टोकियोमा नेपाल चिनाउने बृहत शान्ति र्याली अप्रिल १० मा

Posted on: May 03, 2016 | views: 677

मदन पाठक-२७ फागुन, टोक्यो ।
भगवान गौतम बुद्धको जन्म स्थलबारे जापानी नागरिकमा रहेको भ्रम र नेपाल चिनाउन तिन बर्षअघि देखी जापानमा सुरु अभियानले यसबर्ष पनि निरन्तरता पाउने भएको छ ।

बुद्ध नेपालमा जन्मेका हुन् भन्ने मुख्य सन्देश फैलाउने उदेश्य सहित आगामी अप्रिल १० तारिखका दिन जापानको राजधानी टोक्योमा बृहत शान्ति र्याली आयोजना गरिने भएको छ ।

आज मात्रै कार्यक्रम गर्ने अनुमति पायौं कार्यक्रम आयोजक संस्था नेपाल जापान युथ क्लवका अध्यक्ष टासि लामाले टपनेपालन्युजसँग भन्नुभयो-'बुद्ध नेपालमा जन्मेको चिनाउने मात्र नभई नेपालको कला र संस्कृतिबारे समेत चिनाउने यो महत्वपूर्ण अवसरमा सबैलाई सहभागी हुन आग्रह गर्छु ।'

गैर आवासीय नेपाली संघ एनआरएन जापानका उपाध्यक्ष समेत रहेका लामाका अनुसार विगतका बर्षहरुमा जस्तै यस बर्षपनि नेपाल जापान युथ क्लव र विइ फर अल संस्थाको संयुक्त आयोजनामा कार्यक्रम हुने भएको छ ।

नेपालमा सामाजिक क्षेत्रमा सहयोग र जापानमा विभिन्न कार्यक्रम गर्दै आएको संस्था विइ फर अलका अध्यक्ष सरोज कुमार खत्री रहेका छन् ।

गौतम वुद्ध तथा बुद्ध जन्मस्थल लुम्विनीको वारेमा यथार्थ जानकारी दिने उदेश्यले  जापानमा हरेक वर्ष हुदै आएको बृहत शान्ति रयाली आगामी अप्रिल दोस्रो साता हुने भएको छ ।

टोकियो सिवुया स्थित मियासिता पार्कबाट सुरु हुने र्याली सिवुया शहर परिक्रमा पछि सोही पार्कमा आएर कोणसभाका रुपमा समापन हुने छ ।

विगतका बर्षहरुमा गरिएको शान्ति र्यालीमा जापानमा रहेका हजारौं नेपाली नागरिक र नेपालप्रति सद्भाव देखाउने जापानी नागरिक समेतको सहभागीता रहने गरेको स्मरण गर्दै आयोजक संस्था नेपाल जापान युथ क्लवका अध्यक्ष लामाले यस बर्षको कार्यक्रम झनै व्यापक हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम आयोजक संस्था विइ फर अलका अध्यक्ष सरोज कुमार खत्रीले सामाजिक सञ्जाल फेसबुकमा-'३६५ दिन मध्यको आजको एक दिन बिहानै देखीको मेहनत सफल भयो । र्याली गर्ने अनुमती पाउनको लागी गरेको हल्का पहल यो बर्ष पनी सफल भईयो ।अब २०१६/४/१० आईतबार यो बर्ष पनी टोकीयोको शीबुयामा नेपाली झण्डा र बिभिन्न नेपाली भेषभुषा सहीत भगवान बुध्दको नाम पोष्टर सहीतको बिशाल र्याली निकाल्न पाईने भयो । एकतानै बलहो । बिदेशमै बसेर भएपनी हामी परदेशी सन्तानहरुले देशको लागी गर्न सकीने काम मध्यको एउटा काममा सबै जना सहभागी हुनु पर्छ है ।' भन्दै सबैमा कार्यक्रममा सरीक भएर नेपाली एकता र नेपाल चिनाउने अभियानमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

भगवान गौतमबुद्ध भारतमा जन्मिएको भनेर भारतले गर्दै आएको कुप्रचार र भारतमा बनिरहेको नक्कली जन्मस्थल लुम्बिनिले भ्रम छरिरहेकाले त्यसलाई चिर्न र बुद्ध धर्म र भगवान बुद्धप्रति आस्था राख्ने जापानी नागरिकमा बुद्धको जन्मस्थलबारे सहि जानकारी दिन कार्यक्रम सफल रहँदै आएको टाशी लामाको भनाई छ ।

विहीवार बिहान मात्र स्थानिय नगरपालिका तथा प्रहरी कार्यालयबाट स्वीकृत लिई कार्यक्रमको तयारी सुरु गरिएको लामाले जानकारी दिनुभयो ।

अपरान्ह एक वजेबाट सुरु हुने कार्यक्रममा सहभागि हुन आउने सबै नेपालीमा आयोजक संस्थाले संभव भएसम्म नेपाली राष्ट्रिय पोसाक तथा आ आफ्नो परम्परागत भेषभूषा र नेपाली झण्डा तथा नेपाल चिनाउने प्लेकार्ड सहित उपस्थित भइदिन आग्रह समेत गरेको छ ।