जापानी युवराजसँग राजदूत गेहेन्द्रराज राजभण्डारीको दर्शनभेट, युवराजले यसरी सम्झे नेपाल

Posted on: May 02, 2016 | views: 338

गोकर्ण अधिकारी-२७ फागुन, टोक्यो ।
जापानका युवराज नारुहितोले नेपालमा भूकम्प पछिको पुर्ननिर्माण बारे यहाँस्थित कार्यवाहक राजदूत गहेन्द्रराज भण्डारीसँग भेटेर गहिरो चासो व्यक्त गरेका छन् ।

करिव आधा घण्टा लामो भेटका क्रममा जापानी युवराज नारुहितोले तीन दशक अघि आफुले गरेको नेपाल भ्रमण देखी नेपालको सुन्दरता र नेपालीलाई परेको अहिलेको समस्याको बारेमा समेत स्मरण गरेको राजदूत भण्डारीले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

जापानी युवराजले नेपाल र नेपालीबारे गहिरो चासो व्यक्त गर्दै नेपाललाई जस्तोसुकै सहयोग गर्न जापान तयार रहेको बताउनुभयो ।

जापानी चलचित्र ‘एभरेस्ट  दि समिट अफ दि गड्स’ अर्थात् 'सगरमाथा : देवीदेवताको शिखर' हेरेपछि युवराज नारुहितोले टोकियोस्थित नेपाली कार्यवाहक राजदूत गहेन्द्रराज भण्डारीसँग भेटेका थिए ।

संसारमै सर्वाधिक विक्रि हुने जापानी पत्रिका आसाई सिम्बुनले नेपालमा महाभूकम्पले निम्त्याएको विनाशप्रति गहिरो दु ख व्यक्त गरेका युवराज नारुहितोले ‘सुन्दर मुलुक नेपाललाई परेको विपतमा सहयोग गर्न जापान नचुक्ने’ बचनबद्धता व्यक्त गरेको उल्लेख छ ।

जापानका प्रसिद्ध उपन्यासकार बाकु युमेमाकुराले लेखेको कथामा आधारित चलचित्र जापानी आरोहीको संघर्षपूर्ण सगरमाथा आरोहणलाई रोचक ढंगले प्रस्तुत गरिएकोछ ।
चलचित्र हेर्न युवराज नारुहितो, युवराज्ञी मासाको ओवादा र राजकुमारी आइको समेतको उपस्थिती रहेको थियो ।

सगरमाथा आधार शिविर र आसपास छायांकन गरिएको चलचित्र जापानको प्रख्यात उपन्यास ‘कामिगामी नो इटाडाकी’ अर्थात् देवीदेवताको चुचुराको कथामा आधारित छ ।

व्यावसायिक प्रदर्शनअघि नेपालका भूकम्पपीडितको सहयोगार्थ टोकियोको रोपोंगी हिल्जमा गरिएको विशेष प्रिमिअर शोमा जापानी राजपरिवारको उपस्थिति भएको हो । चलचित्र अर्कोसाताबाट जापानमा प्रदर्शन हुँदैछ ।

सिनेमा निर्माण टोलीले चलचित्र प्रदर्शन अघि हरेक हलमा आफ्ना दर्शकलाई पहिले नेपालबारे जानकारी दिएर फिल्म आरम्भ गर्ने बताएका छन् ।

जापानीले पाँच हजार मिटरभन्दा माथि छायांकन गरेको पहिलो चलचित्र समेत बनेको ‘कामिगामी नो इटाडाकी’चलचित्र जापानी राज परिवारले पुरै २ घण्टा बसेर उत्सुकताका साथ हेरेका थिए ।

चलचित्र हेरेपछि युवराज नारुहितोले ३ दशकअघि आफूले नेपाल भ्रमण गरेको र त्यस बेलाका स्यामस्वेत फोटोहरु अझैपनि आफुसँग सुरक्षित रहेको कार्यवाहक राजदूत भण्डारीसँगको भलाकुसारीमा सुनाएका थिए ।

सन् १९८७ मा नेपालको भ्रमण गरेका युवराजले आफु नेपालको प्राकृतिक सौन्दर्यबाट लोभिएको बताएका थिए ।

स्मरणीय छ यस बर्ष नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं बर्षगाँठको अवसर पारेर बर्षभरिनै जापान तथा नेपालका विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् ।

राजदूत भण्डारीले नेपालप्रति जापान सरकार त्यहाँका नागरिक र राजपरिवारबाट देखाएको चासो र सद्भावका लागि आभार प्रकट गर्दै पुन नेपाल भ्रमणको निम्तो दिएका थिए ।
जवाफमा जापानी युवराज नारुहितोले समय मिलाएर आफुले नेपाल भ्रमण गर्ने बताएको राजदूत भण्डारीले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

चलचित्र प्रदर्शनका क्रममा निर्माता, निर्देशक र कलाकारले समेत मञ्चबाटै ‘नेपालीमाथि ठूलो विपत्ति आएको छ, सबैले खुलेर सहयोग गरौं । भन्दै नेपाल भ्रमण गरेर सौन्दर्यको मज्जा लिन समेत आग्रह गरेका थिए ।

गत बैशाख १२ गतेको विनाशकारी महाभूकम्पपछि सबैभन्दा धेरै राहत सहयोग जुटेको जापानमा अझैपनि जापानीहरुले नेपालको अवस्थाका बारेमा समेत नेपाली नागरिकहरुसँग जानकारी लिने गरेको जापानमा रहेका नेपालीहरु बताउँछन् ।

चलचित्रका निर्देशक हिदेयुकी हिरायामा हुन् भने मुख्य भूमिकामा जुनिची ओकादाले जायकको भूमिका निभाएका छन् । यि दुवै कलाकारहरु जापानका प्रख्यात कलाकार हुन् ।

सो अवसरमा दुवै कलाकारले चलचित्र छायांकनका समयमा नेपालमा विताएका रोचक घटनाहरु सुनाएका थिए ।
तीन महिना लगाएर छायांकन गरिएको चलचित्रको सम्पूर्ण टिम बैशाख ९ गते जापान फर्कीएको थियो भने नेपालमा १२ गते विनाशकारी भूकम्प गएको थियो ।

तस्बिर: आसाही सिन्बुन