गलकोट समाज जापानद्धारा ४० लाखको स्वास्थ्य उपकरण प्रदान

Posted on: May 19, 2016 | views: 260

६ जेठ, बागलुङ । गलकोट समाज जापानले बाग्लुङका १२ वटा स्वास्थ्य संस्थालाई  ४० लाख रुपैयाँ भन्दा बढीको स्वास्थ्य उपकरण र सामग्री प्रदान गरेको छ ।

हरिचौरस्थित गलकोट प्राथमिक स्वास्थ्य केन्द्रसहित अन्य ११ गाविसका स्वास्थ्य चौकीलाई गरी ४० लाख २८ हजारको उपकरण प्रदान गरेको हो । पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. तारानाथ पौडेल र गलकोट समाज जापानका अध्यक्ष हर्क थापाले ती उपकरण तथा सामग्री हस्तान्तरण गरे ।
 
जसमा गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई सबैभन्दा बढी २९ लाख २८ हजार मूल्य बराबरका उपकरण दिइएको छ । बाँकी गलकोटका ११ गाविसमा रहेका स्वास्थ्य चौकीलाई एक लाख मूल्यका स्वास्थ्य उपकरण र सामग्री प्रदान गरिएको समाजका अध्यक्ष थापाले जानकारी दिए ।
उपकरण पाउने स्वास्थ्य चौकीमा हटिया, मल्म, पाण्डवखानी, काँडेबास, रिघा, दुदिलाभाटी, नरेठाँटी, हिल, तारा, अर्गल र अमरभूमि रहेका छन् ।

विभिन्न २३ प्रकारका उपकरण प्रदान गरिएको समाजले जनाएको छ । जसमा (भिडियो एक्स–रे), (एक्स–रे), (इसिजी), (निबुलाइजर), (प्रसूति बेड) लगायतका उपकरण रहेका छन् ।

‘जापानमा रहेका गलकोटेहरुको सहयोगले यो सम्भव भएको हो, आफ्नो आम्दानीको केही अंश कटाएर गाउँठाउँका लागि योगदान गर्न खोजेका हौं ।’ समाजका अध्यक्ष थापाले भने ।
समाजले गत अङ्ग्रेजी नयाँ वर्षमा जापानमा साङ्गीतिक कार्यक्रम राखेर स्वास्थ्य शिविर राख्न र उपकरण सहयोग गर्न आर्थिक सहायता जुटाएको थियो ।

रासस