अतिथि देवो भव : को मुल नारा सहित नेपाल फेस्टिवलको तयारी पुरा

Posted on: August 02, 2016 | views: 656

१८ साउन, टोकियो, जापान ।
यही अगष्ट ६ र ७ तारिख आगामी शनिवार र आईतवार टोकियो योयोगी पार्कमा हुन लागेको नेपाल फेष्टिवलको तयारी पुरा भएको छ ।

आयोजक समितिका संयोजक तथा एनआरएन जापानका अध्यक्ष सुदन थापाका अनुसार फेष्टिवलको तयारी सकिएको छ भने प्रचार प्रसारलाई अझै तिब्र पारिएको छ ।

संयोजक थापाका अनुसार नेपाल फेस्टिवलमा प्रस्तुत गरिने कार्यक्रमहरुको व्यवस्थापनको कामहरु सकिएको छ । कार्यक्रममा प्रस्तुत गरिने र राखिने नेपालको मौलिक पहिचान झल्काउने कार्यक्रम तथा प्रस्तुतीको व्यवस्थापन गरिसकिएको छ ।

कार्यक्रमको उदघाटन देखी दुई दिने नेपाल फेस्टिवलभर हुने सबै कार्यक्रमको कार्यतालिका वारे आगामी बुधवार पत्रकार सम्मेलन मार्फत पूर्ण जानकारी दिईने भएको छ ।

नवौं पटक हुन लागेको नेपाल फेस्टिवल सफल पार्न जापानमा रहेका नेपालीहरुले सामाजिक सञ्जाल तथा विभिन्न माध्यम मार्फत प्रचार प्रसारमा खटिएर उत्साहजनक रुपमा सहयोग गरिरहेको भन्दै संयोजक थापाले कार्यक्रम अवधिभरसम्म प्रचार प्रसार र कार्यक्रमको प्रवद्र्धनमा सहयोग गरिदिनुहुन सबैसँग आग्रह गर्नुभयो ।

संयोजक थापाका अनुसार कार्यक्रममा विभिन्न विभागको जिम्मा लिएका विभागिय प्रमुखहरुले ३ तारिक बुधवार सिनोओकुवो स्टेशन नजिक रहेको नमस्ते गजल रेष्टुरेन्टमा विस्तृत रुपमा जानकारी दिने भएका छन् ।
साथै संयोजक थापाले कार्यक्रममा सहभागिता जनाई आफ्ना अमुल्य सुझाव, सल्लाह दिनुहुन समेत जापानवासी नेपालीहरुसँग आग्रह गर्नुभएको छ ।

यसैबिच नवौँ नेपाल फेष्टिवलको तयारी पुरा भएको अवसरमा कार्यक्रमको सफलताका लागि आर्थिक सहयोग गर्न चाहने महानुभावहरुलाई आयोजक संस्था एनआरएनए जापानले आर्थिक सहयोग गर्न समेत सार्वजनिक अपिल गरेको छ ।

कार्यक्रम संयोजक रहनुभएका सुदन थापाले विज्ञप्ती जारी गर्दै सम्वद्ध सवै सहयोगीहरुलाई सहयोगको अपेक्षा सहित संलग्न खाता नम्वरमा सहयोग रकम पठाईदिनुहुन अनुरोध गरेको छ ।

आयोजक संस्था एनआरएनए जापानका महासचिव समेत रहनुभएका अनुज थापाका अनुसार सहयोगीहरुलाई नेपाल फेस्टिवल कार्यक्रमस्थलमा सम्मान समेत गरिने छ ।

जापानी नागरिकलाई नेपालबारे जानकारी दिन आयोजित नेपाल फेस्टिवलले नेपालको पर्यटन प्रवद्र्धनमा विशेष सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

यस पटकको नेपाल फेस्टिवलको मुन नारा समेत "अतिथि देवो भव:" राखेर आयोजक संस्थाले नेपालको पर्यटन पबद्र्धनमा विशेष जोड दिएको देखिएको छ ।

नेपाल फेस्टिवल विगतका बर्षहरुमा जापानीमा नेपाललाई चिनाउने र जापानमा रहेका नेपालीहरुमाझ नेपाली कला संस्कृति, पहिचान, खाना लगायतको प्रवद्र्धन स्थल र नेपालीहरुको भेटघाटको महोत्सव बन्दै आएकोमा यस पटक यसले अझै व्यापकता पाउने विश्वास गरिएको छ ।

यस्तो छ बुधवार हुने नेपाल फेस्टिवल कार्यक्रमबारे जानकारी दिन आयोजित कार्यक्रमको तालिका

कार्यक्रम आयोजना :
मिति : २०१६ अगस्ट ३ तारिक (बुधबार )
समय : दिनको ३ बजे 〜 ५ बजेसम्म
स्थान : नमस्ते गजल रेस्टुरेन्ट सिनओकुबो
सम्पर्क : अनुज – ०८०-९६४७-२१२१
: बुद्धि – ०९०-९३९५-१८४३

आर्थीक सहयोगका लागि बैक खाता नम्वर -१००१०-­५२३७०३६१ カイガイザイジュウネパールジンカイ)