'जापान फेसन विक'मा नेपाली पश्मिनाको प्रबर्द्धन (फोटो फिचर)

Posted on: May 03, 2016 | views: 606

१७ बैशाख, टोकियो ।
जापानमा सम्पन्न फेसन विक इन्टरनेशनल फेसन फेयरमा नेपाली पश्मिनाका सामानहरुको प्रदर्शनी गरिएको छ ।

प्रदर्शनीमा जापानका लागि कार्यवाहक नेपाली राजदूत गहेन्द्रराज राजभण्डारी, वाणिज्य मन्त्रालयका सचिव ङइन्द्र उपाध्याय, एनआरएन केन्द्रिय उपाध्यक्ष तथा जापानका सफल उद्योगी भवन भट्ट, एनआरएन जापान अध्यक्ष सुदन थापा लगायतको उपस्थिति रहेको रहेको थियो ।

नेपालमा पाइने पश्मिना उच्च हिमाली क्षेत्रमा पालिने च्याङ्ग्राको रौंबाट बन्ने हुँदा यसको गुणस्तर विश्वमै अब्बल रहेपनि प्रचार र प्रवद्र्धन गर्न नसक्दा पछि परेको भन्दै जापानका लागि नेपाली कार्यवाहक राजदूत गहेन्द्रराज राज भण्डारीले जापानमा नेपाली पश्मिनाको व्यापारीकरण तथा बजारीकरण गर्न यो मेलाले सहयोग पुगेको बताउनुभयो ।

उच्च हिमाली क्षेत्रमा पालिने च्याङ्ग्राको रौंबाट बनेको पश्मिनाका कपडा विश्वमै सबैभन्दा उत्कृष्ठ हुने र नेपालमा विश्वमै सबैभन्दा बढी उचाइमा च्याङ्ग्रा पालिने गरेको राजदूत उपाध्यायको भनाई छ ।

जापान फेसन विक इन्टरनेशनल फेसन फेयरलाई जापानमा उच्च गुणस्तरीय सामानहरुको मेलाको रुपमा लिने गरिन्छ ।

फेसन फेयरमा हजारौं जापानी व्यापारी तथा जापानीले नेपाली पश्मिना स्टलको अवलोकन सहित पश्मिनाका सामानहरुको खरिद गरेका थिए ।

अप्रिल २६, २७ र २८ तारिखमा चलेको फेसन फेयरमा जापानमा रहेका नेपाली व्यापारीहरु सहित एनआरएन जापानका उपाध्यक्ष टासी लामा, कार्यवाहक महासचिव बुद्धिराज घिमिरे लगायतको सहभागीता रहेको थियो ।

यसैबिच फेसन फेयरमा नेपाली पश्मिना सामान प्रवद्र्धनको लागि आएको वाणिज्य मन्त्रालयका सचिव ङइन्द्र उपाध्याय, जापानका लागि कार्यवाहक राजदूत गहेन्द्रराज राजभण्डारी सहितको टोलीले सो अवसरमा जापानका विभिन्न आद्योगिक तथा व्यापारिक समुहसँग नेपालको पश्मिना सामग्री निर्यात तथा व्यापार प्रवद्र्धन बारे छलफल गरेको छ ।

छलफलमा नेपालको पश्मिना सामान तथा नेपाली उत्पादनहरुको जापानमा निर्यात लगायतका विषयमा छलफल भएको राजदूत राजभण्डारीले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

स्मरणीय छ यसैबर्ष नेपाल जापान कुटनीतिक सम्वन्धको ६० बर्ष पुगेको छ । यो अवसरमा नेपाल र जापानमा दुईदेश बिच सम्वन्ध विस्तार र आदान प्रदानका लागि बर्षैभरी विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् ।