जसले यसरी फसाउन खोजेका थिए 'भवन भट्ट'लाई, यो हो वास्तविकता

Posted on: September 08, 2016 | views: 5393

गोकर्ण अधिकारी-२३ भदौ, टोकियो ।
प्रमाणबिनाका केही फुटकर समाचारले पनि कतिसम्म चर्चा र हैरानी व्यहोर्नु पर्दो रहेछ भन्ने साक्षि बनेका छन् एनआरएन अन्तराष्ट्रिय समन्वय समितिका उपाध्यक्ष भवन भट्ट ।

भूकम्प पीडितका नाममा उठाएको तीन करोड रुपैयाँ व्यक्तिको खातामा शिर्षक राखेर रचिएको समाचार प्रकाशित भएकै भरमा जापानमा सफल युवा व्यवसायिको परिचय बनाएका भट्टले विज्ञप्ति प्रकाशित गर्नुपरेको छ भने भूकम्प पीडित राहत परिचालन समिति समेतले आफ्नो छुट्टै विज्ञप्ति जारी गरेको छ ।

एनआरएन जापानले आफ्नो छुट्टै भनाई सार्वजनिक गरेको छ भने सबै क्षेत्रबाट भवन भट्ट माथि लागेको आरोपको खण्डन भइरहेको छ ।

के हो भूकम्पपीडित राहत तथा सहयोग समिति ?



गत बर्ष बैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्प गयो । भूकम्पबाट १० हजार बढी व्यक्तिको निधन ५ लाख बढी घरहरु ध्वस्त तथा दशौं हजार नेपाली घाईते भयो ।

भूकम्पबाट नेपालमा परेको असरपछि सहयोगको लागि भन्दै विभिन्न देशमा जस्तै जापानमा पनि राहत संकलनको थालनी भयो । विशेषगरि नगद संकलन र अत्यावश्यक सामान समेत ।
संकलन गरिएका सामग्री विभिन्न संघसंस्था मार्फत नेपाल पठाइए भने अधिकाशं एनआरएन जापान मार्फत ।

संकलन गरिएको रकममा पनि विभिन्न संघसंस्थाले आफुखुसी नेपाल लगेर बाँडे भने कतिपयको हकमा रकम दुरुपयोग गरेको वा अपचलन गरेको आरोप अझै जापानवासी नेपालीमाझ चलिरहेकै छ ।

गैर आवासिय नेपाली संघ जापानले भने एकतृत रुपमा उठेका रकम संकलनको थालनी गर्यो भने आफ्नै पहलमा समेत राहत रकम उठायो । यसरी संकलीत रकम करिव साँडे ५ करोड जापानी येन संकलन हुन पुग्यो ।

संकलीत रकम मध्ये तत्काल एनआरएन केन्द्रको अनुरोधपछि एनआरएन जापानले तीन करोड रुपैयाँ बुझायो जुन रकम एनआरएनले प्रधानमन्त्री राहतकोषमा बुझायो भने केही एनआरएनले बारपाकमा बनाउने भनिएको एकिकृत बस्तीमा खर्च गरिंदैछ ।

बाँकी रकम कसरी परिचालन गर्ने भन्नेमा निर्णय हुन नसक्दा सर्वसम्मत रुपमा परिचालनको लागि सबैले प्रस्ताव गरेपछि सर्वसम्मत रुपमा भवन भट्टको संयोजकत्वमा भूकम्पपीडित राहत तथा सहयोग समिति गठन भयो र यसै समितिले चलाउनेगरि रकम जापान बैंकको खातामा राखियो । जुन रकम हाल  २ करोड ३० लाख १ हजार ७०३ येन रहेको स्वयं भवन भट्टले आफ्नो विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

डेढ बर्षसम्म किन भएन रकम परिचालन



एनआरएन जापान सहित भूकम्पपीडित राहत तथा सहयोग समितिमा आधा दर्जन पटक संकलीत रकम परिचालनबारे छलफल भएको छ । तर छलफल केही अघि बढेपनि कुनै निर्णय नहुँदा विषय जहिँको तहिँ छ ।

बैठकहरुमा गोरखाको लाप्राक वा कुनै स्थानमा आवास, विद्यालय वा सामुदायिक भवन लगायत निर्माणमा छलफल केन्द्रित भएपनि यसबारे ठोस निर्णय केही हुन सकेको छैन ।

एनआरएन जापान अन्र्तगत भूकम्पपीडित राहत तथा सहयोग समिति जापानको खातामा रहेको रकम आफुलाई बुझाउन भन्दै एनआरएन केन्द्रले पटक पटक एनआरएन जापानलाई अनुरोध गर्दै आएको छ । तर केन्द्रलाई पनि नबुझाएको एनआरएन जापान के गर्ने भन्नेमा आन्तरिक छलफलमा बढी समय खर्चंदा र नेपाल भित्रकै कारणले रकम परिचालनमा रोकिंदै आएको छ ।

यस्ता छन् भूकम्पपीडित राहत तथा सहयोग समितिका योजना


लाप्राक गाविस गोरखाको विकट मध्येको एक गाविस हो । भूकम्पबाट अति प्रभावित यो गाविसका अधिकाशं घर, विद्यालय देखी सार्वजनिक स्थान भूकम्पका कारण गत बर्ष भत्किएका छन् । त्यसैले एनआरएन जापानले लाप्राकमा दलित, जनजाती वा अति निम्न वर्गलाई समेटेर धुर्मुस सुन्तली फाउण्डेशनको जस्तै वस्ती बनाउने योजना बनाएको छ ।

गत असार ७ गते बसेको एनआरएन जापान भूकम्पपीडित राहत तथा सहयोग समितिको बैठकमा म (यो समाचार लेख्ने व्यक्ति) समेत उपस्थित भएको हैसियतमा बैठकमा रकम परिचालनबारे प्रश्न उठेपनि सामुहिक आवास निर्माण, विद्यालय वा सामुदायिक भवन निर्माण गर्ने विषयमा बैठक एकमत भएको थियो ।
जापान भिलेज नाम दिएर वस्ती बनाउनेमा सबै एकमत भएको बैठकले उपयुक्त आवासको डिजाईन वा अन्य उपयुक्त विकल्प सुझाव दिन समेत सबैमा आग्रह गरेको थियो ।

उक्त बैठक बारे जान्ने यो समाचार पढ्नुहोस् ।



एनआरएन जापान सुविधा सम्पन्न विद्यालय वा जापान भिलेज बनाउँदै


उक्त बैठक अघि र पछि पनि एनआरएन केन्द्रले एनआरएन जापानको खातामा रहेको रकम गोरखाको वारपाकमा बनाउने भनिएको वस्तीको लागि पठाउन ताकेता गर्दै आएको छ ।

एनआरएन जापानका सदस्य तथा तत्कालिन भूकम्प पीडित राहत कोष सम्हाल्नुभएका दिपक थापाले टपनेपालन्युजडटकमसँगको कुराकानीमा भन्नुभयो-'यसमा हामीले एनआरएन जापानको पहिचान कसरी हुन्छ, त्यो सहयोगमा ? भनेर सोध्यौं केही नपाएपछि सहयोग नपठाउने निर्णय भयो ।' थापाको भनाई छ-'यो रकम जापानी मात्र नभएर जापानका हरेक नेपालीको पसिना पनि भएकाले हामी सबैको पहिचान सहित उचित स्थानमा खर्च होओस् भन्नेमा छलफल गरिरहेका छौं यो घटनाले हामीलाई छिटो निर्णय गर्न झकझक्याएको छ तर गलत नियत साथ आएका कुनैपनि समाचारले केही असर पार्दैन ।'

तीन करोड भनिएको करिव साँडे दुई करोड एक बर्ष किन अलमलियो ?


भूकम्प लगत्तै चन्दा सहयोग उठाउन थालेपनि संकलीत रकम एकिकृत गर्न समय लाग्दा करिव एक महिना पछिमात्र एनआरएन जापानले उठाएको रकम मध्येबाट तीन करोड रुपैयाँ एनआरएन केन्द्रको खातामा पठाइएको थियो ।

रकम संकलनको काम भइरहेको र अन्य संघसंस्थाले समेत एनआरएन जापानलाई नै उठाएको रकम बुझाएर अन्तिम हुँदा झण्डै तीन महिना बितेको थियो । यस बिचमा एनआरएन जापानले खाद्यान्न, लत्ताकपडा, त्रिपाल लगायत सहयोग नेपालका विभिन्न स्थानमा भूकम्प पीडितलाई सहयोग गरेको थियो ।

भूकम्पपीडितको हातमा सिधै रकम बाँड्ने योजना पनि बनाएको एनआरएन जापान रकम सिधै बाँड्दा दुरुपयोग र पीडित पहिचानमा समस्या देखिने भएपछि यो योजनाबाट तत्काल पछि हटेको थियो ।

त्यसपछि बाँकी रकम परिचानबारे एनआरएन जापानमा छलफल भएपनि नेपाल सरकारले तत्काल जिल्ला प्रशासनको अनुमतिमा मात्र राहत बाँड्न भनेपछि थप केही महिना अनिर्णित बन्न पुग्यो । झन् त्यसपछि सरकारले कुनैपनि स्थानमा पुर्ननिर्माण आयोगको अनुमतिमा मात्र भौतिक पुर्वाधार बनाएर सहयोग गर्नपाउने नियम बनाएपछि एनआरएन जापान अनिर्णयको बन्दि बन्न पुग्यो ।

एनआरएन जापानका सदस्य दिपक थापाले भने-'सहयोग गरौं जे मा भएपनि भनेर छलफल गरेको पनि नेपाल सरकारले अहिले मिल्दैन भनेपछि गर्न चाहेर पनि रोकियौं उतिबेला । अब अहिले निर्णय गर्ने समयमा आइपुग्दा यस्तो भयो ।'

दुई साता अघि एनआरएन जापानले तीन महिना अघि भूकम्पपीडित राहत तथा सहयोग समितिको बैठक अनुसार कोषमा रहेको रकम जापानमा व्याज अत्यन्त न्यून आउने भन्दै नेपालमै खाता खोल्ने पहल थालेको थियो ।

नेपालमा खाता खोल्न पनि भूकम्प पीडितको नाममा नमिल्ने भएपछि सबैले विश्वास गरेका एनआरएन उपाध्यक्ष भवन भट्टकै खातामा सबै रकम राख्ने र बैंकको नियमानुसार प्राप्त व्याज भट्टले एनआरएन जापानलाई दिने कुरा करिव निर्णय नजिक पुगेको थियो ।

'खातामा रकम पठाउने प्रक्रिया अघि बढेको पनि थियो' भट्टले टपनेपालन्युजडटकमसँग भन्नुभयो-'उतिबेला पनि केही साथिहरुले सोच्नुहोला है आफ्नै खातामा पैसा राख्दा समस्या आउला भन्नुभएको थियो । असल नियतले काम गर्न खोज्दा समेत यहाँ बिरोध गर्नेहरु भेटिंदा रहेछन् ।'

भवन भट्टमाथि यस कारण जसबाट आरोप लगाइयो

भवन भट्ट एनआरएन आइसिसिका उपाध्यक्ष हुन् । यसअघि समेत उपाध्यक्ष रहेका भट्ट अब अध्यक्षका प्रत्याशि बनिरहेका छन् ।

एनआरएन जापानको सदस्यबाट यात्रा सुरु गरेका भट्ट यसअघिनै अध्यक्षका प्रत्यासी बन्न खोजेपनि भट्टकै शब्दमा भन्ने हो भने-'सहमतीमा अघि बढौं भन्ने भएर शेष घलेको लागि उहाँले आफ्नो उम्मेदवारी त्याग' गर्नुभएको थियो ।

नेपालमा बिनाशकारी भूकम्पबाट ठूलो धनजनको क्षति भएको भन्ने खवर लगत्तै व्यक्तिगत रुपमा एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेर सहयोग समेत गरेका भट्टले भूकम्प प्रभावित दर्जनौं बस्तिमा पुगेर राहत सामग्री वितरण सँगै जापानमा राहत संकलन गर्न सडकमै खटिनुभएको थियो ।

जापानमा सफल युवा व्यवसायिका रुपमा परिचित भट्ट आर्थिक रुपमा हेर्नेहो भने अर्बपछि छन् । विभिन्न देश सहित नेपालमा समेत भट्टको उद्योग, व्यवसाय सहित जलविद्युत क्षेत्रमा करोडौंको लगानि रहेको छ ।

'भट्ट एनआरएन आईसिसीका उपाध्यक्ष मात्र हैनन्, नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्षको रुपमा नेपाल सरकारबाटै मनोनित भएर काम गरिरहनुभएको छ । यस्तो प्रोफाइल र हैसियत बनाउनुभएका भट्टले तीन करोड रुपैयाँ आफ्नो खातामा राखेपनि त्यसको सदुपयोग हुनेमा ढुक्क हुँदै रकम खर्च कहाँ भयो हेर्नुपर्नेमा हुँदै नभएको खवर ब्रिटेनबाट सञ्चालिन एक अनलाईनमा आउनु भित्रि रहस्य रहेको' एनआरएन आइसिसीका एक सदस्यले टपनेपालन्युजडटकमलाई बताएका छन् ।

नाम उल्लेख नगर्न भन्दै उनले भने-'एनआरएनको अर्का उपाध्यक्ष रहेका कुमार पन्त यसको कारण हुन् ।' उनले थप खुलाउँदै भने-'पन्त एनआरएनको भावि अध्यक्षका रुपमा आफुलाई प्रचार गर्दै हिँडिरहेका छन् । उनलाई सबैभन्दा डर भवन भट्टसँग छ भोली भट्ट अध्यक्षमा उठेभने म सिधै हार्छु भन्ने त्यसैले उनले सुनियोजित रुपमा यो खवर बाहिर ल्याएका हुन् ।'

एनआरएनए रिजनल कन्फ्रेन्समा गत हप्ता अमेरिकामा जापानको राहत कोषबारे पनि छलफल भएको थियो श्रोतले भन्यो-'त्यहाँ कोषको रकम केन्द्रलाई बुझाउन भनेपनि एनआरएन जापानले प्रतिवाद गरेको थियो । रकम कहाँ के भइरहेको छ ? भन्ने जिज्ञासा भएपनि अब उपाध्यक्ष भट्ट ज्यूको खातामा राखेर भनेपनि नेपालमा केही बढी व्याज आउने भएकाले निर्णय नभइसक्दा सम्म नेपालमा राख्ने योजना रहेको जापानबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले बताएका थिए । तर त्यही कुरालाई खातामै राखिसक्यो भनेर बाहिर प्रचार गरियो । यो सरासर पन्तको सुनियोजित भ्रामक प्रचार हो ।'

को हुन् कुमार पन्त ?

सन् २००५ मा एनआरएनमा आवद्ध पन्तको पुरा नाम कुमार प्रसाद पन्त हो । जर्मनीमा रहने पन्त यसअघि एनआरएनमा महासचिव हुँदै हाल उपाध्यक्ष रहेका छन् ।

एनआरएनको बरियतामा शेष घलेपछि भवन भट्ट र तेस्रोमा रहेका पन्त आगामी बर्ष हुने एनआरएन विश्व सम्मेलनमा अध्यक्षमा उठ्ने तयारी गरिरहेका छन् । अध्ययनको क्रममा जर्मन पुगेर होटल व्यवसाय गर्दै सम्पन्न बनेका पन्त त्यसयता जर्मनमै रहने गर्दछन् ।

एनआरएन अध्यक्ष रहेका शेष घले बिरुद्ध समेत प्रवक्ता लगायत सदस्यहरु मनोनयन गरेको विषयमा विधान अस्पष्ट रहेको भन्दै १६ जनाको हस्ताक्षर संकलन गरेर अविश्वास प्रस्ताव पेश गरेका पन्त एनआरएनमा परोपकारी कोषको अध्यक्ष समेत छन् ।

युरोप सहित विभिन्न देशका प्रतिनिधिहरुले प्रकाशित समाचार नियोजित आएको भनेर एनआरएन केन्द्रमै जानकारी गराइसकेको श्रोतले बतायो । 'एनआरएन आइसिसी ग्रुप मेलमा समेत कपोलकल्पित समाचारबारे गम्भिर बहस भएको छ' श्रोतले भन्यो-'एनआरएनको भावी अध्यक्षमा आफैंले आफैंलाई घोषणा गर्न खोजेर पन्तले सबैले अध्यक्ष उठ्नुस भनिरहेका भवन भट्टलाई बदनाम गराउन खोज्दा आफैं पछारिएका छन् । कुरा यत्ति हो ।'

लिन हैन म दिन एनआरएनमा आवद्ध भएको हुँ, रकम कहीं दुरुपयोग भएको छैन :भवन भट्ट (विज्ञप्ति सहित)

'भवन भट्टले राम्रै योगदान गर्यो भनेर दुई थोपा आँसु झारेको हेर्न चाहन्छु' (विशेष अन्र्तवार्ता)