जापानमा फोहोरको थुप्रोमा भेटियो करोडौं येन

Posted on: May 02, 2016 | views: 800

१७ बैशाख, टोकियो ।
फोहोरबाट मोहोर बन्ने त सबैलाई थाहा भएकै हो । तर जापानमा एक व्यक्तिले भने फोहोरकै थुप्रोमा करोडौं रुपैयाँ फेला पारेका छन् ।

समाचार अनुसार जापानको क्योटोमा एक फ्याक्ट्रीको फोहोर फाल्ने ठाउँमा पोको पारेर राखेको अवस्थामा २ करोड ३० लाख येन भेटिएको छ ।

अप्रिल १३ तारिकको दिन साँझ मिनामी वार्डमा रहेको फोहोर पेल्ने कम्पनीका कामदारहरुले फोहोरको चाङमा उक्त रकम फेला पारेका हुन् ।

जापानी प्रहरीका अनुसार सबै नोट १० हजार येनको रहेको छ । जस मध्ये केही नोट कुहिने अवस्थामा पुगिसकेको छ ।

कुनै कम्पनीबाट उक्त रकम फोहोरको पोको ठानेर फाल्दा त्यहाँ आइपुगेको ठानिएको छ ।
तर यति ठूलो धनराशी हराएपनि कुनै पनि व्यक्तिले उक्त रकम दाबी गर्न नआएपछि जापान प्रहरी भने अचम्ममा परेको छ ।

प्रहरीले सबुत प्रमाण सहित फेला परेको रकमको मालिकलाई मिनामी प्रहरी स्टेशन अथवा फोन नम्बर ०७५६८२०११० मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

फोहोर सफा गर्ने क्रममा भेटिएको उक्त रकम सहित कर्मचारीहरुले प्रहरीलाई खवर गरि बुझाएको प्रहरीले बताएको छ ।