपटक गइसकेको र नेपाल पुग्ने वित्तिकै त्यहाँको माटोको सुगन्धले लठ्ठ पार्ने बताउँदै आफू नेपालको सौन्दर्य तथा नेपालीको मायालू र सहयोगी भावनाले गर्दा नेपाल माया गर्ने रोगबाट ग्रसित भएको बताएको दूतावासले जनाएको छ ।

यसअघि जापानी युवराजले नेपालको पूर्ननिर्माण लगायतका विषयमा सोधेको भनि आएका समाचार बारे केही उल्लेख नगरिएको दूतावासद्धारा विज्ञप्तिका बारेमा राजदूत राजउपाध्यायले दर्शन भेटमा भूकम्पपछिको अवस्थामा नेपालले भोगिरहेको कठिनाई र यसमा जापानको सँधै साथ र सहयोग रहने शुभेच्छा मात्र व्यक्त गर्नुभएको बताउनुभयो ।

चलचित्र एभरेस्ट  दि समिट अफ दि गड्स’ अर्थात् 'सगरमाथा : देवीदेवताको शिखर' जापानी लेखक बाकु युमेमाकुराको प्रसिद्ध उपन्यास खामीगामीनो इतादाकीमा आधारित रहेको छ ।

चलचित्रमा जापानी पर्वतारोहीको सगरमाथा आरोहणको साहसी कथा रहेको छ । संघर्ष, प्रेम र जिन्दगीको लक्ष्यलाई मार्मिक ढंगबाट प्रस्तुत गरिएको चलचित्र जापानी चलचित्र इतिहाँसमै ५ हजार मिटर माथि छायांकन गरिएको पहिलो चलचित्र भएको चलचित्र युनिटले बताएको छ ।

चलचित्र यही मार्च १२ तारिख शनिवार देखी जापानमा प्रदर्शनमा आउँदैछ ।